नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, एमफिल समाजशास्त्र र प्रा चैतन्य मिश्र फाउण्डेशनले यहाँ आयोजना गरेको ‘नेपालमा समाजशास्त्र ः शिक्षा, स्वास्थ्य र समृद्धि’ विषयक एकदिने विचार गोष्ठीमा उहाँले संविधान कार्यान्वयन भएमात्र मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा समृद्धि आउने उल्लेख गर्नुभयो ।
“नेपालको संविधानले महिला, दलित, आदिवासी, अपाङ्ता भएका व्यक्ति, मधेसीलगायतको अधिकारलाई स्थापित गरेको छ, समृद्ध मुलुक निर्माणका लागि संविधान कार्यान्वयन आवश्यक छ”, नेता शर्माले भन्नुभयो ।
नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिले महिला, दलित, सुकुम्बासी, आदिवासी र जनजातीलाई सशक्तीकरण गरेमात्र मुलुकको विकास हुने बताउनुभयो । “सङ्घीयताको कार्यान्वयन भएमात्र समाजवादको बाटोमा मुलुक अगाडि बढ्छ”, उहाँले भन्नुभयो । नेता गिरीले केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले न्यायोचित बजेट विनियोजन गरेमात्र समृद्ध नेपाल र सुखी नेपाली बन्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा उषा झाले कर्मचारीतन्त्र केन्द्रीकृत भएकाले सङ्घीयताको कार्यान्वयनमा समस्या उत्पन्न हुँदै गएको बताउनुभयो । राजनीतिक विश्लेषक तुलनारायण शाहले मधेस आन्दोलनका कारण मुलुकमा सङ्घीयता निर्माण भएकाले यसको रक्षाका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका रेक्टर डा सुधा त्रिपाठीले विश्वविद्यालयलाई अनुसन्धान गर्ने केन्द्रका रुपमा अगाडि बढाउनुुपर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागले छ वर्षदेखि यस्ता छलफल र बहस चलाउँदै आएको विभागका प्रमुख टीकाराम गौतमले जानकारी दिनुभयो ।
सो अवसरमा शिक्षा, स्वास्थ्य र समृद्धिको बारेमा छुट्टाछुट्टै समूह बनाएर समूहगत छलफल गरिएको थियो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।