ओमप्रकाश गुप्ता
देउखुरी। नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेशका सदस्य शंकर गाैतमले उद्योगी तथा व्यवसायीहरूले नाफा कमाउने नाममा कालोबजारी, कृत्रिम अभाव र उपभोक्ता ठगी गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले व्यवसाय सञ्चालन गर्दा नाफासँगै उपभोक्ताको हितलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभालाई शनिबार राप्ती गाउँपालिका–५, सिसहनियाँमा सम्बोधन बोल्ने वक्ताहरूले केही पैसाको अतिरिक्त नाफाका लागि उपभोक्तालाई ठग्ने काम कसैले पनि गर्न नहुने उहाँले बताउनुभयो । उहाँहरूले उद्योगी तथा व्यवसायीले आफ्नो व्यवसायप्रति इमानदार र जिम्मेवार बन्दै उपभोक्ताको विश्वास कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
“नाफा कमाउनु व्यवसायको उद्देश्य हो, तर नाफाका नाममा उपभोक्तालाई ठग्ने वा कालोबजारी गर्ने छुट कसैलाई छैन,” उहाँले भन्नुभयो, “२/४ पैसाको लोभमा उपभोक्ताको अधिकार र विश्वासमाथि खेलवाड गर्नु हुँदैन ।”
उहाँले बजारमा देखिने विभिन्न विकृति तथा विसंगतिको नियन्त्रणका लागि व्यवसायी, उपभोक्ता, स्थानीय सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । बजारलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
व्यवसायीहरू बदलिँदो समय, प्रविधि र बजारको मागअनुसार आफूलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने गौतमले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न सकेमा मात्रै स्थानीय व्यवसायीहरू प्रतिस्पर्धी बन्न सक्ने उहाँको भनाइ थियो ।
“अब परम्परागत शैलीमा मात्र व्यवसाय गरेर हुँदैन,” गौतमले भन्नुभयो, “समयअनुकूल प्रविधिको प्रयोग, गुणस्तरीय वस्तु तथा सेवा, पारदर्शी कारोबार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै व्यवसायीहरू अगाडि बढ्नुपर्छ । यसले व्यवसायीलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन सहयोग गर्छ ।”
चेम्बरका अध्यक्ष बसन्तबहादुर कुँवर क्षेत्रीको अध्यक्षता तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव खेमराज अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले चेम्बरले स्थापना भएदेखि नै स्थानीय उद्योगी तथा व्यवसायीका समस्या, व्यवसाय प्रवद्र्धन, बजार व्यवस्थापन तथा व्यवसायीबीच सहकार्यका लागि विभिन्न गतिविधि गर्दै आएको जानकारी गराउनुभयो ।
त्यस्तै, कोषाध्यक्ष अर्जुनकुमार क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्था, आम्दानी तथा खर्चलगायतका विवरण सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि सहभागीहरूले छलफल गर्दै आगामी दिनमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै लैजानुपर्ने सुझाव दिएका थिए ।
सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष तिर्थराज ज्ञवाली, इलाका प्रहरी कार्यालय सिसहनियाँका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक मदन एमसी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण भुसाल र कृषि चेम्बर अफ कमर्सका अध्यक्ष प्रेमलाल चाैधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे । चेम्बरकी दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियोे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

