दाङ । दाङका प्रतिभाशाली बाल कलाकार युनिस घिमिरे संघीय राजधानी काठमाडौंमा आयोजित १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ मा ‘बाल प्रोत्साहन सम्मान’ बाट सम्मानित भएका छन्। नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रकै प्रतिष्ठित अवार्डका रूपमा परिचित म्युजिक खबर म्युजिक अवार्डले बाल उमेरमै कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका घिमिरेलाई सम्मान प्रदान गरेको हो।
आइतबार सम्पन्न भव्य समारोहमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अग्रज कलाकार मोहन निरौला, आयोजक संस्थाका अध्यक्ष सुमन पण्डित तथा कार्यक्रम संयोजक सबिता पोख्रेलले संयुक्त रूपमा युनिसलाई दोसल्ला, माला, ट्रफी, ढाका टोपी र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए।
सम्मान ग्रहणसँगै युनिसले कार्यक्रममा आफ्नो आकर्षक एकल नृत्यसमेत प्रस्तुत गरेका थिए। उनको ऊर्जावान प्रस्तुति, आत्मविश्वासपूर्ण नृत्यशैली र बाल प्रतिभाले कार्यक्रममा उपस्थित दर्शक, कलाकार तथा अतिथिहरूको मन जितेको थियो। उपस्थित धेरैले उनको प्रस्तुति खुलेर प्रशंसा गरेका थिए।
दाङबाट आफ्नो कलायात्रा सुरु गरेका युनिसले सानै उमेरदेखि लोकसंगीत र नृत्य क्षेत्रमा सक्रियता देखाउँदै आएका छन्। उनले ‘लाजको पर्दा‘, ‘पैसा फुल्ने बुटो’ तथा चर्चित गीत ‘मकैबारी दर्याम–दर्याम’ को चाइल्ड भर्सनमा अभिनय तथा नृत्यमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाएका छन्। यी गीतहरूमा देखाएको स्वाभाविक अभिनय र नृत्यका कारण उनी बाल कलाकारका रूपमा लोकप्रिय बन्दै गएका छन्।
गीतका म्युजिक भिडियोमा मात्र सीमित नभई युनिसले विभिन्न सांस्कृतिक कार्यक्रम, महोत्सव तथा स्टेज कार्यक्रममा समेत नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएका छन्। उनको प्रतिभा र मेहनतले सानै उमेरमा राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्न सफल भएको कलाकारहरूले बताएका छन्।
दाङका धिरज घिमिरे र लिला अधिकारीका सुपुत्र युनिसको जन्म २०७२ साल फागुन १६ गते दाङमा भएको हो। परिवारको साथ, निरन्तर अभ्यास र कलाप्रतिको लगावले उनी आज बाल कलाकारका रूपमा स्थापित हुने यात्रामा अघि बढिरहेका छन्।
दाङबाट राष्ट्रिय मञ्चसम्म पुगेर सम्मानित हुनु जिल्लाकै लागि गौरवको विषय बनेको छ। युनिसले प्राप्त गरेको यो सम्मानले दाङमा रहेका अन्य बाल प्रतिभालाई समेत कला क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
बाल उमेरमै राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेका युनिस घिमिरेले आगामी दिनमा अभिनय, नृत्य र नेपाली संगीत क्षेत्रमा अझ उत्कृष्ट योगदान दिने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
