दाङ । दाङको बंगलाचुली गाउँपालिका–३ बचेनीमा असार ३१ र ३२ गते खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
बचेनी युवा क्लबको आयोजनामा ‘खेलकुदको विकास, युवा शक्तिको पहिचान’ भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ। पहाडी क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सरेश घर्तीले जानकारी दिए।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले नगद ८ हजार रुपैयाँ, द्वितीयले ५ हजार रुपैयाँ र तृतीयले ४ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी महिलातर्फ प्रथम हुने टोलीलाई ४ हजार रुपैयाँ तथा द्वितीय हुने टोलीलाई ३ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने अध्यक्ष घर्तीले बताए।
प्रतियोगितामा सहभागी हुन पुरुष टोलीका लागि २ हजार रुपैयाँ र महिला टोलीका लागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको क्लबले जनाएको छ।
क्लबका अनुसार प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बंगलाचुली क्षेत्रमा भलिबल खेलको विकास र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
