दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले आफ्ना सदस्यहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने क्षमता विकास तालिम सुरु गरेको छ।
तालिमको उद्घाटन एसोसिएसन दाङका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नरुलाल चौधरीले फोटोग्राफी व्यवसाय मर्यादित र सिर्जनात्मक पेशा भएकाले समयको मागअनुसार नयाँ प्रविधिसँग आफूलाई अद्यावधिक गर्दै क्षमता विकास गर्न आवश्यक रहेको बताए। उनले यस तालिमले फोटोग्राफरहरूको सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, महासंघका सल्लाहकार रोशनमान श्रेष्ठ, महासंघका सचिव कुलराज चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार तीन दिने तालिममा स्टुडियो लाइट सेटअप, Adobe Photoshop सम्बन्धी ज्ञान तथा कृत्रिम बौद्धिकता (AI) आधारित आधारभूत फोटो एडिटिङ सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रम संयोजक गैरिकुमार चौधरीले तालिमको उद्देश्य र कार्यक्रमबारे जानकारी गराएका थिए भने उपाध्यक्ष हुम रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव सागर आरसीले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

