• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसका नवआगन्तुक  विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत




घोराही । दाङको घोराही उपमहानगरपालिका -१४ झिंगौरास्थित अम्बिकेश्वरी क्याम्पसका  नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ । क्याम्पसको शैक्षिक कार्यक्रम बिसिए, बिआइटिएम र बएस्सी सिएसआइटीमा शैक्षिकसत्र २०८३ को प्रथम सेमेस्टरमा भर्ना भएका  विद्यार्थीहरुलाई शनिबार घोराहीमा रहेको तामा रेस्टुरेन्टमा एक कार्यक्रमबीच अभिमुखीकरण तथा स्वागत गरिएको  हो ।

क्याम्पसका कलेज प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षता एवं इन्टरनेशनल मोटिभेटर स्पिकर डा. भोलानाथ योगीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा  प्रमुख अतिथि योगीले विद्यार्थीले शिक्षालाई सम्मानको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी जीवनमा शिक्षा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सफल र सक्षम बन्नका लागि हरेक विद्यार्थीले शिक्षालाई सम्मानको रुपमा लिनुपर्ने बताउनुभयो । नेपालमा नेपाली संस्कार हराउँदै गएको भन्दै उहाँले मातापिता र गुरुलाई ढोक तथा सम्मान नगर्नु शिक्षाको अर्थ नहुने बताउनुभएको थियो । विद्यार्थीको गहना भनेको अनुशासन भएको कुरामा जोड दिँदै पढ्ने हरेक विद्यार्थीले दैनिक मातापितालाई ढोक, श्वासप्रश्वासको योग  र पढेका कुरा स्मरण गर्नुपर्ने उहाँको भनाइ थियो । क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै अम्बिकेश्वरी क्याम्पसले आफ्नो स्थापना कालदेखि गुणस्तरीय शिक्षासँगै  प्राक्टिकल सीपलाई प्राथमिकता दिँदै आइरहेको बताउनुभयो । उहाँले शिक्षण सिकाइलाई थप व्यवस्थित र  प्रभावकारी बनाउनका लागि अब एआईमा आधारित शिक्षणलाई अगाडि बढाइने समेत  जानकारी दिनुभयो । पछिल्लो समय हरेक क्षेत्रमा आइटीको माग बढ्दै गएको उल्लेख गर्दै उहाँले चार वर्षे कोर्षको नयाँ अध्याय सुरुभएको हुँदा विद्यार्थीहरुले आफ्नो लक्ष्य र उद्देश्यअनुरुप नै पढाइ अब्बल बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका  इन्स्पेक्टर यज्ञ बहादुर नेपालीले कानून र साइबर सेक्युरिटीको बारेमा जानकारी दिँदै विद्यार्थी जीवनमा पैसाको अभाव हुने र त्यही पैसाको प्रलोभनमा केही गलत कार्य गरेमा कानून फन्दा फस्न सकिने भएको हुँदा सचेत रहनुपर्ने बताउनुभयो । उहाँले सूचना र प्रविधिको विकाससँगै अनलाइन ठगी बढ्दै गएको उल्लेख गर्दै   एकैछिनको अन्धोपनले गर्दा नै आफ्नो भविष्य विकर्न सक्ने हुँदा  अनलाइन ठगीबाट बच्च सुरक्षित हुनुपर्ने  बताउनुभएको थियो । अध्ययनरतकै क्रममा धेरै विद्यार्थीहरु लागू औषधमा फस्ने गरेको स्मरण गराउँदै उहाँले लागू औषधमा फसेमा आफ्नो भविष्य र सपना अधुरो रहने भएको हुँदा त्यसतर्फ सचेत रहन समेत  आग्रह गर्नुभएको थियो ।

घोराही बनाउन अभियानका संयोजक सविन प्रियासनले यस अम्बिकेश्वरी क्याम्पसले जिल्लामै आइटी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले  यो कलेजले पढाइसँगै सामाजिक कार्यमा अग्रसर रहेको कुरामा जोड दिनुभयो ।  पछिल्लो समय हरेक क्षेत्र सूचना तथा प्रविधिको अपरिहार्य रहेको उल्लेख गर्दै घोराही बनाउनका लागि आइटी पढ्ने विद्यार्थीहरुले समाजको रहेक विषयवस्तुमा अध्ययन र अनुसन्धान गर्नुपर्ने समेत उहाँको भनाइ थियो ।

क्याम्पसका बिएस्सी सिएसआइटीका कोर्डिनेटर राजसिंह जोराले क्याम्पस र आइटी क्षेत्रको महत्त्वको बारेमा जानकारी गराउनुभएको थियो । क्याम्पसमा अध्यापन हुने सबै विषयहरु चार वर्षमा पूरा हुने भन्दै उहाँले सफल बन्नका लागि हरेक विद्यार्थीले अध्ययन अवधिभर लगनशील र मेहनतकासाथ पढ्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष निमबहादुर केसी, क्याम्पसका प्राध्यापक नवराज वसेल,  प्राध्यापक नरेन्द्र बञ्जाडेलगायतले  नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै अम्बिकेश्वरी क्याम्पसमा आजदेखि प्राविधिक शिक्षाको सुरुभएको बताउनुभयो । उहाँहरुले  यहाँको शिक्षा सर्टिफिकेट मात्र नभएर ज्ञान, सीप र अनुसन्धान आधारित शिक्षा हुनेमा जोड दिनुभएको थियो । यस कलेजमा पढ्ने विद्यार्थीहरु चार वर्षपछि पासआउट हुँदा एउटा सक्षम र सवल नागरिक बन्ने समेत उहाँहरुको भनाइ थियो ।  जिल्लामै पहिलोपटक आइटीको  क्याम्पस स्थापना गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस अम्बिकेश्वरी क्याम्पसले विद्यार्थीलाई आइटी पढ्नका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गरेको समेत उहाँहरुले बताउनुभएको थियो । क्याम्पसमा अध्ययनरत छात्र मणिष भुसाल र छात्रा आकांक्षा पाठकले अध्ययनकै क्रममा प्राप्त सफलता र उपलब्धिको अनुभव सुनाउनुभएको थियो ।

क्याम्पसका प्राध्यापक सागर भण्डारीको  स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन क्याम्पसका डाइरेक्टर वसन्त प्रसाद रिजालले गर्नुभएको थियो ।

योग गुरु रबिन्द्र बस्नेतले कार्यक्रम सुरु हुनु अघि नै नवआगन्तुक  विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै अभिमुखीकरण भनेको नै चार वर्षभरि गरिने क्रियाकलापलाई बुझिने बताउनुभयो । उहाँले जीवन सफल बनाउनका लागि पढाइले मात्र नपुग्ने हुँदा त्यससँगै अन्य ज्ञान र सीप पनि अपरिहार्य रहेको बताउनुभएको थियो । चार वर्षको अध्ययनको क्रममा  हरेक विद्यार्थीले पढाइसँगसँगै राम्रो साथी  र आफ्नो मष्तिस्कलाई सफा राख्नुपर्ने समेत उहाँको भनाइ थियो । सुख र दुख पनि एउटा विद्यालयको भएको उल्लेख गर्दै उहाँले हाम्रो जीवनलाई सधै सुखमय बनाउनका लागि मष्तिस्कलाई पनि सकारात्मक वातावरण दिन सक्नुपर्ने बताउनुभयो ।

Facebook Comments