घोराही। सामुदायिक प्रहरी सेवा केन्द्रको २४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रका अध्यक्ष कैलाश रोकाको अध्यक्षता तथा दाङ जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासन चौधरी विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, केन्द्रका पूर्व अध्यक्ष भुपेन्द्र सुवेदी, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ, केन्द्रका सल्लाहकार खड्ग बुढाथोकी र बलदेव योगी, नेपाल मगर सङ्घ दाङका अध्यक्ष मुक्त बुढा, महिला मानवअधिकार सञ्जालकी अध्यक्ष अनिता पोख्रेल, पूर्व प्रहरी संगठनका अध्यक्ष रोहबर बहादुर बस्नेत, लायन्स क्लब अफ घोराहीका उपाध्यक्ष एकनारायण अधिकारी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष धुर्ब केसी, समाज कल्याण दाङकी अध्यक्ष निर्मला शर्मा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष माया पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव केबी घर्तीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
स्थापना दिवसको अवसरमा केन्द्रमा महत्वपूर्ण योगदान पुर्याएका आजीवन सदस्यहरूलाई खादा ओढाएर तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदानले सामुदायिक प्रहरी अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले कृतज्ञता व्यक्त गरेको थियो।
प्रमुख अतिथि दाङ जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले समुदाय र प्रहरीबीचको सहकार्य नै शान्ति, सुरक्षा र अपराध नियन्त्रणको आधार भएको बताउनुभयो। उहाँले लागूऔषध दुव्र्यसन, घरेलु हिंसा, साइबर अपराध तथा सामाजिक विकृतिविरुद्ध समुदायसँग हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सामुदायिक प्रहरी सेवा केन्द्रले विगत २४ वर्षदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।
विशिष्ट अतिथि सबिन प्रियासन चौधरीले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रहरी, सञ्चारमाध्यम र नागरिक समाजबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो। उहाँले लागूऔषधविरुद्धको अभियान, जनचेतनामूलक कार्यक्रम तथा युवालाई सकारात्मक बाटोमा डोर्याउने गतिविधिहरूलाई अझ व्यापक बनाउनुपर्ने उल्लेख गर्दै समुदायको सक्रिय सहभागिताले मात्र सुरक्षित समाज निर्माण सम्भव हुने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष कैलाश रोकाले केन्द्रले स्थापना कालदेखि नै सामुदायिक सुरक्षा, लागूऔषध नियन्त्रण, सडक सुरक्षा, महिला तथा बालबालिकाको संरक्षण र विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। आगामी दिनमा विद्यालय, टोल तथा विभिन्न संघसंस्थासँग समन्वय गरेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्ने अन्य अतिथिहरूले पनि सामुदायिक प्रहरी सेवा केन्द्रले समाजमा अपराध न्यूनीकरण, सामाजिक सद्भाव कायम राख्न तथा नागरिकलाई सुरक्षा सचेतना प्रदान गर्न खेलेको भूमिका उल्लेखनीय रहेको बताएका थिए। उनीहरूले समुदायको सहभागिताबिना दिगो शान्ति र सुरक्षा सम्भव नहुने भन्दै केन्द्रका गतिविधिलाई अझ विस्तार गर्न सुझाव दिएका थिए।
सामुदायिक प्रहरी सेवा केन्द्रले पछिल्ला वर्षहरूमा विशेषगरी लागूऔषधविरुद्धको अभियान, विद्यालयस्तरीय सचेतना कार्यक्रम, महिला तथा युवामुखी अभिमुखीकरण, ट्राफिक सचेतना तथा सामाजिक विकृतिविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्थापना दिवसले केन्द्रको विगतको योगदानको समीक्षा गर्दै आगामी दिनमा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

