घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) घोराही उपमहानगर कमिटीको बैठक घोराही उपमहानगरपालिका–१४ झिंगौरामा सम्पन्न भएको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, सदस्यता नवीकरण, वडा तथा पालिका सम्मेलन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
घोराही उपमहानगरका सेक्रेटरी चुलुवा सीको अध्यक्षता तथा पार्टीका दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले सदस्यता नवीकरण, वडा कमिटी गठन, वडा भेला तथा सम्मेलन र पालिका सम्मेलनको तयारीलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । बैठकले यही भदौ ५ देखि १५ गतेसम्म वडाको भेला तथा सम्मेलन गरिसक्ने र भदौ २० गते पालिका सम्मेलन गर्ने लगायतको महत्त्वपूर्ण निर्णयहरु गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि इञ्चार्ज सविन सीले पार्टीका नीति तथा कार्यक्रम नेताकार्यकर्ताका लागि ‘अक्सिजन’ जस्तै महत्वपूर्ण हुने बताउनुभयो। पार्टीले लिएका नीति, कार्यक्रम र विचारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संगठनभित्रका नेताकार्यकर्ता स्पष्ट र प्रतिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो। पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको चर्चा गर्दै उहाँले वर्तमान सरकार श्रमजीवी जनताको पक्षमा नरहेको टिप्पणी गर्नुभयो। ग्यास र रासायनिक मलको अभावसँगै दैनिक उपभोग्य वस्तुको मूल्य तथा आपूर्तिसम्बन्धी समस्याले आम नागरिक प्रभावित भएको उहाँको भनाइ थियो।
उहाँले कम्युनिस्ट आन्दोलनप्रति जनताको विश्वास थप बलियो बनाउन नयाँ ढंगले अघि बढ्नुपर्ने बताउनुभयो। कम्युनिस्ट आन्दोलनलाई नयाँ आधारमा अघि बढाउन नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रक्रिया अगाडि बढ्ने उल्लेख गर्दै उहाँले त्यसका लागि नयाँ नीति, नयाँ विधि र नयाँ विचार आवश्यक रहेको बताउनुभयो। पार्टीभित्र रहेपछि नीति, विधि र अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा समेत उहाँले नेताकार्यकर्ताको ध्यानाकर्षण गराउनुभयो।
बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टी विधानअनुसार सदस्यता नवीकरण गर्न निर्देशन दिनुभयो। उहाँले संख्या देखाउने उद्देश्यले मात्र सदस्यता नवीकरण नगरी वास्तविक पार्टी सदस्यको पहिचान र सक्रियतालाई आधार बनाउनुपर्ने बताउनुभयो। विगतमा घोराही उपमहानगरमा ५१ वटा कमिटी रहेको स्मरण गराउँदै उहाँले यही भदौ १४ गतेसम्म वडा कमिटी गठन गरिसक्नुपर्ने बताउनुभयो। पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन बलियो संगठन आवश्यक पर्ने भन्दै उहाँले संगठनका संरचनालाई व्यवस्थित र मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
त्यस्तै, घोराही उपमहानगरका पार्टी इञ्चार्ज पाटन सीले बैठकमा प्रस्तुत एजेन्डाबारे जानकारी गराउँदै संगठनात्मक राष्ट्रिय सम्मेलन आगामी असोज १० देखि १५ गतेसम्म आयोजना हुने बताउनुभयो। उहाँले पार्टीको मुख्य हतियार संगठन भएकाले तल्लो कमिटीदेखि माथिल्लो कमिटीसम्मका नेतृत्व संगठन निर्माण र विस्तारमा सक्रिय हुनुपर्ने बताउनुभयो। पालिका सम्मेलन यही भदौ २० गते गर्नुपर्ने भएकाले भदौ ५ देखि १५ गतेसम्म सबै वडाका भेला तथा सम्मेलन सम्पन्न गर्न वडा इञ्चार्ज र सेक्रेटरीहरूलाई निर्देशन दिनुभएको थियो।
बैठकमा पार्टीको संगठनलाई जनस्तरसम्म थप विस्तार गर्दै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

