• २४ असार २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दिवंगत आमाको स्मृतिमा श्रीकोट माविमा रु. १ लाख १६ हजारको अक्षयकोष स्थापना




रुकुम पूर्व, सिस्ने। सिस्ने गाउँपालिका–५, बाहुनथाना जन्मथलो भई हाल जापानलाई कर्मथलो बनाउँदै आउनुभएका पर्यटन व्यवसायी तथा समाजसेवी बिशेश्वर रेग्मीले आफ्नी दिवंगत आमा विष्णु लोक रेग्मीको पावन स्मृतिमा श्रीकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि ‘विष्णु लोक रेग्मी गरिब तथा जेहेन्दार विद्यार्थी अक्षयकोष’ स्थापना गर्दै रु. १ लाख १६ हजार प्रदान गर्नुभएको छ।

विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका रेग्मी विगत लामो समयदेखि श्रीमती, एक छोरा र एक छोरीसहित जापानमा बसोबास गर्दै आउनुभएको छ। उहाँ जापानमा पर्यटन व्यवसायमा सक्रिय हुनुका साथै नेपाली समुदायका विभिन्न सामाजिक, शैक्षिक तथा परोपकारी गतिविधिमा निरन्तर योगदान दिँदै आउनुभएको समाजसेवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आफ्नो जन्मथलोको शिक्षाको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यस अक्षयकोषबाट आर्थिक रूपमा विपन्न तर अध्ययनमा मेहनती विद्यार्थीहरूले दीर्घकालीन रूपमा लाभ प्राप्त गर्ने विश्वास गरिएको छ।

अक्षयकोष स्थापना कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिस्ने गाउँपालिका–५ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सूर्य नेपालीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन भगवती गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक लोकेन्द्र बुढाथोकीले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अक्षयकोषका संस्थापक बिशेश्वर रेग्मीसहित उहाँका बुवा लोकप्रसाद रेग्मी, श्रीमती रोशु श्रेष्ठ रेग्मी, छोरी तथा परिवारका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, पूर्वप्रधानाध्यापक नलबहादुर थापा, स्थानीय बुद्धिजीवी चेताराम नेपाली, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले बिशेश्वर रेग्मीको योगदानको उच्च प्रशंसा गर्दै शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले दिवंगत आमाको स्मृतिलाई समाजसेवासँग जोड्दै अक्षयकोष स्थापना गरी शिक्षा क्षेत्रमा अनुकरणीय योगदान पुर्‍याएकोमा रेग्मी परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै यस्ता प्रेरणादायी कार्यले अन्य पूर्वविद्यार्थीहरूलाई पनि आफ्नो विद्यालयप्रति योगदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments