
सर्जन गौतम
‘पपराजी जर्नालिज्म’ पत्रकारिताको एउटा यस्तो शाखा हो, जसले सेलिब्रेटी, राजनेता वा सार्वजनिक व्यक्तित्वका निजी क्षणलाई क्यामेरामा कैद गरेर सार्वजनिक गर्छ। यसको प्रमुख विशेषता सार्वजनिक व्यक्तिको निजी वा व्यक्तिगत क्षणका ‘क्यान्डिड’ तस्बिर तथा भिडियो खिच्नु हो।
यस्तो पत्रकारितामा कतिपय अवस्थामा आक्रामक शैली अपनाइन्छ—पछ्याउने, घेर्ने, टेलिफोटो लेन्स प्रयोग गर्ने वा निजी स्थानसम्म पुग्ने प्रयाससमेत गरिन्छ। यसको उद्देश्य प्रायः मनोरञ्जन, सनसनी र व्यावसायिक लाभ हुन्छ। सार्वजनिक हितभन्दा आम चासो र बजारको मागलाई बढी महत्त्व दिइने भएकाले पपराजी पत्रकारिता विवादमुक्त भने छैन।
तर नेपालमा पछिल्लो समय केही युट्युबरले सर्वसाधारण व्यक्तिको निजी जीवनमै घुस्ने जुन प्रयत्न गरिरहेका छन्, त्यो अझ गम्भीर प्रश्न हो। सेलिब्रेटी वा सार्वजनिक व्यक्तित्वले आफू सार्वजनिक जीवनमा रहेको कारण आफ्नो व्यक्तिगत आचरणसमेत सार्वजनिक बहसको विषय बन्न सक्छ भन्ने हेक्का राख्नुपर्छ। तर त्यसको अर्थ सर्वसाधारणको निजी जीवनमा जबर्जस्ती प्रवेश गर्ने अधिकार कसैलाई हुन्छ भन्ने होइन।
पपराजी पत्रकारिताको इतिहासमा यस्ता घटनाका दुःखद उदाहरण पनि छन्। राजकुमारी डायनाको मृत्युका घटनामा पपराजीको भूमिकाबारे लामो बहस भयो। अमेरिकी प्रथम महिला ज्याकी केनेडी ओनासिसलाई पनि पपराजी फोटोग्राफरहरूले लामो समय पछ्याएका थिए। यस्ता घटनाले पत्रकारिता र व्यक्तिगत गोपनीयताको सीमाबारे विश्वव्यापी बहस जन्माएको छ।
नेपालमा किशोर श्रेष्ठले गर्दै आएको पत्रकारितालाई पनि यही सन्दर्भमा हेर्न सकिन्छ। उनले राजनीतिक तथा फिल्मी क्षेत्रका सेलिब्रेटीका सनसनीखेज समाचार र कतिपय निजी सम्बन्धका विषय सार्वजनिक गरेका छन्। तर उनी स्वयं कसैलाई घेरेर पपराजी शैलीमा तस्बिर खिच्ने पत्रकार होइनन्। उपलब्ध सार्वजनिक सामग्री, सूचना र खोजबाट समाचार निर्माण गर्ने उनको शैली बढी देखिन्छ। उनले कतिपय गोप्य तथा महत्त्वपूर्ण राजनीतिक समाचारसमेत बाहिर ल्याएका छन्। कृष्ण सेन ‘इच्छुक’को हत्यासम्बन्धी समाचार ब्रेक गरेको प्रसंग यसको उदाहरणका रूपमा लिन सकिन्छ।
राजनीतिक व्यक्तिका वैध वा अवैध प्रेम सम्बन्ध खोतल्ने पत्रकारितालाई विश्व पत्रकारिताका केही चर्चित घटनासँग तुलना गर्न सकिन्छ। सन् १९९८ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्स्कीबीचको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा ठूलो बहस सिर्जना भएको थियो। उक्त प्रकरणले सार्वजनिक पद धारण गर्ने व्यक्तिको आचरण, आत्मनियन्त्रण र नैतिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठायो र महाभियोगसम्मको बहस जन्मियो।
तर अहिलेको घटनामा एउटा महत्त्वपूर्ण भिन्नता छ। यसपटक किशोरजीले कुनै गोप्य तस्बिर पत्ता लगाएर सार्वजनिक गरेका होइनन्। सम्बन्धित व्यक्तिले सामाजिक सञ्जालमा आफैं सार्वजनिक गरेका तस्बिरलाई आधार बनाएर समाचार बनाइएको देखिन्छ। त्यसैले यसलाई परम्परागत अर्थमा ‘पपराजी पत्रकारिता’ भन्न मिल्दैन। यो स्टिङ अपरेसन पनि होइन। श्रीषा कार्कीसम्बन्धी उनले विगतमा आफैं खोजेर सार्वजनिक गरेको सामग्रीजस्तो पनि होइन।

बरु सामाजिक सञ्जालमा उपलब्ध सामग्रीलाई सनसनीपूर्ण ढङ्गले प्रस्तुत गरेर दर्शक र भ्युज बटुल्ने प्रयासका रूपमा यसलाई हेर्न सकिन्छ। त्यसैले उनको गिरफ्तारीको विषयलाई लिएर आलोचकहरूले यसमा पत्रकारिताभन्दा राजनीतिक प्रतिशोधको प्रभाव त छैन भन्ने प्रश्न उठाएका छन्। त्यो प्रश्नको निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट जवाफ आउनुपर्छ।
यद्यपि यहाँ पत्रकारको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ। सार्वजनिक पदमा रहेका व्यक्ति वा सेलिब्रेटीले आफ्नो जीवनका केही पक्ष सार्वजनिक बहसको विषय बन्न सक्छन् भन्ने बुझेर आचरण गर्नुपर्छ। अर्कोतर्फ पत्रकारले पनि निजी जीवन, गोपनीयता र सार्वजनिक हितबीच स्पष्ट रेखा कोर्न सक्नुपर्छ। ‘जनचासो’ र ‘सार्वजनिक हित’ एउटै कुरा होइनन्। मानिसलाई कुनै विषयमा कौतूहल हुनु मात्र त्यसलाई समाचार बनाउने पर्याप्त आधार हुन सक्दैन।
जहाँसम्म ‘जनआस्था’को समाचार शैलीको प्रश्न छ, त्यसका सबै सामग्रीलाई स्थापित पत्रकारिताका मापदण्डमा राखेर हेर्न गाह्रो हुन्छ। कतिपय सामग्रीमा समाचार, खोज पत्रकारिता, सनसनी र गसिपिङको मिश्रण अर्थात् एक किसिमको ‘फ्युजन’ देखिन्छ। यसले दर्शक तान्न सक्छ, भ्युज बढाउन सक्छ; तर पत्रकारिताको विश्वसनीयता कायम राख्न तथ्य, सन्दर्भ, सार्वजनिक हित र गोपनीयताको सीमालाई बेवास्ता गर्न भने मिल्दैन।
अन्ततः पत्रकारिताको शक्ति केवल सनसनी पैदा गर्नुमा होइन, समाजलाई सही सूचना दिनु र सत्तालाई प्रश्न गर्नुमा हुन्छ। सार्वजनिक व्यक्तिलाई प्रश्न गर्ने अधिकार पत्रकारसँग छ; तर निजी जीवनमा प्रवेश गर्दा त्यसको औचित्य पनि देखाउन सक्नुपर्छ। पत्रकारिता र गसिपबीचको रेखा जति स्पष्ट हुन्छ, पत्रकारिताप्रतिको जनविश्वास पनि त्यति नै बलियो हुन्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

