सिसहनियाँ । नेपाली कम्युनिष्ट पार्टी राप्ती गाउँपालिकाको पहिलो एकता तथा परामर्श बैठक बिहीबार सिसहनियाँमा सम्पन्न भएको छ।
पार्टीका राप्ती गाउँपालिका संयोजक रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षता तथा केन्द्रीय सदस्य मुकुन्द रोकाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले तत्काल पार्टीको नयाँ सदस्यता वितरण तथा सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
त्यस्तै, भदौको दोस्रो सातादेखि गाउँपालिकाका सबै वडामा भेला तथा अधिवेशन सुरु गरी असाेजकाे पहिलो हप्ताभित्र पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य रोकाले पार्टी एकतापछि संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै जनतासँग जोडिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीको विचार, नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयाे।
बैठकमा पार्टीका केन्द्रीय सदस्य अर्जुन अधिकारी,प्रदेश कमिटी सदस्य नविन कवर,राप्ती गाउँपालिका इन्चार्ज तथा अध्यक्ष प्रकाश विष्ट, सह–इन्चार्ज सुशीला परियार,पार्टीका तुला गिरी, राप्ती–२ का वडाध्यक्ष पहलवान चौधरीलगायतले पार्टी एकतापछि संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा वडा अधिवेशनका विषयमा धारणा राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न वडाका कमिटीका पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता भएपछि राप्ती गाउँपालिकामा पहिलोपटक एकता तथा परामर्श बैठक बसेको हो।
कार्यक्रमको सहजीकरण पार्टीका गाउँपालिका सह–संयोजक शिशिर पुनले गर्नु भएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

