• २ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीको शान्ति सुरक्षाका लागि प्रहरी महानिरीक्षकसँग अध्यक्ष विष्टको भेट, भ्यान र प्रहरी निरीक्षकको दरबन्दी माग




दाङ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती क्षेत्रको शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग भेट गरी विभिन्न माग राख्नुभएको छ।

सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंमा भएको भेटमा अध्यक्ष विष्टले इलाका प्रहरी कार्यालय सिसहनियाँमा प्रहरी निरीक्षकको दरबन्दी कायम गर्न र प्रहरी भ्यान उपलब्ध गराउन प्रहरी महानिरीक्षक कार्कीसँग माग गर्नुभएको हो।

राप्ती गाउँपालिकाको बढ्दो जनसंख्या, फराकिलो भौगोलिक क्षेत्र र नागरिकको सुरक्षा आवश्यकतालाई मध्यनजर गर्दै पर्याप्त प्रहरी जनशक्ति तथा आवश्यक सवारीसाधनको अभावमा सुरक्षा सेवा प्रवाहमा देखिएका चुनौतीबारे अध्यक्ष विष्टले प्रहरी महानिरीक्षक कार्कीलाई अवगत गराउनुभएको थियो।

इलाका प्रहरी कार्यालय सिसहनियाँबाट राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रको शान्ति सुरक्षा व्यवस्थापन हुँदै आएको भन्दै अध्यक्ष विष्टले प्रहरी कार्यालयको क्षमता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा जोड दिनुभएको हो।

‘नागरिकको सुरक्षा स्थानीय सरकारको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो। शान्ति सुरक्षा बलियो नभएसम्म विकास र समृद्धिको अभियानले अपेक्षित गति लिन सक्दैन,’ अध्यक्ष विष्टले भन्नुभयो।

उहाँले राप्तीको शान्ति, सुरक्षा र सुशासनलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार र नेपाल प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटका क्रममा प्रहरी महानिरीक्षक कार्कीले अध्यक्ष विष्टले राख्नुभएको मागलाई सकारात्मक रूपमा लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

अध्यक्ष विष्टले राप्तीमा नागरिकको सुरक्षा, अपराध नियन्त्रण र प्रभावकारी प्रहरी सेवाका लागि आवश्यक समन्वय तथा सहकार्यमा स्थानीय सरकार सधैं तयार रहेको बताउनुभएको छ।

Facebook Comments