घोराही । घोराही उपमहानगरपालिका–१७ हरिद्वार निवासी स्वर्गीय दिना कालाथोकी र उहाँका छोरा बसन्त कालाथोकीको असामयिक निधनबाट शोकमा रहेको परिवारलाई बयालडाँडा चौतारी क्लब घोराहीले आर्थिक सहयोग गरेको छ।
क्लबले आफ्नो सामाजिक योगदानअन्तर्गत परिवारजनलाई नगद २१ हजार रुपैयाँ सहयोग गरेको हो।
बसन्त कालाथोकी काठमाडौंमा होस्टेलमा बसेका बेला केही उच्छृङ्खल व्यक्तिको कुटपिटबाट मृत्यु भएको र छोराको मृत्युको खबर पाएपछि आमा दिना कालाथोकीले आत्महत्या गरेको परिवारजनले जनाएको छ। छोटो समयमै परिवारले भोग्नुपरेको दोहोरो बज्रपातले परिवारजनलाई गहिरो पीडामा पारेको छ।
क्लबका अध्यक्ष नारायण भुषालले दुःखमा परेका परिवारलाई साथ दिनु सामाजिक दायित्व भएको बताए। उनले क्लबले स्थापना भएदेखि नै विभिन्न दुःख, विपद् तथा समस्यामा परेका व्यक्तिहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उल्लेख गरे।
पीडाको यस्तो कठिन घडीमा क्लबले गरेको सहयोगले आर्थिकभन्दा पनि शोकमा रहेका परिवारलाई समुदाय उनीहरूको साथमा छ भन्ने भावनात्मक भरोसा दिएको अध्यक्ष भुषालले भने।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
