दाङ । देशको एउटा कुनामा नागरिकहरू विपद्को पीडामा छटपटाइरहेका बेला उत्सव र मनोरञ्जनमा रमाउन मनले नमानेको भन्दै गायिका भूमिका गिरीले आफू सहभागी हुने तीज विशेष कार्यक्रम स्थगित गरेकी छन्।
रसुवामा आएको बाढीले ठूलो क्षति पुर्याउँदै देशलाई नै शोकमा डुबाएको दुःखद परिस्थितिप्रति संवेदना व्यक्त गर्दै NRNA UAE द्वारा सेप्टेम्बर १३ मा आयोजना हुन लागेको तीज विशेष कार्यक्रम स्थगित गरिएको गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।
‘देशको एउटा कुनामा आँसु बगिरहेको बेला, अहिले नै कलाकारको स्वरमा उत्सव कसरी गुञ्जिन सक्छ र?’ भन्दै उनले विपद्को यो घडीमा पीडित नागरिकको दुःखलाई आफूहरूले पनि महसुस गर्नुपर्ने बताएकी छन्।
कलाकारका लागि मञ्च, संगीत र दर्शकको माया महत्वपूर्ण भए पनि देश नै पीडामा रहेका बेला उत्सवभन्दा मानवीय संवेदना ठूलो हुने उनको भनाइ छ। बाढी तथा विपद्का कारण आफन्त गुमाएका, घरबार तथा सम्पत्ति गुमाएका र अहिले पनि त्रासमा बाँचिरहेका नागरिकको पीडामा आफूहरूको साथ र ऐक्यबद्धता रहेको उनले उल्लेख गरेकी छन्।
गिरीले कार्यक्रम स्थगित हुनु उत्सवको अन्त्य नभई परिस्थितिप्रतिको सम्मान र संवेदनाको निर्णय भएको बताएकी छन्। “यो समय थामिने हो, जीवन रोक्ने होइन,” भन्दै उनले परिस्थिति सहज हुँदै गएपछि फेरि आफ्नै लयमा फर्किने, गाउने, रमाउने र आफ्नो कर्मलाई निरन्तरता दिने विश्वास व्यक्त गरेकी छन्।
कार्यक्रम स्थगित गरेर मात्र नभई गिरीले विपद्मा परेका नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रूपमा रु. २५ हजार ५ सय ५५ समेत सहयोग गरेकी छन्।
सहयोगपछि उनले लेखेकी छन्, “सानो सहयोग, ठूलो आशा। प्रकृतिको प्रहारले आज रसुवा पीडामा छ, सयौँ आँखामा आँसु छन्। यस्तो दुःखको घडीमा हामी सबै एकजुट बनौँ। आफ्नो ठाउँबाट सकेको सहयोग गरौँ, पीडामा मल्हम लगाऔँ।”
उनको यो निर्णयले कलाकारिता केवल मञ्च र मनोरञ्जनमा सीमित नभई समाज र देश दुःखमा पर्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको पक्षमा उभिनुपर्ने सन्देश दिएको छ।
देश दुःखमा हुँदा कलाकारको गीत पनि केही समय मौन रहन सक्छ, तर त्यो मौनता निराशाको होइन—पीडितप्रतिको सम्मान, संवेदना र मानवीय एकताको प्रतीक बन्न सक्छ भन्ने उदाहरण गिरीको निर्णयले प्रस्तुत गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
