तुलबहादुर कवँर मगर
भालुबाङ। दाङको राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमकाबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कपडा बैंकको शुभारम्भ गर्नुभएको हो।
राप्ती गाउँपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने कपडाको व्यवस्थापन तथा आवश्यक व्यक्तिसम्म निःशुल्क वितरण गर्ने उद्देश्यले गाउँपालिकाको कार्यालय परिसरमा कपडा बैंक स्थापना गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले प्रयोग गर्न मिल्ने कपडा घरमा थन्क्याएर राख्नु भन्दा आवश्यक व्यक्तिसम्म पुर्याउनु मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले कपडा बैंकमार्फत आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा आवश्यकतामा रहेका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो।
“हुनेले दिने र नहुनेले लिने” अवधारणामा आधारित कपडा बैंकले समाजमा सहयोग, सद्भाव र साझेदारीको संस्कार विकास गर्ने उहाँको भनाइ थियो। विकसित देशहरूमा पनि गाँस, बास र कपासजस्ता मानिसका आधारभूत आवश्यकताका विषयमा सरकार र समुदाय दुवैले सहयोग गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष विष्टले नेपालमा पनि यस्ता सामाजिक अभियानलाई व्यापक बनाउन आवश्यक रहेको बताउनुभयो।
उहाँले गाँस, बास, कपडा, स्वास्थ्य र शिक्षा नागरिकका आधारभूत आवश्यकता भएकाले यस्ता अभियानले सामाजिक सुरक्षा र मानव कल्याणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
कार्यक्रममा क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशव्यापी रूपमा कपडा बैंक स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले दुई वर्षको अवधिमा देशका २ सय ७ स्थानीय तहमा कपडा बैंक स्थापना गरिसकेको छ भने २७ जिल्लामा आफ्नो अभियान विस्तार गरेको छ।
जिसीले हालसम्म संकलित कपडामार्फत २ लाखभन्दा बढी व्यक्तिलाई सहयोग गरिएको तथा करिब ६० करोड रुपैयाँ बराबरको कपडा वितरण भइसकेको जानकारी दिनुभयो। उहाँले विपन्न वर्गका नागरिक मात्र नभई आवश्यक पर्ने जोसुकैले पनि कपडा बैंकबाट कपडा लिन सक्ने व्यवस्था रहेको बताउनुभयो।
प्रयोगयोग्य कपडाको पुनः प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न समेत मद्दत पुग्ने उहाँको भनाइ थियो।
उहाँका अनुसार कपडा बैंकमा सर्वसाधारण, कर्मचारी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाबाट संकलित प्रयोगयोग्य कपडा राखिनेछ। आवश्यक व्यक्तिले त्यहाँबाट निःशुल्क रूपमा कपडा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
