मधुसूदन गिरी
दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयमा अध्ययनरत दोस्रो र चौथो वर्षका विद्यार्थीहरूले आफ्नो प्राज्ञिक अनुसन्धान प्रतिवेदन क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका छन्।
आज मंगलबार आयोजित एक औपचारिक कार्यक्रमबीच विद्यार्थीहरूले प्रतिवेदन क्याम्पस प्रशासनलाई बुझाएका हुन्। उक्त अनुसन्धान गत फागुन ३ गते रोल्पाको रुन्टीगढी गाउँपालिकाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको स्थलगत अध्ययन तथा अवलोकनपछि तयार पारिएको हो।
अनुसन्धान टोलीले रुन्टीगढी गाउँपालिका–६ मा अवस्थित मुरुल्ले लेक, म्याग्जिन गढी, नागदेव शिला र गढीलेक तथा वडा नं. ७ मा रहेको शिव–पार्वती गुफाको स्थलगत अवलोकन गरी सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्भावनाको अध्ययन गरेको थियो।
समाजशास्त्र विषयमा दोस्रो वर्षमा अध्ययनरत छात्रा अम्बिका डाँगीको अध्यक्षता तथा क्याम्पस प्रमुख डा. नारायण पन्थीको प्रमुख आतिथ्यता तथा विषय प्राध्यापक एवं अनुसन्धान सुपरिवेक्षक हरि बहादुर रावतको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
समाजशास्त्र चौथो वर्षमा अध्ययनरत छात्रा विपना पाण्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण मधुसूदन गिरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नारायण पन्थीले अनुसन्धान उच्च शिक्षाको आधारभूत पक्ष भएको उल्लेख गर्दै विद्यार्थीहरूले गरेको स्थलगत अध्ययनले उनीहरूको विश्लेषण क्षमता, अनुसन्धान सीप र व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने बताउनुभयो।
उहाँले समाजशास्त्रका विद्यार्थीहरूले रुन्टीगढी गाउँपालिकाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदामाथि गरेको अध्ययन प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता अनुसन्धानले स्थानीय स्रोत, सम्पदा र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि तथा विषय प्राध्यापक एवं अनुसन्धान सुपरिवेक्षक हरि बहादुर रावतले अनुसन्धान शिक्षाको अभिन्न अंग भएको उल्लेख गर्दै कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई स्थलगत अध्ययनमार्फत व्यवहारमा उतार्न यस्ता अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदाको संरक्षण, प्रचारप्रसार तथा दिगो विकासका लागि विद्यार्थीहरूको अध्ययन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। अनुसन्धान प्रतिवेदन केवल शैक्षिक मूल्याङ्कनका लागि मात्र नभई स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायका लागि पनि सन्दर्भ सामग्रीका रूपमा उपयोगी बन्न सक्ने उहाँको भनाइ थियो।
उहाँले विद्यार्थीहरूलाई भविष्यमा पनि तथ्यमा आधारित, गुणस्तरीय र समाजमुखी अनुसन्धानलाई निरन्तरता दिन आग्रह गर्दै सफल अनुसन्धान सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
अनुसन्धानका क्रममा विद्यार्थीहरूले रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेका मुरुल्ले लेक, म्याग्जिनगढी, गढीलेक, नाँचघर, शिव–पार्वती गुफा तथा नागदेव शिला मन्दिरको स्थलगत अध्ययन गरेका थिए। अध्ययनका क्रममा ती स्थानहरूको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व, स्थानीय समुदायसँगको सम्बन्ध, पर्यटन विकासको सम्भावना, संरक्षणको वर्तमान अवस्था, पूर्वाधारको उपलब्धता तथा स्थानीय आर्थिक गतिविधिमा पर्न सक्ने प्रभावका विषयमा जानकारी संकलन गरिएको थियो।
अनुसन्धानले यी सम्पदाहरूको उचित संरक्षण, प्रचारप्रसार, आवश्यक पर्यटन पूर्वाधारको विकास तथा स्थानीय समुदायको सक्रिय सहभागितामार्फत रुन्टीगढी गाउँपालिकालाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याएको छ। साथै, स्थानीय मौलिक संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण गर्दै दिगो पर्यटन प्रवर्द्धन गर्न सम्बन्धित निकाय, स्थानीय सरकार र समुदायबीच समन्वय आवश्यक रहेको निष्कर्ष प्रतिवेदनमा समेटिएको छ।
कार्यक्रममा क्याम्पसका अनुसन्धान व्यवस्थापन समिति अध्यक्ष सुदर्शन रिजाल, आइटि कोर्डिनेटर पुष्कर खड्का, अर्थशास्त्र विभागका उप प्रध्यापक अरुण सुवेदी र समाजशास्त्र /मानवशास्त्र विभागका उप प्रध्यापक नवराज सुवेदी लगायले बोल्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

