काठमाडौँ । राजनीतिक बिश्लेषक बिपुल पोख्रेलले संसद्मा छुद्र वचन, धम्कीको भाषा र दम्भ प्रदर्शन गरेर सरकारको आत्मरक्षा हुन्छ भन्ने भ्रम त्याग्न सरकारलाई सुझाव दिनुभएको छ । यस्तो भ्रम जति चाँडो त्याग्यो, सरकारलाई त्यति नै सहज हुने विश्लेषक पोख्रेलको भनाई छ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र बदलिँदो सामाजिक परिवेशका बीच सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सरकारको कार्यशैली, प्रतिपक्षी दलहरूको भूमिका र नागरिकमा बढ्दै गएको निराशाप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।
विश्लेषक पोख्रेलले सरकारलाई सस्तो लोकप्रियता अर्थात् ‘स्टण्ट’ को पछि नलागी राज्यका संरचनाहरूलाई व्यवस्थित, सुदृढ र आवश्यक परे परिमार्जन गरेर थिति बसाल्ने बाटोमा हिँड्न आग्रह गर्नुभएको छ। केवल स्टण्ट देखाएर मात्रै प्रणाली नबस्ने र शक्ति सन्तुलनको सिद्धान्तअनुरूप नागरिकका अपेक्षा एवं समस्याहरू सम्बोधन हुन नसक्ने उहाँको ठम्याइ छ।
नागरिकका आकांक्षा पूरा गर्न सरकार ठोस र संस्थागत बाटोमा हिँड्नुपर्नेमा जोड दिँदै उहाँले पछिल्लो समय समाजमा बढ्दै गएका आत्मदाह र आत्महत्या जस्ता दुखद घटनाहरू व्यक्तिका नितान्त वैयक्तिक निर्णय भए तापनि राज्य यसबाट पन्छिन नमिल्ने उल्लेख गर्नुभएको छ।
सरकार र राज्यका अन्य कुनै पनि निकायले यसलाई व्यक्तिको निजी मामिला मात्र भनेर छुट नपाउने स्पष्ट पार्दै उहाँले एक स्वस्थ, सभ्य र कुनै पनि हालतमा गलत निर्णय नगर्ने नागरिक निर्माण गर्नु राज्यको अनिवार्य दायित्व भएको र राज्य हर निमेष जवाफदेही हुनुपर्ने बताउनुभएको छ।
मुलुकको वर्तमान राजनीतिक परिदृश्यप्रति टिप्पणी गर्दै विश्लेषक पोख्रेलले देशमा सडक तात्दै गइरहेको अवस्थामा प्रतिपक्षी दलहरू भने आन्तरिक कलहमा अल्झिएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। लगाम बिनाको सडक छिट्टै अराजक बन्न सक्ने र त्यस्तो अराजक सडकले निकास नभई केवल विध्वंश मात्र निम्त्याउने उहाँको विश्लेषण छ।
लोकतन्त्रमा सडकलाई नियन्त्रणमा राख्ने र अराजक बन्न नदिने मुख्य जिम्मेवारी विपक्षी दलहरूको हुने भएकाले उनीहरूमा यसको हेक्का हुन जरुरी रहेको उहाँले औंल्याउनुभएको छ। नेपाली जनता अभाव, दुःख र पीडाका बाबजुद पनि लोकतन्त्रको अनुभूतिमै आनन्दित हुन अभ्यस्त रहेको र लोकतन्त्रको रक्षाका लागि सधैं एकजुट हुन सक्ने भए तापनि शासकहरूको प्रवृत्ति सधैं निराशाजनक रहेको उहाँको भनाइ छ।
सत्तामा पुगेपछि लोकतन्त्रको गलत अभ्यास गर्दै यसको हुर्मत लिने शासकहरूको प्रवृत्तिप्रति नेपाली लोकतन्त्रवादीहरूको सधैं गुनासो रहँदै आएको चर्चा गर्दै उहाँले अहिलेको परिस्थितिमा यो गलत श्रृंखला रोकियोस् भन्ने नागरिक अपेक्षामाथि फेरि तुषारापात हुन थालेको भन्दै गम्भीर चासो व्यक्त गर्नुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

