• २१ असार २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
श्री हरीहर शिव मन्दिरको चौथो वार्षिक उत्सव सम्पन्न, संस्थापकहरूले गरेको योगदानको उच्च प्रशंसा




घोराही । घोराही उपमहानगरपालिका–१५, विकासनगर टोलस्थित श्री हरीहर शिव मन्दिरको चौथो वार्षिक उत्सव धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष बम कुमारी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगी प्रमुख अतिथि तथा मेचीकाली विद्यालयका प्लस टु संयोजक विष्णु प्रसाद अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रमको सुरुवात मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष लक्ष्मी गुप्ताको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रमको सञ्चालन समितिकी सचिव अनिता अधिकारी वलीले गर्नुभएको थियो। कार्यक्रममा समितिकी कोषाध्यक्ष सुनिता वलीले मन्दिरको आय–व्यय तथा आर्थिक अवस्थासम्बन्धी विस्तृत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

वार्षिक उत्सवको अवसरमा मन्दिरको विकास, संरक्षण तथा धार्मिक गतिविधिहरू सञ्चालन गर्न आर्थिक तथा जिन्सी सहयोग गर्ने विभिन्न दाता तथा सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। साथै मन्दिर निर्माण समिति, पूर्व अध्यक्ष तथा मन्दिर स्थापना र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई पनि सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।कार्यक्रममा पण्डित भक्तबच्चल चैतन्यदासको मुखारविन्दबाट भगवान शिवको महिमा, शिवलीला तथा धार्मिक महत्वसम्बन्धी कथा वाचन गरिएको थियो। कथा श्रवणका लागि उपस्थित भक्तजनहरू आध्यात्मिक वातावरणमा रमाएका थिए। त्यसैगरी भजन टोलीले भगवान शिवप्रति समर्पित भजन प्रस्तुत गरी कार्यक्रमलाई थप भक्तिमय बनाएको थियो। कार्यक्रममा अतिथिका रूपमा सहभागी विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीले मन्दिर स्थापनाको सुरुआती चरणमा भएका संघर्ष र चुनौतीहरूको स्मरण गर्दै संस्थापकहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले विकासनगर टोलमा धार्मिक आस्थाको केन्द्र निर्माण गर्ने सपना बोकेर केही व्यक्तिहरूले कठिन परिस्थितिका बीच मन्दिर निर्माण अभियान अघि बढाएको उल्लेख गर्नुभयो।

उहाँले आफ्नो मन्तव्यमा भन्नुभयो, “आज हामीले भव्य रूपमा चौथो वार्षिक उत्सव मनाइरहेका छौं, तर यो अवस्थासम्म आइपुग्न धेरै संघर्ष र त्याग आवश्यक परेको थियो। मन्दिर निर्माणका लागि आर्थिक स्रोत जुटाउन, स्थानीयवासीलाई एकजुट बनाउन र आवश्यक संरचना निर्माण गर्न संस्थापक पदाधिकारी तथा अग्रजहरूले दिनरात खट्नुभएको थियो। उहाँहरूको मेहनत, समर्पण र दृढ इच्छाशक्तिकै परिणामस्वरूप आज श्री हरीहर शिव मन्दिर विकासनगरवासीहरूको आस्था र विश्वासको केन्द्र बन्न सफल भएको छ।”

अध्यक्ष वलीले मन्दिरको संस्थापक अध्यक्षको रूपमा आफूले जिम्मेवारी सम्हाल्दा भोग्नुपरेका विभिन्न चुनौतीहरूको समेत चर्चा गर्दै धार्मिक संरचनाको निर्माण केवल भौतिक विकासको विषय नभई समुदायलाई एकताबद्ध बनाउने अभियान भएको बताउनुभयो। उहाँले मन्दिरको संरक्षण र विकासका लागि आगामी दिनमा पनि सबैको साझा सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, दाता, शुभेच्छुक तथा ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले मन्दिरले धार्मिक गतिविधिसँगै सामाजिक सद्भाव, संस्कृतिको संरक्षण तथा समुदायबीचको एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष बम कुमारी पुनले मन्दिरको चौथो वार्षिक उत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, भक्तजन, स्वयंसेवक, अतिथि तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मन्दिरलाई आगामी दिनमा अझ व्यवस्थित, सक्रिय र धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्कृष्ट उदाहरणका रूपमा रहेको श्री हरीहर शिव मन्दिरको चौथो वार्षिक उत्सव श्रद्धा, भक्ति र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Facebook Comments