• २७ भाद्र २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छोरीको स्मृतिमा विद्यालयमा ‘भावना स्मृति अक्षयकोष’ स्थापना




घोराही। घोराही उपमहानगरपालिका–४ स्थित आधारभूत विद्यालय सवारिकोटमा दिवंगत भावना घर्तीमगरको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले ‘भावना स्मृति अक्षयकोष’ स्थापना गरिएको छ। वडा नं. ४ छेकबार निवासी भुतासन घर्तीमगर र शिवा घर्तीमगरले आफ्नी दिवंगत २१ वर्षीया छोरी भावना घर्तीमगरको सम्झनामा विद्यालयलाई २५ हजार रुपैयाँको अक्षयकोष हस्तान्तरण गर्नुभएको हो।

गत साउन १३ गते २१ वर्षको उमेरमा भावनाको असामयिक निधन भएको थियो। निम्न माध्यमिक तहसम्म सोही विद्यालयमा अध्ययन गरेकी छोरीप्रतिको सम्मान, माया र सम्झनालाई पुस्तौँसम्म जीवित राख्ने उद्देश्यले निधनको ४५औँ दिनको अवसर पारेर परिवारले अक्षयकोष स्थापना गरेको बुवा भुतासन घर्तीमगरले जानकारी दिनुभयो।

“छोरी हामीबीच शारीरिक रूपमा नभए पनि उसले पढेको विद्यालयसँग उसको सम्झना जोडिरहोस् भन्ने हाम्रो चाहना हो,” उहाँले भन्नुभयो, “यो अक्षयकोषबाट विद्यार्थीहरूलाई प्रोत्साहन मिल्ने र भावनाको स्मृति पनि विद्यालयसँगै जीवित रहने विश्वास गरेका छौँ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अक्षयकोषको उद्देश्य र सञ्चालनसम्बन्धी निर्णयसमेत गरिएको छ। निर्णयअनुसार कोषबाट वार्षिक रूपमा प्राप्त हुने ब्याज रकम विद्यालयका उत्कृष्ट नतिजा हासिल गर्ने एक जना छात्र र एक जना छात्रालाई पुरस्कारस्वरूप प्रदान गरिनेछ। यसले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने विद्यालयको विश्वास छ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढामगरले शोकलाई समाजोपयोगी कार्यमा रूपान्तरण गर्ने परिवारको निर्णय अनुकरणीय रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा गरिएको यस्ता योगदानले विद्यालयको शैक्षिक वातावरणलाई सकारात्मक ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै परिवारप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

बिद्यालयका प्रधानाध्यापक भेषमान पुनमगरले दिवंगत भावनाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषलाई भावनात्मक र प्रेरणादायी पहलका रूपमा चित्रण गर्नुभयो । व्यक्तिगत पीडालाई समाज र शिक्षाको हितमा रूपान्तरण गर्ने यस्तो कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो ।

अक्षयकोषको रकम घोराहीस्थित गुडविल फाइनान्समा विद्यालयको नाममा खाता खोली सुरक्षित राख्ने निर्णयसमेत गरिएको छ। यसबाट कोषको मूल रकम अक्षुण्ण रहने र त्यसबाट प्राप्त हुने ब्याजमार्फत हरेक वर्ष पुरस्कार वितरण गर्ने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ।

कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक ताराप्रसाद पोख्रेलले गर्नुभएको थियो। विद्यालय परिवारले दिवंगत भावना घर्तीमगरको स्मृतिमा स्थापित यो अक्षयकोषले भावी पुस्ताका विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक उपलब्धितर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comments