• ६ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रसुवाको बाढीमा ५० भन्दा बढीको मृत्यु, रातभर उद्धार कार्य जारी रहने: प्रधानमन्त्री




रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको प्रधानमन्त्रीले बताएका छन्। बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्र प्रभावित भएका छन्।

प्रधानमन्त्रीले बालेन्द्र शाह (बालेन) बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रभावित नागरिकको उद्धार, उपचार र सुरक्षालाई सरकारको पहिलो प्राथमिकता रहेको बताए।

बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको प्रधानमन्त्रीले जानकारी दिए।

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार भइरहेको प्रधानमन्त्रीले बताए।

घाइतेहरूको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा मेडिकल टोली, चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री परिचालन गरिएको सरकारले जनाएको छ।

प्रधानमन्त्रीका अनुसार आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायत संस्थासँग समन्वय भइरहेको छ।

बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्। प्रभावित परिवारसम्म खाद्यान्न, स्वच्छ खानेपानी, औषधी तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने प्रधानमन्त्रीले बताए।

बेपत्ता नागरिकको खोजी कार्यलाई अझ तीव्र पारिने र घाइते तथा क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले जानकारी दिए। ‘आज रातभर पनि उद्धार कार्य जारी नै रहनेछ,’ प्रधानमन्त्रीले भने।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गरिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने प्रधानमन्त्रीले बताएका छन्।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै प्रधानमन्त्रीले उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरे। साथै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत तथा उद्धार अभियानमा सहयोग गर्न उनले आह्वान गरेका छन्।

Facebook Comments