• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
समृद्ध गढवाको लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक




आलोक भावुक
दाङ । दाङ देउखुरीको गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोगमार्फत समृद्ध गढवा निर्माण गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ।

गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन, शिक्षा तथा मानव पूँजी विकास, स्वास्थ्य तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, रोजगार र सीप विकास, उद्योग–व्यापार तथा सहकारी, पर्यटन, कला–संस्कृति संरक्षण, सुशासन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा समेटिएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजार व्यवस्थापनमार्फत कृषकको आयस्तर वृद्धि गर्ने योजना अघि सारिएको छ भने शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण सिकाइ र मानव पूँजी विकासमा लगानी बढाइने जनाइएको छ। स्वास्थ्य तथा पोषण क्षेत्रमा मातृ–शिशु स्वास्थ्य, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।

त्यस्तै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यम विकासमार्फत उत्पादनशील क्षेत्रमा आबद्ध गराइने, स्थानीय उद्योग, व्यापार तथा सहकारी क्षेत्रलाई प्रवर्द्धन गरिने तथा पर्यटन, कला र संस्कृतिको संरक्षणमार्फत स्थानीय पहिचानलाई सुदृढ बनाइने उल्लेख गरिएको छ। सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइएको छ भने सडक, पुल, भवन, खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणलाई निरन्तरता दिइने भएको छ।

गाउँसभामा उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वरिष्ठ लेखा अधिकृत खिमलाल वली, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, पत्रकार, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

गाउँसभाको अर्को बैठक असार ७ गते बस्ने तय भएको छ। उक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट, योजना तथा कार्यक्रममाथि विस्तृत छलफल गरी आवश्यक निर्णय गरिने प्रमुख प्रशासकीय अधिकृत पौड्यालले जानकारी दिनुभयो।

Facebook Comments