• २७ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा दिवसको अवसरमा जुम्लेपानी युनाइटेड गठन




कमिरेचौर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दाङको बंगलाचुली गाउँपालिका–४, जुम्लेपानी क्षेत्रका युवाहरूले सामाजिक कार्यमा सक्रिय हुने उद्देश्यले जुम्लेपानी युनाइटेड  गठन गरेका छन्।

समुदायका युवाहरू तथा सदस्यहरूलाई एकताबद्ध गर्दै सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद तथा सामुदायिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले युनाइटेड गठन गरिएको हो। संस्थाले युवाहरू तथा समुदायका सदस्यबीच एकता, भाइचारा, सद्भाव र सहकार्यको भावना विकास गर्ने लक्ष्य लिएको जुम्लेपानीका युवा मधुसूदन गिरीले बताउनुभयो।

आर्थिक तथा अन्य कारणले शैक्षिक सामग्रीको अभाव भएका विद्यार्थीलाई कापी, कलम, किताबलगायत आवश्यक सामग्री सहयोग गर्ने संस्थाको उद्देश्य छ। त्यस्तै, बिरामी, दुर्घटना, प्राकृतिक विपत्ति तथा अन्य आकस्मिक परिस्थितिमा आवश्यकताअनुसार सहयोग गर्ने योजना पनि युनाइटेडले अघि सारेको छ।

जुम्लेपानी क्षेत्रमा खेलकुदका गतिविधिलाई प्रवर्द्धन गर्दै युवाहरूलाई सकारात्मक तथा सिर्जनात्मक कार्यमा जोड्ने उद्देश्य रहेको युनाइटेडका सदस्य छविलाल घर्तीले बताउनुभयो। उहाँका अनुसार खेलकुदमार्फत युवाहरूको प्रतिभा पहिचान तथा विकास गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ।

त्यसैगरी, सरसफाइ, वातावरण संरक्षण, वृक्षरोपण, खानेपानी तथा अन्य आवश्यक सामाजिक विकासका गतिविधिमा समुदायसँग सहकार्य गर्ने संस्थाले जनाएको छ। युवाहरूलाई सकारात्मक गतिविधिमा सहभागी गराउँदै उनीहरूको प्रतिभा, सिर्जनशीलता र नेतृत्व क्षमता विकासमा समेत युनाइटेडले भूमिका खेल्ने लक्ष्य राखेको छ।

जुम्लेपानी युनाइटेडले जात, धर्म, लिङ्ग, आर्थिक अवस्था, राजनीतिक विचार वा व्यक्तिगत सम्बन्धका आधारमा कुनै पनि प्रकारको विभेद नगरी सबैलाई समान सम्मान र अवसर प्रदान गर्ने जनाएको छ। तत्कालीन आवश्यकतामा सहयोग पुर्‍याउनुका साथै भविष्यका पुस्तासमेत लाभान्वित हुने सामाजिक, शैक्षिक तथा मानवीय कार्यलाई निरन्तरता दिने संस्थाको लक्ष्य छ।

“मनहरू जोडौँ, सकारात्मक परिवर्तन सिर्जना गरौँ” भन्ने मूल भावनाका साथ गठन भएको जुम्लेपानी युनाइटेडले युवाहरूको शक्ति र सामूहिक प्रयासलाई सामाजिक रूपान्तरणसँग जोड्दै समुदायमा सकारात्मक परिवर्तनको अभियान अघि बढाउने जनाएको छ।

Facebook Comments