• २७ असार २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
परिषद्को ८५ औं एकल रचना वाचन शृङ्खलामा गुञ्जिए साहित्यकार जनक




घोराही, दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको ८५ औं शृङ्खलामा साहित्यकार जनक विकले एकल रचना वाचन गर्नुभएको छ। परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यतामा एकल रचना वाचन कार्यक्रम भएको थियो।

कविमा कवितासम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्ने प्रमुख अतिथि डा. गिरीले बताउनुभयो। उहाँले साहित्यकार विकलाई सिर्जनात्मक कर्ममा सक्रिय, अध्ययनशील तथा प्रतिभाशाली युवकका रूपमा प्रशंसा गर्नुभयो। विकले आफ्ना अनुभूतिहरूलाई कवितामार्फत प्रभावकारी ढङ्गले व्यक्त गरेको र उनका कवितामा समाजका विभिन्न पक्षहरू राम्रोसँग चित्रण गरिएको डा. गिरीको भनाइ थियो। ‘एउटा कवि गोष्ठी राखौँ र दाङका कविताका बारेमा छलफल गरौँ,’ डा. गिरीले भन्नुभयो, ‘केबल गतिविधिले मात्रै समृद्ध र स्तरीय साहित्य बन्दैन।’

यसैगरी, विशिष्ट अतिथि एवं राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालले विकका कविता अत्यन्त राम्रा र गहकिला भएको बताउनुभयो। ती कविताहरू समाज रूपान्तरणको अभियानमा सहयोगी हुने र लेखनले उहाँलाई एक आँटिलो युवाका रूपमा देखाएको खनालको भनाइ थियो। उहाँले वाचनकलामा कहाँनेर जोड दिने र कसरी मिलाउने भन्नेबारे थप विकास गर्न सुझाव समेत दिनुभयो। कार्यक्रममा विकले १२ वटा कविता वाचन गर्नुभएको थियो।

कविताहरूमा राष्ट्रप्रेम, न्याय, समानता र देशमै रहेर देशकै लागि काम गर्नुपर्छ भन्ने ऊर्जा रहेको समीक्षक एवं प्रगतिशील लेखक सङ्घका जिल्ला सचिव पुरन शर्माले बताउनुभयो। उहाँले कविताहरूमा राजनीतिक प्रेम, देशको अवस्था सुधार गर्नुपर्ने कुरा र परिवर्तनको लक्ष्य समेत समेटिएको उल्लेख गर्नुभयो। विचार विमर्श गरी निकास दिने उज्यालो बाटो देखाउन कविताहरू सक्षम रहेको उहाँको दाबी थियो। सो अवसरमा वाचक विकलाई परिषद्का तर्फबाट कदरपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।

Facebook Comments