• २८ श्रावण २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बासुदेव घिमिरेको सरकारलाई सुझावः ‘व्यक्तिगत स्वार्थ र अहङ्कार त्यागी अघि बढौँ’




काठमाडौं। राष्ट्रिय सभाका सदस्य बासुदेव घिमिरेले वर्तमान सरकारको कार्यशैलीका कारण मुलुक झनै अस्तव्यस्त र सङ्कटतर्फ धकेलेको बताएका छन् ।

राष्ट्रिय सभाको विहीबारको बैठकमा सांसद घिमिरेले संविधानका पिता एवं पूर्वप्रधानमन्त्री स्व। सुशील कोइरालाको जन्मजयन्तीको अवसरमा श्रद्धासुमन अर्पण गर्दै आफ्ना भनाइहरू प्रस्तुत गरेका थिए ।

सम्बोधनका क्रममा उनले मिडियामाथिको हस्तक्षेप र सरकारको अधिनायकवादी शैलीप्रति कडा आपत्ति जनाए । वुधबार राति पत्रकार किशोर श्रेष्ठलाई ‘अपहरण शैली’मा पक्राउ गरिएको घटनाको निन्दा गर्दै घिमिरेले प्रेस तथा सञ्चार जगतलाई आतङ्कित पार्ने काम नगर्न सरकारलाई चेतावनी दिए ।

सरकारका उपलब्धिहरूको व्यङ्ग्यात्मक सूची प्रस्तुत गर्दै उनले सुकुम्बासीमाथि डोजर आतङ्क मचाएको, स्वास्थ्य बीमा कार्यक्रम रोकेको, किसानलाई समयमा मल र बिउ उपलब्ध गराउन नसकेको तथा युवा व्यवसायीहरूलाई पलायन हुन बाध्य पारेको जिकिर गरे । साथै, अघिल्ला सरकारले बनाएका संरचनाहरूको उद्घाटनमा मात्र सरकार सीमित भएको र शिक्षा, न्यायपालिका एवं निजामती प्रशासनलाई ध्वस्त पार्न उद्धत रहेको आरोप पनि उनले लगाए ।

स्वास्थ्य र सामाजिक क्षेत्रका विषयमा बोल्दै सांसद घिमिरेले नेपालमा पूर्ण सरकारी स्वामित्वका आँखा अस्पताल नभएको अवस्थामा नेपाल नेत्र ज्योति सङ्घ जस्ता गैरनाफामूलक संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । आफ्नो व्यक्तिगत अनुभव बाँड्दै उनले वि।सं। २०३४ मा आँखाको उपचारका लागि भारत जानुपरेको स्मरण गरे ।

हाल नेत्र ज्योति सङ्घले मुलुकभर २८ वटा अस्पताल र २५० वटा स्वास्थ्य केन्द्रमार्फत दृष्टिविहीनता घटाउन उल्लेख्य योगदान पुर्‍याएको भन्दै उनले यस्ता संस्थालाई सहयोग गर्न सरकारसँग माग गरे । स्वास्थ्य मन्त्रीले कोशी प्रदेशबाट सरकारी स्तरमा आँखा अस्पताल सुरु गर्ने घोषणा गरेकोमा भने उनले धन्यवाद व्यक्त गरे ।

यसैगरी, सांसद घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण र उनीहरूले पाउने भत्तासम्बन्धी विद्यमान कार्यविधि व्यावहारिक नभएको भन्दै संशोधनको माग गरे । २०७८ को जनगणना अनुसार ६ लाख ४७ हजार ४४ जना अपाङ्गता भएका नागरिक रहेको उल्लेख गर्दै उनले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि भत्ताको व्यवस्था गर्नुपर्ने र रोजगारी तथा जनप्रतिनिधि चयनमा उनीहरूका लागि विशेष कोटाको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

मुलुकको वर्तमान राजनीतिक स्थितिलाई २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर फर्कँदाको अवस्थासँग तुलना गर्दै उनले देश गम्भीर सङ्क्रमणकालबाट गुज्रिरहेको बताए । व्यक्तिगत स्वार्थ र अहंकार त्यागेर सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै घिमिरेले सरकारलाई उद्दण्डता र अराजकता छोडेर सहमति र समझदारीको बाटोमा आउन आग्रह गरे ।

Facebook Comments