• ३१ श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा मल कालोबजारी गर्ने चार जना नियन्त्रणमा




दाङ । दाङको घोराही उपमहानगरपालिका–७ सिसहनियाँ क्षेत्रमा डीएपी र युरिया मल बजार मूल्यभन्दा बढीमा बिक्री–वितरण गरिएको सूचनापछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मिति २०८३ साउन २८ गते राति करिब १० बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सर्तीबाट खटिएको प्रहरी टोलीले बंगलाचुली गाउँपालिका–५ मा रहेको अजय स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड नजिकै जाँच गर्दा डीएपी मल ५३ बोरा र युरिया मल ४ बोरा बरामद गरेको हो।

प्रहरीका अनुसार डीएपी मल प्रति बोरा बजार मूल्यभन्दा करिब २ हजार ९ सय रुपैयाँ बढीमा बिक्री भइरहेको पाइएको थियो। घटनामा संलग्न रहेको आरोपमा   ट्रयाक्टर चालक, साहु तथा सहकारीका दुई कर्मचारीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ स्थित कृषि सामग्री कम्पनी लिमिटेड घोराहीबाट मल बोकेर आएका ५७ वर्षीय सोहनलाल चौधरी, ट्र्याक्टर साहु ३७ वर्षीय कृष्ण चौधरी, अजय स्मृति सहकारी संस्थाका कर्मचारी बंगलाचुली गाउँपालिका–५ निवासी ५४ वर्षीय खिमबहादुर खत्री र सोही सहकारीका कर्मचारी ५४ वर्षीय दिवाकर खत्री रहेका छन्।

नियन्त्रणमा परेकामाथि जिल्ला प्रशासन कार्यालय दाङबाट कालोबजारी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले किसानका लागि आवश्यक मलमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने प्रवृत्ति अझै कायम रहेको देखाएको छ। सम्बन्धित निकायले यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाहीलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग रहेको छ।

Facebook Comments