• २६ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमी प्लस टुमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत




घोराही ।  गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच भव्य रूपमा स्वागत गरेको छ। होटल माला इनको सभाहलमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नयाँ साथीहरूलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरेका हुन्। कार्यक्रम कक्षा १२ की छात्रा सहिष्णु थापाको अध्यक्षतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारी तथा सञ्चालक समिति सदस्य रुपक थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ई. अनन्तराज घिमिरेले गुरुकुल एकेडेमीले केवल शैक्षिक उपलब्धिमा मात्र होइन, अनुशासन, नैतिकता, नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा जीवनोपयोगी सीपको विकासमा समेत विशेष जोड दिँदै आएको बताउनुभयो। उहाँले कक्षा ११ मा अध्ययन प्रारम्भ गर्नु विद्यार्थी जीवनको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै यस चरणमा गरिने मेहनतले भविष्यको गन्तव्य निर्धारण गर्ने भएकाले लक्ष्य स्पष्ट राखेर अध्ययनमा समर्पित हुन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ूआज यहाँ उपस्थित प्रत्येक विद्यार्थी भोलिको सक्षम नागरिक, सफल व्यवसायी, दक्ष चिकित्सक, इन्जिनियर, शिक्षक, प्रशासक वा राष्ट्रको नेतृत्व गर्ने जनशक्ति बन्ने सम्भावना बोकेर आएका छन्। त्यस सम्भावनालाई यथार्थमा बदल्ने आधार भनेको गुणस्तरीय शिक्षा, अनुशासन, निरन्तर मेहनत र सकारात्मक सोच हो। गुरुकुल एकेडेमीले विद्यार्थीको यही सम्भावनालाई उजागर गर्ने वातावरण सिर्जना गर्न निरन्तर प्रयास गरिरहेको छ। उहाँले विद्यालयले आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली, दक्ष शिक्षक टोली, अतिरिक्त क्रियाकलाप, करियर परामर्श तथा विद्यार्थीमैत्री वातावरणमार्फत गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो। नयाँ विद्यार्थीहरूलाई विद्यालयलाई आफ्नो दोस्रो घरका रूपमा ग्रहण गर्दै हरेक अवसरको सदुपयोग गर्न र अध्ययनसँगै सिर्जनशील तथा सामाजिक गतिविधिमा पनि सक्रिय सहभागी हुन आग्रह गर्नुभयो।

प्रमुख अतिथि घिमिरेले कक्षा १२ का विद्यार्थीहरूले आयोजना गरेको स्वागत कार्यक्रमको प्रशंसा गर्दै वरिष्ठ विद्यार्थी र नवआगन्तुक विद्यार्थीबीचको आत्मीय सम्बन्धले विद्यालयमा सकारात्मक सिकाइ संस्कृतिको विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयप्रति विश्वास गरेर आफ्ना छोराछोरी गुरुकुलमा अध्ययनका लागि पठाउने सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय परिवार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारीले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै गुरुकुल एकेडेमीले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो। उहाँले नियमित अध्ययन, अनुशासन, समय व्यवस्थापन र सकारात्मक सोचले मात्र सफलता हासिल गर्न सकिने उल्लेख गर्दै विद्यालयले प्रत्येक विद्यार्थीको क्षमता पहिचान गरी त्यसको विकासका लागि आवश्यक अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी सहायक प्रधानाध्यापक महेन्द्र पौडेलले विद्यार्थीलाई मेहनत, अनुशासन र आत्मविश्वासलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्नुभयो। प्लस टु संयोजक राजन अधिकारीले विद्यालयको शैक्षिक गतिविधि, कक्षा सञ्चालन, मूल्याङ्कन प्रणाली तथा अतिरिक्त कार्यक्रमबारे जानकारी गराउँदै विद्यार्थीलाई अध्ययनसँगै रचनात्मक गतिविधिमा सक्रिय हुन प्रेरित गर्नुभयो। विद्यार्थीका तर्फबाट यशु बुढाथोकीले मन्तव्य राख्दै गुरुकुल परिवारसँगको यात्राले ज्ञान, अनुभव र मित्रताको सुन्दर अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यार्थी सिमरण योगीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सञ्चालन बिरेन्द्र गाहा मगर र सुबिक्षा पुरीले संयुक्त रूपमा गर्नुभएको थियो।कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत, सांस्कृतिक प्रस्तुति तथा अन्य मनोरञ्जनात्मक कला प्रस्तुत गरी सभाहललाई उत्साहपूर्ण बनाएका थिए। नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीबीच आपसी चिनजान, आत्मीयता र सहकार्यको भावना अझ सुदृढ बनाएको विद्यालयले जनाएको छ।

Facebook Comments