• ३ भाद्र २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यालयमा संघीय नमुना संसद अभ्यास




बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको आयोजनामा, नवीन विद्यार्थी क्लबको समन्वय तथा नेपाल प्रगतिशील युवा सञ्जालको सहकार्यमा आयोजित संघीय नमुना संसद अभ्यास कार्यक्रम–२०८३ सोमबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. माधवबहादुर थापाले नमुना संसद अभ्यासजस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप हासिल गर्न सहयोग पुग्ने बताउनुभयो। पाठ्यपुस्तकबाट मात्र विद्यार्थीको शिक्षा, ज्ञान र सीप पूर्ण नहुने उल्लेख गर्दै उहाँले विद्यालयले समय, समाज, भूगोल, धर्म–संस्कृति, इतिहास तथा विज्ञान–प्रविधिलगायतका विषयमा विद्यार्थीको ज्ञान विस्तार गर्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरेकोमा प्रशंसा गर्नुभयो।

उहाँले नेपालको संसदीय इतिहास, संसदीय अभ्यास, वर्तमान अवस्था, सत्तापक्ष–प्रतिपक्ष, मन्त्रिपरिषद् तथा संघीय संसदको भूमिका र कार्यप्रणालीका विषयमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो।

कार्यक्रममा नेपाल प्रगतिशील युवा सञ्जालका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक आकाश वलीले नमुना संसद अभ्यास कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो। उद्घाटन सत्रमा नवीन विद्यार्थी क्लबकी अध्यक्ष अञ्जना ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन कक्षा ११ कानून समूहकी छात्रा अनिशा बन्जाडेले गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा नमुना संसद अभ्यास–२०८३ सञ्चालन गरिएको थियो। अभ्यासमा सभामुखको भूमिका आकाश वलीले निर्वाह गर्नुभएको थियो। विद्यार्थी अनिश पोखरेलले प्रधानमन्त्री, ललित बुढामगरले महासचिव, अनिशा बन्जाडेले प्रमुख प्रतिपक्ष दलका नेता र अनिशा भण्डारीले प्रमुख सचेतकको भूमिका निर्वाह गर्नुभएको थियो।

समापन सत्र विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो। सत्रको सञ्चालन अनिशा बन्जाडेले गर्नुभएको थियो।

कार्यक्रममा विधागत रूपमा उत्कृष्ट वक्ताका रूपमा सीमा कुर्मी, उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा गीता रोका, रचनात्मक प्रतिपक्षका रूपमा प्रमोद आचार्य र उत्कृष्ट नेतृत्वकर्ताका रूपमा अनिशा बन्जाडे छनोट भएको नेपाल प्रगतिशील युवा सञ्जालका सहप्रशिक्षक खेमप्रसाद आचार्यले घोषणा गर्नुभएको थियो।

उत्कृष्ट विद्यार्थी तथा कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

Facebook Comments