दाङ । बंगलाचुली गाउँपालिकाका पूर्व अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भक्तबहादुर वली ले आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका वलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै बंगलाचुलिका नागरिकको विश्वास, साथ र आग्रहलाई आत्मसात् गर्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्।
उनले आफ्नो अघिल्लो कार्यकालमा गाउँपालिकाको विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी सेवा प्रवाहका लागि इमानदार प्रयास गरेको उल्लेख गर्दै अब बाँकी रहेका विकासका कामलाई पूर्णता दिन तथा नयाँ सम्भावनाहरूको खोजी गर्न आफू पुनः निर्वाचनमा होमिएको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा वलीले आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि नभई विगतको अनुभवलाई अझ प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, आत्मनिर्भर र सुशासित बंगलाचुलि निर्माण गर्ने उद्देश्यका साथ अघि बढेको उल्लेख गरेका छन्।
उनले विकासलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर सबै नागरिकको साझा हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राख्दै समावेशी तथा जनमुखी स्थानीय सरकार निर्माणका लागि निरन्तर समर्पित रहने उनको भनाइ छ।
साथै, आगामी निर्वाचन अभियानमा बंगलाचुलिवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा युवा पुस्तासँग साथ, सुझाव, विश्वास र आशीर्वादको अपेक्षा गर्दै सबै मिलेर समृद्ध, सक्षम र नमुना बंगलाचुलि निर्माण गर्ने अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
वलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशलाई आगामी स्थानीय तह निर्वाचन लक्षित औपचारिक राजनीतिक घोषणाका रूपमा हेरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
