
ई. किरण घिमिरे
कहिलेकाहीँ जीवनमा केही यात्रा यस्ता हुन्छन्, जुन एउटा ठाउँबाट अर्को ठाउँसम्म पुग्ने यात्रा मात्र हुँदैनन्। ती यात्राले नयाँ ठाउँ देखाउँछन्, नयाँ मानिससँग चिनाउँछन्, सम्बन्ध गाँस्छन्, आफूलाई अझ नजिकबाट चिन्ने अवसर दिन्छन् र फर्केर आउँदा साथमा केही अमूल्य सम्झनाहरू पनि ल्याइदिन्छन्। मेरो भारतको बडोदरा यात्रा पनि त्यस्तै एउटा अविस्मरणीय यात्रा बन्यो।
नेपाल सरकारको मनोनयनमा म लगायत ३० जना साथीहरू रेलसम्बन्धी तालिमका लागि भारतको बडोदरा पुग्ने अवसर पाएका थियौँ। सुरुमा हाम्रो उद्देश्य निकै स्पष्ट थियो —तालिम लिनु, नयाँ कुरा सिक्नु, आफ्नो व्यावसायिक ज्ञान विस्तार गर्नु र निर्धारित समयपछि नेपाल फर्किनु।
तर पन्ध्र दिनपछि फर्किँदा हामीसँग तालिमबाट प्राप्त ज्ञान मात्र थिएन। हामीसँग नयाँ चिनजान थियो, नयाँ सम्बन्ध थियो, केही रमाइला उपनाम थिए, हाँसोका अनगिन्ती क्षण थिए, नयाँ ठाउँका अनुभव थिए र सबैभन्दा ठूलो कुरा—जीवनभर सम्झन मिल्ने एउटा सुन्दर यात्रा थियो।

हामी ३० जना एउटै समूहमा भए पनि सबैको पृष्ठभूमि उस्तै थिएन।हाम्रो समूहमा धेरैजसो साथीहरू सडक निर्माणसँग सम्बन्धित इन्जिनियरहरू थिए। कसैको काम सडकमा थियो, कसैको पुलमा, कसैको टनेलमा त कसैको सुरक्षा तथा पूर्वाधार व्यवस्थापनमा। केही साथीहरू रेलसम्बन्धी काममा प्रत्यक्ष जोडिएका थिए भने केही प्रशासनिक जिम्मेवारीमा थिए।त्यसैले हाम्रो समूह आफैँमा एउटा सानो पूर्वाधार संसारजस्तै थियो —सडकदेखि रेलसम्म, पुलदेखि टनेलसम्म, प्राविधिक कामदेखि प्रशासनसम्म।
उमेरमा पनि विविधता थियो। कसैमा अनुभवको गहिराइ थियो भने कसैमा युवावस्थाको जोस। कतिपय साथीहरूलाई पहिलेदेखि नै राम्ररी चिन्थ्यौँ, कतिपयसँग भने पहिलोपटक भेट भएको थियो।स्वाभाविक रूपमा यात्रा सुरु हुँदा मानिसहरू आफ्नै उमेर समूह र पहिले देखिकै बढी चिनजान भएका साथीहरूसँग अलि बढी घुलमिल हुने रहेछन्। हामीमा पनि त्यस्तै भयो।तर पन्ध्र दिन लामो यात्रा छोटो परिचयलाई आत्मीयतामा बदल्न पर्याप्त रहेछ।
पहिलो दिनका अपरिचित अनुहारहरू विस्तारै परिचित हुँदै गए। परिचितहरू अझ नजिकिँदै गए। औपचारिक परिचय सामान्य कुराकानीमा बदलियो। अनि केही दिनमै यस्तो लाग्न थाल्यो—हामी ३० जना छुट्टाछुट्टै व्यक्ति होइनौँ, एउटै यात्राका सहयात्री हौँ।
बडोदरा पुग्दा सबैभन्दा पहिले महसुस भएको कुरा थियो—नयाँ ठाउँको नयाँपन। सडक, भवन, बजार, मानिसहरूको जीवनशैली, यातायात र वातावरण- नेपालमा दैनिक देखिरहेको परिवेशभन्दा फरक। नयाँ ठाउँमा केही दिन बस्नु आफैँमा एउटा सिकाइ थियो।हामी तालिमका लागि गएका थियौँ। त्यसैले हाम्रो अधिकांश समय तालिमस्थलमै बित्थ्यो। तर तालिमस्थलभित्रै पनि बडोदराको स्वाद र संस्कृति भेटिन्थ्यो।
हामीलाई बिहानदेखि बेलुकासम्म खाना तथा खाजा उपलब्ध गराउने क्यान्टिन थियो। त्यहाँ गुजरातीलगायत विभिन्न परिकारहरू उपलब्ध हुन्थे। त्यसैले खानाका लागि बाहिर पसल खोज्दै हिँड्नुपर्ने खासै अवस्था थिएन। नयाँ परिकार चाख्ने इच्छा पनि त्यहीँ पूरा हुन्थ्यो।क्यान्टिनमा काम गर्ने मानिसहरू पनि विभिन्न ठाउँबाट आएका थिए-कोही बंगालका, कोही आन्ध्र प्रदेशका, कोही गुजरातका। भाषा र भूगोल फरक भए पनि उनीहरूको काम एउटै थियो-हामीलाई खाना खुवाउनु।
त्यही क्यान्टिनमा काम गर्ने एक जना थिए। उनको वास्तविक नाम अर्कै थियो। तर हामीलाई सम्झन सजिलो होस् भनेर हामीले उनलाई आफ्नै तरिकाले एउटा नाम दिएका थियौँ—‘बकुल पराठा। नाम किन बकुल पराठा भयो भन्ने कुरा अहिले सम्झँदा पनि हाँसो उठ्छ।तर नाम जे भए पनि उनी पन्ध्र दिनको हाम्रो दैनिकीका परिचित अनुहार बनेका थिए।

तालिम हाम्रो यात्राको मुख्य उद्देश्य थियो।रेलसम्बन्धी नयाँ प्रविधि, प्रणाली, कार्यविधि, सञ्चालन प्रक्रिया, सुरक्षा र व्यावहारिक पक्षबारे सिक्ने अवसर पाइयो। कक्षामा प्रस्तुत गरिएका विषयहरू सुन्ने मात्र होइन, तिनलाई बुझ्ने, प्रश्न गर्ने र आफ्नो कार्यक्षेत्रसँग जोडेर सोच्ने अवसर पनि मिल्यो।हामीमध्ये धेरैजसो सडक निर्माणसँग सम्बन्धित भएकाले रेलसम्बन्धी विषय सिक्दै गर्दा मनमा स्वाभाविक रूपमा अर्को प्रश्न पनि आउँथ्यो- “हामीले सिकेको यो कुरा हाम्रो क्षेत्रमा कसरी लागू हुन सक्छ?”
पुल, टनेल, सडक, सुरक्षा वा अन्य पूर्वाधारसँग सम्बन्धित काममा यस्ता प्रणाली, प्रविधि वा व्यवस्थापनका अभ्यासलाई नेपालमा कसरी प्रयोग गर्न सकिएला भनेर आ-आफ्नो हिसाबले मनमनै तुलना गरिन्थ्यो।रेलसम्बन्धी काम गर्ने साथीहरूका लागि पनि नयाँ कुरा सिक्ने अवसर थियो। प्रशासनिक जिम्मेवारीमा रहेका साथीहरूका लागि व्यवस्थापन र प्रणालीगत पक्ष बुझ्ने अवसर।यसरी तालिममा सिकाइ एउटै थियो, तर त्यसलाई आफ्नो-आफ्नो कार्यक्षेत्रको आँखाबाट हेर्ने दृष्टिकोण फरक थियो।
भारतमा देखाइएका र सिकाइएका अभ्यासहरूलाई नेपालमा भइरहेको कामसँग मनमनै तुलना गर्यौँ। कुन कुरा हाम्रो परिवेशमा उपयोगी होला? कुन कुरा जस्ताको तस्तै लागू गर्न सकिएला? कुन कुरालाई हाम्रो आवश्यकता र अवस्थाअनुसार परिमार्जन गर्नुपर्ला?यी प्रश्नहरूको औपचारिक उत्तर नखोजिए पनि ती पन्ध्र दिनमा हामीले यिनै कुरालाई मनमनै जाँचिरहेका थियौँ।त्यसैले त्यो तालिम प्रमाणपत्रका लागि मात्र थिएन। त्यो आफ्नो कामलाई नयाँ दृष्टिले हेर्ने अवसर पनि थियो।
तालिमका बीचमा आयोजकहरूले हामीलाई बडोदरा वरिपरिका केही महत्वपूर्ण स्थानहरू घुमाउने व्यवस्था पनि गरेका थिए।त्यही क्रममा एक दिन हामी लक्ष्मी विलास प्यालेस पुग्यौँ।विशाल परिसर, भव्य वास्तुकला र राजसी संरचना हेर्दा त्यो ठाउँ कुनै सामान्य दरबारजस्तो लाग्दैनथ्यो।
त्यहाँ पुगेपछि हामीलाई बडोदरा र गायकवाड राजपरिवारको इतिहासबारे जानकारी दिइयो। गायकवाड राजवंशले बडोदरा क्षेत्रमा शासन गरेको इतिहास त्यहीँ पुगेपछि अझ स्पष्ट रूपमा थाहा भयो।
इतिहासका ती कथा सुन्दै जाँदा हामीमध्ये धेरैलाई महसुस भयो—हामी तालिम लिन आएको बडोदरा आधुनिक पूर्वाधार र व्यस्त बजारले मात्र चिनिने सहर रहेनछ; यसको आफ्नै समृद्ध इतिहास, संस्कृति र राजकीय विरासतले पनि उत्तिकै गहिरो पहिचान बनाएको रहेछ।लक्ष्मी विलास प्यालेसको भ्रमणपछि फर्किँदा हामीसँग एउटा नयाँ जानकारी थियो—गायकवाड।त्यसपछि केही दिनमै यही इतिहास हाम्रो समूहको एउटा रमाइलो उपनामसँग जोडिन पुग्यो।
लक्ष्मी विलास प्यालेसबाट फर्किएपछि हाम्रो पाँच जनाको समूहका उपनामहरू झन् स्थापित भए।म लगायत बोध भण्डारी, सुमन बस्नेत, गोबिन्द श्रेष्ठ र उपेन्द्र महारान-हाम्रो टोली भित्र को सानो टोलीमा । सुमन बस्नेत भएपछि ऊ आफै ‘काजी‘ भइहाल्यो। समयसँगै त्यो नाम पनि छोटिँदै-छोटिँदै ‘काजी पाजी” भयो ।बोध भण्डारीको लामो टुप्पी। त्यसैले उनको नाम-‘टुप्पी‘ ।उपेन्द्र महारानको ज्यान नै ठूलो। उभिँदा हेर्दै खम्बाजस्तो देखिने। त्यसैले उनी भए—‘खम्बे‘ ।म कहिलेकाहीँ केही लेख्ने गर्थेँ। त्यसैले मेरो नाम—‘राइटर‘ ।अब बाँकी रहे गोबिन्द श्रेष्ठ।
उनको उपनाम भने लक्ष्मी विलास प्यालेसको इतिहास सुनेपछि केही दिनमै जन्मियो।एक दिन हामी फेरि सपिङका लागि एउटा पसलमा पुगेका थियौँ। गोबिन्दले आफ्ना लागि केही कपडा हेर्न थाले। सेल्सम्यानले एउटा कपडाको मूल्य भन्यो- “८,००० रुपैयाँ।”
तर यो भाषाको समस्या हो कि गोबिन्दको कानको समस्या हो, हामीले ठम्याउन सकेनौँ। उसले सुनेको ८०० हो, जबकि सेल्सम्यानले भनेको ८,००० रुपैयाँ थियो। गोबिन्दले ८,००० लाई ८०० रुपैयाँ नै बुझेछन्।त्यसपछि त उनी मज्जाले लुगा हेर्न थाले। आफूलाई मन परेको लुगा आफैँले लगाएर पनि हेरे। छोराहरूका लागि पनि किनिदिने योजना बनाए। तीन जोर लुगा किन्ने कुरा भयो। तीन जोरको मात्रै करिब २४,००० रुपैयाँ पर्ने रहेछ। त्यसमा अरू सामान पनि थपिँदै जाँदा कुल रकम झन्डै ३०,००० रुपैयाँ पुग्ने अवस्था थियो।तर गोबिन्दलाई त्यसको अत्तोपत्तो थिएन। उनी त जम्मा ३,००० रुपैयाँजतिको हिसाबमा ढुक्क भएर सामान छानिरहेका थिए। त्यसैले त्यतिबेला उनको किनमेल गर्ने ठाँट हेर्नलायक थियो।त्यत्तिकैमा संयोगले सुमन त्यहाँ पुगे।
उनले मूल्य सोधे।सेल्सम्यानले भन्यो- “८,०००।”सुमनले गोबिन्दलाई वास्तविक मूल्य सुनाएपछि बल्ल उनी झसङ्ग भए। केही बेरअघिसम्म ८०० रुपैयाँमै पाइने सामानजस्तो ठानेर निर्धक्कसँग छानिरहेका गोबिन्दको अनुहार एकाएक फेरियो—आँखामा परेको अचम्म, केही बेरअघिको आफ्नै ठाँट सम्झेर आएको अप्ठ्यारोपन र अब के गर्ने भन्ने अलमल सबै एकैपटक देखिन्थ्यो।तीन जोरको २४,००० र अरू सामान जोड्दा झन्डै ३०,००० रुपैयाँ पुग्ने कुरा थाहा पाएपछि उनको केही बेरअघिको उत्साह कहाँ पुग्यो, कहाँ! हामीचाहिँ उनको अनुहारको त्यो परिवर्तन हेरेर हाँसो रोक्नै सकिरहेका थिएनौँ।
तर त्यही घटनाले गोबिन्दका लागि हाम्रो समूहमा एउटा नयाँ नाम जन्माइसकेको थियो। गोबिन्दले वास्तविक मूल्य नबुझेरै देखाएको त्यो ठूलो किनमेलको ठाँट, तीन जोर लुगा र अरू सामान जोडेर झन्डै ३०,००० रुपैयाँ खर्च गर्न तम्सिएको प्रसंगले हामीलाई लक्ष्मी विलास प्यालेसमा सुनेको गायकवाडको इतिहास सम्झाइदियो। अझ रमाइलो कुरा त के भने, उनले ३०,००० रुपैयाँको सामान किन्न लागेको होइन, आफूले बुझेको हिसाबमा जम्मा ३,००० रुपैयाँजतिको खर्च हो भन्ने ठानेर त्यस्तो ठाँट देखाइरहेका थिए।
नबुझेरै भए पनि राजामहाराजाको जस्तो खर्च गर्ने त्यो ठाँट देखिएपछि हामीले उनलाई ठट्टामै ‘गाईक्वाड’ भन्न थाल्यौँ।अनि त्यहीँबाट गोबिन्द श्रेष्ठ भए—‘गाईक्वाड।‘त्यसपछि हाम्रो समूहमा पाँच नामले स्थायी ठाउँ पाए—काजी पाजी, टुप्पी, खम्बे, गाईक्वाड र राइटर।अब हामीलाई आफ्नै नामले बोलाउनुभन्दा यी नामले बोलाउँदा अझ छिटो प्रतिक्रिया आउन थाल्यो।
बडोदरामा बाहिर निस्किँदा हामीले अर्को एउटा रमाइलो अभ्यास पनि बनाएका थियौँ। अटो वा ट्याक्सी चढ्दा कहिलेकाहीँ हामी आफूलाई ‘भिजिटिङ प्रोफेसर’ भनेर चिनाउँथ्यौँ।
हाम्रो सोच के थियो भने—‘भिजिटिङ प्रोफेसर’भनेपछि स्थानीय मानिसले हामीलाई अलिकति राम्रो नजरले हेर्लान्!त्यसैले जहाँ मौका मिल्यो, हाम्रो परिचय अलिकति उचालिन्थ्यो। तर एक दिन एक जना अटो ड्राइभरले हाम्रो त्यो भ्रमलाई एकै वाक्यमा भुइँमा झारिदिए।उनको आशय थियो—तपाईं भिजिटिङ प्रोफेसर हुनुहोस् कि जे हुनुहोस्, आफ्नो-आफ्नो काम गर्ने हो। हामीले फेरि अलिकति थपेर भन्यौँ—“तपाईंका छोराछोरी पढ्छन् नि, तिनलाई पढाउन आएका मानिसहरू हौँ।” त्यसपछि उनी अलि गम्भीर भए।हामी भने भित्रभित्रै हाँसिरहेका थियौँ।
तर त्यो सामान्य अटो यात्रा एउटा सानो दर्शन बनेर मनमा बस्यो—मान्छेको ठूलो परिचय उसको पद होइन, उसको काम हो। एक दिन हामी अहमदाबाद घुम्न निस्कियौँ।त्यो यात्रामा हामीमध्ये चार जना सडक निर्माणसँग सम्बन्धित थियौँ भने दुई जना रेलसम्बन्धी कामसँग जोडिएका साथी थिए।बडोदरादेखि अहमदाबादतर्फको यात्रा गर्दै गर्दा हाम्रो ध्यान स्वाभाविक रूपमा सडकतर्फ गयो।फराकिलो एक्सप्रेस वे, सडकको सतह, लेनको व्यवस्था, डिभाइडर, संकेतचिह्न, सडक सुरक्षा र यात्राको सहजता—सडक निर्माणसँग सम्बन्धित हामी चार जनाका लागि यी सबै कुरा केवल घुमघामका दृश्य थिएनन्।
हामी सडकलाई पेशागत आँखाले पनि हेरिरहेका थियौँ।कुन संरचना कसरी बनाइएको होला? सडकको सञ्चालन र सुरक्षा कसरी व्यवस्थापन गरिएको होला? नेपालमा हामीले काम गर्ने सडकसँग यसको के समानता र के फरक छ? मनमनै यस्तै प्रश्नहरू चलिरहेका थिए।
रेलसम्बन्धी साथीहरूका लागि भने त्यही यात्रा अर्को दृष्टिकोणबाट अवलोकनको अवसर थियो।अहमदाबाद पुगेर घुम्यौँ, नयाँ ठाउँ देख्यौँ, फोटो खिच्यौँ र फेरि बडोदरातर्फ फर्कियौँ।“घुम्न गएको यात्रामा पनि पेशा मानिससँगै हिँड्दो रहेछ।“ यो अनुभुती हामीले त्यहा गर्यौ ।
हाम्रो तालिममा शनिबार र आइतबार बिदा हुन्थ्यो।तालिमको बीचतिर, बिहीबार बेलुकीतिर हामीलाई तालिम भत्ताका रूपमा केही रकम उपलब्ध गराइएको थियो।रकम धेरै होस् वा थोरै “यात्रामा केही खर्च गर्न पाउनु आफ्नै ठाउँमा खुसीको कुरा थियो।“तर त्यसमा हामीले एउटा अर्को रोचक कुरा पनि महसुस गर्यौँ।हामीले पाएको त्यो रकम त्यहीँ बडोदरामै खर्च गर्यौँ— कहिले केही किन्दा, कहिले घुम्दा, कहिले आफ्ना साना आवश्यकतामा।
मनमा एउटा कुरा आयो—यदि यही रकम तालिमको अन्तिम दिनमा दिइएको भए के हुन्थ्यो?सम्भवतः हामी त्यो पैसा लिएर नेपाल फर्किन्थ्यौँ।अर्थात्, भारतको रकम नेपाल जान्थ्यो।तर बीचमै दिइएकाले हामीले त्यो रकम त्यहीँ खर्च गर्यौँ। रकम जतिसुकै सानो किन नहोस्, यसमा स्थानीय अर्थतन्त्र चलायमान बनाउने एउटा सरल सोच देखिन्थ्यो।हामीले होटलमा, पसलमा, यातायातमा वा अन्य सेवामा खर्च गर्दा त्यो पैसा फेरि त्यहीँका मानिसको हातमा पुग्थ्यो।
यसले एउटा सामान्य तर महत्वपूर्ण कुरा सम्झायो—बाहिरबाट आएको पैसा र त्यहि भएको पैसा स्थानीय अर्थतन्त्रमा कसरी घुमाउन सकिन्छ भन्ने सोच पनि अर्थतन्त्रको एउटा हिस्सा रहेछ। हामी नेपालीले पनि यस्ता साना अभ्यासबाट सिक्नुपर्ने कुरा छन्। आफ्नो देशबाट बाहिर जाने पैसा सकेसम्म देशभित्रै घुमाउन सकिने वातावरण कसरी बनाउने? सरकारी कार्यक्रम, तालिम वा भ्रमणबाट हुने खर्चले स्थानीय अर्थतन्त्रलाई कसरी बलियो बनाउन सक्छ? यो पनि हाम्रो सिकेको महत्वपूर्ण पाठ रह्यो ।यस्ता कुरा ठूलो नीति पढेर मात्र होइन, कहिलेकाहीँ यात्रामा देखिएका साना घटनाबाट पनि बुझिँदो रहेछ।
अहमदाबादपछि अर्को अवसरमा हामी नर्मदा जिल्लातर्फ पनि पुग्यौँ। त्यहाँ सरदार वल्लभभाइ पटेलको विशाल प्रतिमा रहेको स्ट्याच्यु अफ युनिटी क्षेत्र जाने अवसर मिल्यो।रेल स्टेसनबाट बाहिर निस्किएपछि गन्तव्यतर्फ जानका लागि निःशुल्क बस सेवा उपलब्ध थियो। पर्यटकका लागि यस्तो व्यवस्थाले यात्रालाई सहज बनाउने रहेछ।
विशाल प्रतिमाको अगाडि उभिँदा त्यसको उचाइ हेरेर मात्र फर्किन मन लागेन। त्यससँग जोडिएको पर्यटन, पूर्वाधार र स्थानीय अर्थतन्त्रलाई पनि हेर्न मन लाग्यो।हामी नेपालीका लागि अर्को कुरा पनि सोच्नलायक थियो।
सबै नेपाली विदेश घुम्न जान सक्दैनन्। तर विदेश जाने नेपालीले त्यहाँ गर्ने खर्च होटल, यातायात, पसल, रेस्टुरेन्ट तथा विभिन्न सेवामार्फत त्यहीँका स्थानीय मानिससम्म पुग्छ र त्यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुन्छ। यही कुरा सोच्दा लाग्यो—हामीले विदेश घुम्न जाने नेपालीलाई रोक्ने होइन, स्वदेशमै घुम्न प्रेरित गर्ने र देशभित्रै घुमफिर गर्न सक्ने राम्रो वातावरण सिर्जना गर्नेतर्फ पनि ध्यान दिनुपर्छ। देशभित्रको यात्रा मनोरञ्जन वा घुमफिर मात्र होइन, आन्तरिक पर्यटनमार्फत देशभित्रै पैसा परिचालन गर्ने र स्थानीय व्यवसाय तथा रोजगारीलाई चलायमान बनाउने महत्वपूर्ण माध्यम पनि रहेछ। एउटा भारतीय नागरिक आफ्नो देशकै अर्को राज्य घुम्न जाँदा उसले होटलमा खर्च गर्छ, गाडी चढ्छ, खाना खान्छ, टिकट किन्छ, स्थानीय सामान किन्छ। त्यो खर्च अन्ततः त्यही देशका विभिन्न मानिसको आम्दानी बन्छ।
त्यसैले पर्यटन घुम्ने मानिसको मनोरञ्जन होइन रहेछ। यो स्थानीय रोजगारी र अर्थतन्त्र चलाउने एउटा माध्यम पनि रहेछ।नेपालमा पनि आन्तरिक पर्यटनलाई अझ व्यवस्थित रूपमा बढाउन सके आफ्नै देशभित्रको पैसा आफ्नै अर्थतन्त्रमा घुमाउन सकिने रहेछ भन्ने सोच त्यहाँ उभिएर मनमा आयो।
हाम्रो तालिम लगभग अन्तिम चरणमा पुगिसकेको थियो।लगभग १४ दिनतिर समापन कार्यक्रम हुने तयारी थियो। तालिम सकिँदै थियो। सबैसँग औपचारिक रूपमा बिदाइ हुने, प्रमाणपत्र लिने र सामूहिक फोटो खिच्ने कल्पना थियो।तर कार्यक्रम हुनुभन्दा करिब दुई दिनअघि गुजरात सरकारले सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रेड अलर्ट जारी गर्यो।
सुरक्षालाई प्राथमिकता दिँदै हाम्रो समापन कार्यक्रम नै रद्द भयो।हामीले सोचेका थियौँ- समापन पनि ठूलै कार्यक्रम होला।तर यात्रा कहिल्यै हामीले सोचेजस्तो कहाँ हुन्छ र!औपचारिक कार्यक्रम भएन।प्रमाणपत्र वितरण पनि भएन।बरु हामी बसेको ठाउँको रिसेप्सनमा प्रमाणपत्रहरू ल्याएर राखिदिए।अब हामी आफैँ प्रमाणपत्र लिन थाल्यौँ।कसैको नाम खोज्दै, कसैको प्रमाणपत्र मिलाउँदै, कसैले आफ्नो लिँदै, कसैले अर्को साथीको खोजिदिँदै।औपचारिक समारोह नभए पनि त्यो दृश्य आफैँमा रमाइलो थियो।
सायद हाम्रो पन्ध्र दिने यात्राको अन्त्य पनि हामीजस्तै भयो “थोरै अव्यवस्थित, तर निकै आत्मीय”। समापन कार्यक्रम रद्द भयो।औपचारिक प्रमाणपत्र वितरण भएन।तर हाम्रो मनमा एउटा कुरा थियो—हामीसँग हरेक दिन भेटिने मानिसहरूलाई पनि सम्झनामा राख्नुपर्छ।त्यसैले हामीले क्यान्टिनमा सधैँ खाना खुवाउने **‘बकुल पराठा**लाई बोलायौँ।सँगै फोटो खिच्यौँ।सायद उनीसँगको त्यो फोटो हाम्रो तालिमको आधिकारिक फोटो थिएन।तर हाम्रो यात्राको भावनात्मक फोटो भने अवश्य थियो।किनकि यात्रामा ठूलाठूला ठाउँ र महत्वपूर्ण व्यक्तिहरू मात्र सम्झनामा रहँदैनन्।कहिलेकाहीँ हरेक दिन खाना खुवाउने एउटा सामान्य मानिस पनि यात्राको अभिन्न पात्र बनेर बस्छ।
घरबाट टाढा, तर एकअर्काको नजिक
पन्ध्र दिन घरबाट टाढा रहँदा घरको महत्व झन् बढी महसुस भयो।परिवार सम्झियौँ।आफ्नो ठाउँ सम्झियौँ।नेपाल सम्झियौँ।तर त्यही बीचमा बडोदरामा हाम्रो अर्को एउटा सानो संसार पनि बनिसकेको थियो।दिनभरि सिकाइ।बीचमा क्यान्टिन।फुर्सदमा घुमफिर।साँझ कुराकानी।
कसैको घरपरिवारका कुरा, कसैको जागिरका कुरा, कसैको भविष्यका योजना।कहिलेकाहीँ सामान्य कुरामै ठूलो हाँसो।कहिलेकाहीँ थकाइ।कहिलेकाहीँ घरको याद।तर साथीहरू वरिपरि हुँदा एक्लोपन धेरै टिक्दैन रहेछ।
नेपाल फर्किने क्रममा दिल्लीमा ट्रान्जिट थियो।समय छोटो थियो। तर दिल्लीको मेट्रो चढ्ने अवसर कसरी छुटाउनु? म,उपेन्द्र महारान सुजन भाइ र गुरुङ भाइले दिल्ली मेट्रो चढ्यौँ।मेट्रोको तीव्र गति, व्यवस्थित स्टेशन, यात्रुहरूको चहलपहल र केही समयमै लामो दूरी पार गर्ने अनुभव रोचक थियो।

रेलसम्बन्धी तालिम लिन भारत पुगेका हामीहरूका लागि दिल्लीको मेट्रो यात्रा एउटा सानो भए पनि अर्थपूर्ण अनुभव बन्यो।पन्ध्र दिनअघि रेलसम्बन्धी तालिमका लागि भारत छिरेका हामी, फर्किने क्रममा राजधानी दिल्लीको मेट्रोमा यात्रा गरिरहेका थियौँ।सायद यो संयोग मात्र थिएन।हाम्रो यात्राको सुरुवात र अन्त्यबीच रेलले एउटा सानो घेरा पूरा गरिदिएको जस्तो लाग्यो।
त्यसपछि फेरि विमानस्थल।त्यसपछि नेपाल।
फर्केर हेर्दा…
आज त्यो यात्रा सम्झिँदा बडोदरा सहर मात्र याद आउँदैन।लक्ष्मी विलास प्यालेस सम्झिन्छु।गायकवाडको इतिहास सम्झिन्छु।अनि त्यसपछि जन्मिएको हाम्रो साथी गोबिन्दको ‘गाईक्वाड’ नाम सम्झिन्छु।सुमनको काजी पाजी सम्झिन्छु।बोधको टुप्पी सम्झिन्छु।उपेन्द्रको खम्बे सम्झिन्छु।आफ्नो राइटर नाम सम्झिन्छु।
अहमदाबादको एक्सप्रेस वे सम्झिन्छु।नर्मदाको विशाल प्रतिमा सम्झिन्छु।दिल्लीको मेट्रो सम्झिन्छु। तालिमस्थलको क्यान्टिन सम्झिन्छु।“बकुल पराठा” सम्झिन्छु।८०० र ८,००० रुपैयाँको त्यो ऐतिहासिक भ्रम सम्झिन्छु। ‘भिजिटिङ प्रोफेसर” बनेर हिँडेको हाम्रो आत्मविश्वास सम्झिन्छु।रेड अलर्टका कारण रद्द भएको समापन कार्यक्रम सम्झिन्छु।रिसेप्सनबाट आफैँले खोजेर लिएको प्रमाणपत्र सम्झिन्छु। तर यी सबैभन्दा माथि सम्झना आउँछ— ती ३० जना सहयात्रीहरूको।
अन्त्यमा…
जीवनमा सबै यात्राको गन्तव्य महत्वपूर्ण हुँदैन।केही यात्राको वास्तविक सुन्दरता बाटोमा भेटिएका मानिसहरूमा हुन्छ।केही यात्राको सुन्दरता सँगै खिचिएका फोटोमा हुन्छ।केही यात्राको सुन्दरता सामान्य कुरामा छुटेको हाँसोमा हुन्छ।र केही यात्राको सबैभन्दा ठूलो उपलब्धि भनेको—फर्किएपछि पनि ती मानिसहरू मनमा रहिरहनु हो।बडोदराका ती पन्ध्र दिन मेरो जीवनको त्यस्तै एउटा यात्रा बनेको छ।हामी रेलसम्बन्धी तालिम लिन गएका थियौँ।तर त्यहाँ पुगेर इतिहास पनि चिन्यौँ, पूर्वाधार पनि हेर्यौँ, नयाँ ठाउँ पनि बुझ्यौँ, नयाँ सोच पनि लिएर आयौँ।र सबैभन्दा ठूलो कुरा—मानिससँग जोडियौँ।
समय बित्दै जाला।बडोदरा पनि एउटा पुरानो गन्तव्य बन्ला।ती पन्ध्र दिन पनि विगत बन्लान्।लक्ष्मी विलास प्यालेसका ती दृश्यहरू फोटोमा सीमित होलान्।अहमदाबादको एक्सप्रेस वे, नर्मदाको विशाल प्रतिमा र दिल्लीको मेट्रो पनि सम्झनामा मात्र रहला।तिनको भौतिक यात्रा मात्र सकिन्छ।सम्झनाको यात्रा भने चलिरहन्छ।बडोदरा यात्रा पनि त्यस्तै छ। तालिमका लागि सुरु भएको,ज्ञान र अनुभव हुँदै अघि बढेको,हाँसो र आत्मीयताले सजिएको र अन्ततः मित्रताको सुन्दर कथा बनेर टुंगिएकोएउटा अविस्मरणीय अध्याय।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
