• १६ असार २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दंगाली मोडल नारायणी खत्रीलाई ‘उत्कृष्ट लोकदोहोरी महिला मोडल’ अवार्ड




दाङ। दाङकी चर्चित लोकदोहोरी मोडल नारायणी खत्री १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ मा ‘उत्कृष्ट लोकदोहोरी महिला मोडल’को प्रतिष्ठित उपाधिबाट सम्मानित भएकी छिन्। संघीय राजधानी काठमाडौंमा आइतबार आयोजित भव्य समारोहमा उनले ‘करिमैले बोल’ बोलको गीतमार्फत उक्त अवार्ड आफ्नो नाममा पार्न सफल भएकी हुन्।

नेपाली संगीत क्षेत्रकै प्रतिष्ठित अवार्डका रूपमा परिचित म्युजिक खबर म्युजिक अवार्डको १३औँ संस्करणमा उत्कृष्ट लोकदोहोरी महिला मोडल विधामा खत्रीले उत्कृष्ट प्रस्तुति दिँदै निर्णायक र दर्शकको मन जितेकी हुन्। लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी उनले आफ्नो सशक्त अभिनय, स्वाभाविक अभिव्यक्ति र मौलिक प्रस्तुतिका कारण यो सम्मान प्राप्त गरेकी हुन्।

यसअघि पनि उनी म्युजिक खबर म्युजिक अवार्डको ११औँ संस्करणमा उत्कृष्ट लोकदोहोरी महिला मोडलको उपाधि जित्न सफल भएकी थिइन्। पुनः सोही विधामा अवार्ड जित्दै उनले नेपाली लोकदोहोरी भिडियोमा आफ्नो सशक्त उपस्थितिलाई थप स्थापित गरेकी छन्।

यस वर्षको उत्कृष्ट लोकदोहोरी महिला मोडल विधामा कडा प्रतिस्पर्धा रहेको थियो। ‘सेतै दुध सेतै चौलानी’बाट करिष्मा ढकाल, ‘मेरो परान’बाट जुना विश्वकर्मा, ‘हिमाली फूल’बाट रविना भण्डारी तथा ‘माया मोह’बाट सुस्मिता गुरुङ मनोनयनमा रहे पनि अन्ततः ‘करिमैले बोल’ गीतबाट नारायणी खत्री विजेता घोषित भएकी हुन्।

अवार्ड ग्रहण गर्दै खत्रीले आफूलाई निरन्तर माया, विश्वास र साथ दिने दर्शक, शुभचिन्तक, गीतका सर्जक, गायक–गायिका, निर्माता तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गरिन्। उनले यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरणा मिलेको बताउँदै नेपाली लोकसंस्कृति र लोकदोहोरी संगीतको प्रवर्द्धनमा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाइन्।

दाङबाट आफ्नो कलायात्रा सुरु गरेकी नारायणी खत्री पछिल्ला वर्षहरूमा नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय र व्यस्त मोडलमध्ये एकका रूपमा स्थापित भएकी छन्। दर्जनौँ चर्चित गीतका भिडियोमा अभिनय गरिसकेकी उनले आफ्नो स्वाभाविक अभिनय, आकर्षक अभिव्यक्ति र मेहनतका कारण दर्शकमाझ छुट्टै पहिचान बनाएकी छन्।

उनको यो सफलताले दाङसहित समग्र नेपाली लोकदोहोरी क्षेत्रलाई थप उत्साहित बनाएको कलाकार तथा संगीतकर्मीहरूले बताएका छन्।

Facebook Comments