फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको डालास रङ्गशालामा शुरू हुनेछ ।
यी दुई टोलीबीचको खेललाई ‘फाइनलअघिको फाइनल’ भनिएको छ । फिफा वरीयतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ ।
विश्वकपमा फ्रान्स र स्पेनबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् २००६ को विश्वकपमा फ्रान्सले स्पेनलाई ३–१ ले हराएको थियो ।
समग्रमा यी दुई टोलीबीच ३८ पटक प्रतिस्पर्धा हुँदा स्पेन १८ र फ्रान्स १३ खेलमा विजयी भएको छ भने ७ खेल बराबरीमा सकिएको छ ।
फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक उपाधि जितेको छ । स्पेन सन् २०१० को विजेता हो ।
फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ । फ्रान्सका कप्तान केलियन एम्बाप्पले ८ गोलसहित ‘गोल्डेन बुट’ को दौडमा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् । फ्रान्सको टोलीलाई ओस्मान डेम्बेले, माइकल ओलिसे जस्ता खेलाडीले अझ बलियो बनाएको छ ।
यस्तै स्पेनले सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अपनाउँदै आएको छ । लामिन यामाल, मिकेल ओयारजाबाल, रोड्रीले स्पेनलाई बलियो बनाएको छ ।
विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि राति पौने १ बजे इङ्ग्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन् ।
२६औँ संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन ३ गते आइतवार राति पौने १ बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

