दाङ । दाङका होटेल समितिले होटल तथा रेष्टुरेन्ट व्यवसायमा पछिल्लो समय बढ्दै गएको अनुगमनप्रति ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएको छ।
समितिले बजार अनुगमन उपभोक्ताको स्वास्थ्य सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित बनाउन आवश्यक रहेको स्वीकार गर्दै व्यवसायीलाई पूर्वसूचना, स्पष्ट मापदण्ड तथा सुधारको अवसर प्रदान गर्नुपर्ने माग गरेको छ।
ज्ञापनपत्रमा पछिल्लो समय विभिन्न निकायबाट भइरहेको अनुगमनका क्रममा व्यवसायीलाई मानसिक तनाव सिर्जना हुनुका साथै साना तथा मझौला व्यवसाय सञ्चालनमा कठिनाइ भएको उल्लेख गरिएको छ। अनुगमन गर्दा व्यवसायीलाई सचेत गराउने, सुधारका लागि समय दिने र कानुनी प्रक्रिया पारदर्शी तथा समन्वयात्मक बनाउन समितिले आग्रह गरेको छ।
समितिले व्यवसायी र नियामक निकायबीच विश्वास, समन्वय तथा सहकार्यको वातावरण निर्माण गरी उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै व्यवसायीको मर्यादा र दिगोपनलाई समेत संरक्षण गर्नुपर्ने धारणा राखेको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सचिव नेत्र वली, महासंघ लुम्बिनी प्रदेश सदस्य दुर्वाराम चौधरी, देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वरकुमार बुढामगर, तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, लमही होटल व्यवसायी समितिका अध्यक्ष हेमन्तप्रसाद पाण्डे, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष सुमन्त भुसाल, गढवा होटल व्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

