• २३ असार २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
समुदायले फर्कायो पञ्चरामको खुशीः तीन दशकपछि पाए लालपूर्जा




रुकुमपश्चिम। सार्वजनिक हितका लागि गरिएका कार्यको परिणाम प्रायः सकारात्मक हुन्छ। तर, कहिलेकाहीँ यस्ता कार्यले सम्बन्धित व्यक्तिका लागि वर्षौंसम्म तनाव पनि सिर्जना गर्न सक्छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१० को एक परिवारले झन्डै तीन दशकसम्म यस्तै पीडा भोग्यो। अन्ततः समुदायको सामूहिक प्रयासबाट उक्त समस्या समाधान भएको छ।

विसं २०५३ सालमा मुसिकोट–१० (तत्कालीन चौखाबाङ–७) स्थित मालिका माध्यमिक विद्यालय, चुनमा स्रोत केन्द्रस्तरीय भवन निर्माण गर्ने योजना बन्यो। तर विद्यालय रहेको जग्गा भिरालो भएकाले पक्की भवन निर्माण गर्न उपयुक्त थिएन। त्यसपछि विद्यालयले समथर जग्गा खोज्ने क्रममा पाल्लोपट्टि रहेको पञ्चराम बुढाको जग्गा उपयुक्त देखियो। पञ्चरामको जग्गा भवन निर्माणका लागि अनुकूल थियो भने विद्यालयको भिरालो जग्गाको क्षेत्रफल बढी थियो। त्यसैले पञ्चरामले आफ्नो थोरै क्षेत्रफलको समथर जग्गा दिएर विद्यालयको बढी क्षेत्रफल भएको भिरालो जग्गासँग साटफेर गर्न सहमति जनाए।

जग्गा साटफेर भए पनि मालपोतमा पास गर्ने क्रममा पञ्चरामको जग्गा विद्यालयले खरिद गरेको अभिलेख कायम भयो। तर विद्यालयको जग्गा भने पञ्चरामको नाममा दर्ता हुन सकेन। परिणामस्वरूप उनले विद्यालयको जग्गा भोगचलन गरे पनि आफ्नो नामको लालपूर्जा गुमाउनुपर्‍यो। यो समस्या समाधानका लागि विभिन्न तहमा पटक–पटक प्रयास गरिए पनि सफलता मिलेन। पछिल्ला तीन वर्षदेखि समुदायस्तरमा गरिएको निरन्तर पहलले भने सार्थकता पायो र अन्ततः तीन दशकपछि पञ्चरामले आफ्नै नामको लालपूर्जा प्राप्त गर्न सफल भए।

विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गर्न कानुनी रूपमा सम्भव नभएपछि विद्यालयले करिब २० लाख रुपैयाँ बराबरको नयाँ जग्गा खरिद गरी पञ्चराम बुढाको परिवारलाई लालपूर्जा हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक खड्कसिंह कठायतले जानकारी दिनुभयो। उहाँका अनुसार २९ वर्ष पुरानो समस्या समाधान गर्न विभिन्न दाताले सहयोग गरेका छन्। विशेषगरी पछिल्ला तीन वर्षदेखि योजनाबद्ध रूपमा काम गर्दै मुसिकोट–१० का वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक धनबहादुर खड्काले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

यस अभियानमा पूर्व वडा अध्यक्ष गोप्यश्वर केसी, पूर्व गाविस उपाध्यक्ष एक्कबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शोभा परियार, शिक्षक–अभिभावक संघका पदाधिकारी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर कठायत, शेरकुमार खड्का, शिवराम खड्का तथा दाताहरू जीतबहादुर खड्का, कमलबहादुर महत, नरबहादुर बिष्ट, तुकमाली बिष्ट, लोकेन्द्र कठायत, महेश कठायत, दीपक केसी, अविनाश बुढा, लोकबहादुर कठायत लगायतको महत्वपूर्ण योगदान रहेको प्रधानाध्यापक कठायतले बताउनुभयो।

२०७९ सालको स्थानीय तह निर्वाचनपछि धनबहादुर खड्का वडा अध्यक्षमा निर्वाचित भएसँगै विभिन्न स्रोतबाट सहयोग सङ्कलन गर्ने अभियान सुरु गरिएको थियो। दाताहरूको सहयोग, स्थानीयवासीको श्रमदान, देउसी–भैलो, टोल विकास संस्था तथा उपभोक्ता समितिहरूको योगदानबाट करिब २३ लाख रुपैयाँ सङ्कलन गरिएको थियो। सो रकममध्ये केही यसै प्रयोजनका अन्य कार्यमा खर्च गरिएको र बाँकी करिब १९ लाख रुपैयाँको लगानीमा नयाँ जग्गा खरिद गरी पञ्चराम बुढालाई सोधभर्ना गर्न सफल भएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो।

“यसलाई मैले आफ्नो कार्यकालको मेगा परियोजनाका रूपमा लिएको छु,” वडा अध्यक्ष खड्काले भन्नुभयो, “पञ्चराम बुढाले समुदायको हितका लागि जग्गा उपलब्ध गराउँदा वर्षौंसम्म तनाव व्यहोर्नुपरेको थियो। अहिले भने समुदायकै सहयोगबाट उहाँको परिवारमा खुशी फर्किएको छ। जनताले चाहेमा जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने यो प्रेरणादायी उदाहरण बनेको छ।”

यसैबीच विद्यालयले एक कार्यक्रम गरी जग्गादातालाई नयाँ व्यवस्थापन गरिएको जग्गाको पूर्जा हस्तान्तरण गर्नुका साथै दाताहरुलाई सम्मान गरेको छ । नगर प्रमुख महेन्द्र केसीबाट दाताहरुलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा एसइइ उत्तीर्ण विद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो ।

Facebook Comments