• २० असार २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु एजुकेशनल एकेडेमीमा अभिभावक प्रशिक्षण तथा अभिभावक संघ गठन




घोराही, दाङ । घोराही उपमहानगरपालिका–१५ स्थित ज्ञानसिन्धु एजुकेशनल एकेडेमी मा अभिभावकहरूको क्षमता अभिवृद्धि, सकारात्मक अभिभावकत्वको विकास तथा विद्यालय–अभिभावक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले अभिभावक प्रशिक्षण तथा अभिभावक संघ गठन कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद शर्मा को अध्यक्षतामा आयोजित कार्यक्रममा लाइफ कोचिङ एकेडेमी का प्रशिक्षक देशराज दाहाल ले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले सकारात्मक अभिभावकत्व, बालबालिकासँग प्रभावकारी संवाद, अनुशासन, नैतिक शिक्षाको महत्व, डिजिटल युगमा अभिभावकको भूमिका तथा घर–विद्यालयबीचको सहकार्यलाई प्रभावकारी बनाउने उपायबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक हेमराज पौडेल ले गुणस्तरीय शिक्षा प्रवाहका लागि विद्यालय र अभिभावकबीचको साझेदारी अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकास, शैक्षिक उपलब्धि अभिवृद्धि तथा सकारात्मक सिकाइ वातावरण निर्माणका लागि यस्ता अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो।

कार्यक्रमको दोस्रो चरणमा विद्यालयको ९ सदस्यीय अभिभावक संघ सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा विमला पौडेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा रमेश प्रसाद कोइराला, निशा बि.के., सीमा बि.के., सुवर्णा देवकोटा र कमला पुन चयन हुनुभएको छ। समितिको सदस्य–सचिवमा विनोद ओली रहनुभएको छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद शर्मा तथा प्रधानाध्यापक हेमराज पौडेल पदेन सदस्यका रूपमा रहने विद्यालयले जनाएको छ।

नवगठित अभिभावक संघले विद्यालय र अभिभावकबीच समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन, शैक्षिक उन्नयन तथा विद्यालयको समग्र गुणस्तर अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी अभिभावकहरूले प्रशिक्षणलाई व्यवहारिक, समयसापेक्ष र अत्यन्त प्रेरणादायी भएको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमले बालबालिकाको समग्र विकासका साथै घर र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

Facebook Comments