जीवनप्रवेश रोकामगर
विषय प्रवेश
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज भएको देश हो। यहाँका आदिवासी जनजातिहरूले हजारौँ वर्षदेखि प्रकृतिसँग सहअस्तित्वमा आधारित जीवनशैली विकास गरेका छन्। मगर समुदाय नेपालको कुल जनसंख्याको तेस्रो र आदिवासी जनजाति समुदायमध्ये सबैभन्दा बढी (२०,१३,४९८) जनसंख्या भएको समुदाय हो, जुन नेपालको कुल जनसंख्याको ६.९ प्रतिशत हुन आउँछ। मगर समुदाय विशेष गरी पश्चिम नेपालका राप्ती, भेरी र कालीगण्डकी जलाधार क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आएको पाइन्छ।
यहाँ यही असार १ गते मगर समुदायले प्रकृतिको पूजा गरेर मनाउने ‘नाम्क’ पर्वका बारेमा चर्चा गरिएको छ। यो सामग्री आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सन् २०२५ (वि.सं. २०८२) मा रोल्पाको थबाङमा गरिएको अनुसन्धानात्मक कार्यमा आधारित छ, जसको शीर्षक “रोल्पा जिल्लामा मनाइने नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्ग्या नाचसम्बन्धी एक अध्ययन” रहेको थियो। सोही अनुसन्धानात्मक लेखको सारका रूपमा यो आलेख प्रस्तुत गरिएको छ।

मगर समुदायले पुस्तौँदेखि प्रकृतिप्रति सम्मान, सामुदायिक एकता र सांस्कृतिक मौलिकतालाई जीवनशैलीको अभिन्न अङ्ग बनाउँदै आएका छन्। यसै सन्दर्भमा रोल्पा जिल्ला आदिवासी मगर समुदायको ऐतिहासिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित छ। यहाँका सामाजिक संरचना, बस्ती प्रणाली तथा सांस्कृतिक अभ्यासहरू एकआपसमा गहिरो रूपमा अन्तरसम्बन्धित छन् र यी अभ्यासहरू आज पनि सामुदायिक जीवनको अभिन्न हिस्साका रूपमा जीवितै छन्। रोल्पा लुम्बिनी प्रदेशको एक ऐतिहासिक, सांस्कृतिक र राजनीतिक चेतनाको केन्द्र मात्र होइन, बरु नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनाका लागि भएको तत्कालीन १० वर्षे जनयुद्धको उद्गम स्थलका रूपमा समेत परिचित छ।
नाम्क: उत्पत्ति, शाब्दिक र सांस्कृतिक अर्थ
नाम्क पर्व आदिवासी मगरहरूले बाढी-पहिरो नआओस्, पृथ्वीमा कुनै प्रकारको प्राकृतिक प्रकोप र महाविपत्ति आइंनलागोस् र विश्व मानवको कल्याण होस् भनी भूमिको पूजा र आराधना गरेर मनाउने सांस्कृतिक चाड हो। यो चाड विशेष गरी रोल्पा र पूर्वी रुकुममा मनाउने गरिन्छ। हाल आन्तरिक तथा बाह्य बसाइँसराइ र सांस्कृतिक आदानप्रदानका कारण दाङ, पोखरा, काठमाडौँ जस्ता सहरहरूका साथै बेलायत, अमेरिका, जापान, कोरिया र कतार लगायतका देशहरूमा पनि यो चाड हर्षोल्लासका साथ मनाउन थालिएको छ।
भूम्या पूजा: भूमिको सम्मान र संरक्षणको सन्देश
नाम्क पर्वको मुख्य पक्ष भूम्या पूजा हो। आदिवासी मगर समुदायको विश्वास अनुसार भूमि सम्पूर्ण जीवको जीवनदाता हो। भूम्या पूजामा गाउँका पुजारीको नेतृत्वमा भूमि, वन, जलस्रोत र प्राकृतिक शक्तिहरूको पूजा गरिन्छ। यस अवसरमा राम्रो वर्षा, उर्वर भूमि, प्रशस्त उत्पादन, रोगव्याधिबाट मुक्ति तथा समुदायको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। अन्न, पानी, वनस्पति तथा जीवजन्तुको अस्तित्व भूमिमै निर्भर हुने भएकाले भूमिलाई देवत्वका रूपमा सम्मान गरिन्छ।
परापूर्वकालमा औँसीको अघिल्लो दिन र आजभोलि जेठ मसान्तको दिन रोका खलकका पुजारीले चोखो भएर पानीको मुहान, भिर, पहरा, कोप्चेरा, जङ्गल र बराह थानमा धारधुप हाल्दै जाने चलन छ। अर्कोतर्फ, गाउँका ‘मुलथाङ्गे’ र ‘मुलथाङ्गेनी’ हरू (सांस्कृतिक अगुवा युवा-युवती) करिब ३५ सय मिटरको अग्लो बुकी (लेक) मा बैँसको फूल टिप्न जान्छन्। त्यहाँबाट धुपी सल्ला प्रजातिको ‘भूम’ भनिने सल्लाको बोट काटेर, त्यसको टुप्पोमा धजा बाँधेर ल्याउने गरिन्छ। यसरी ल्याइएको भूमको रूखलाई भूम्या देवताको प्रतीक मानिन्छ, जसलाई स्थानीय भाषामा ‘मुर्ला’ भनिन्छ। मुर्लालाई नाम्क पर्व अवधिभर नोकोबाङ्ग्या नाचिने खुला चौरको बीचमा गाडेर राखिन्छ र त्यसैलाई केन्द्रमा पारी महिला र पुरुषहरूले गोलो घेरा बनाएर नाच्ने गर्दछन्। यस भूम र मुर्लासँग विभिन्न ऐतिहासिक तथा सांस्कृतिक मिथकहरू जोडिएका छन्।

रोल्पाको थबाङमा भूम्या पूजाका लागि ‘नामचुन’ बसाल्ने विशेष परम्परा छ। आदिम कालमा मानव भोग (बलि) दिएर सिम्या-भूम्याको पूजा गरिने गरिएको केही मिथकहरू पाइन्छन्। थबाङमा अहिले पनि गाउँको सबैभन्दा उमेर जेठो मानिसलाई बलि दिने ठाउँमा ‘नामचुन’ बसाल्ने गरिन्छ। ‘नामचुन’ मगर खाम शब्द हो, जहाँ ‘नाम’ को अर्थ जमिन र ‘चुन’ को अर्थ अचानो हुन्छ। आजभोलि भूम्या थानमा बोकालाई मन्छाएर बलि दिने ठाउँमा ल्याइपुर्याउँदा त्यो नामचुनलाई लुकाएर बोकाको बलि दिने गरिन्छ। यसका केही मिथक र सङ्केतहरूलाई केलाउँदा, प्राचीन समयमा दिइने मानव बलि जबर्जस्ती नभई, आफ्नो गाउँ र मानिसहरूको रक्षाका लागि गाउँका अगुवाले ‘ज्यामो ओयाल ङाबारी’ (म हाँसीहाँसी बलिदान हुन तयार छु) भन्दै ओर्लिएको स्वेच्छिक बलिदानी भाव हुनसक्ने देखिन्छ। यद्यपि यसको थप विस्तृत अनुसन्धान हुन आवश्यक छ।
पूजा गरिने बोका वा साँढलाई मगर खाम भाषामा ‘भूम्या झान्या’ भनिन्छ। तर, आजभोलि मगर खाम भाषाको मौलिकता हराउँदै जाँदा यसको ‘खस-नेपालीकरण’ भइरहेको छ। विभिन्न मगर तथा गैरमगर सङ्घ-संस्थाहरूले चाडको नाम पनि ‘भूमे’ र नाचको नाम पनि ‘भूमे नाच’ लेखेर यसको मौलिकतालाई ओझेलमा पार्दै लगेका छन्। मगर खाम लवजमा उच्चारण गर्दा ‘भूम्या’ भनिन्छ भने खस नेपाली बोल्ने र लेख्नेहरूले यसलाई ‘भूमे’ लेख्ने गरेका हुन्। मगर खाम भाषामा क्रियाको पछाडि ‘न्या’ (जस्तै: जैन्या, रैन्या, पैन्या) र क्रियाविशेषणको पछाडि ‘ग्या’, ‘म्या’, ‘ङ्या’ आदि जोडिन्छ। खस नेपालीमा भने क्रियाको पछाडि ‘ने’ (जस्तै: लेख्ने, खाने, गर्ने) जोडिन्छ। त्यसैले खाम मातृभाषा नभएका र नेपालीमा मात्र लेख्ने अभ्यास भएकाहरूले ‘भूम्या’ को सट्टा ‘भूमे’ लेखेर मगर खामको मौलिकतामा खसकरण गरिरहेको देखिन्छ।

यस चाडको गहिराइ र महत्त्व नबुझेका, मगर इतिहास र सभ्यताको अध्ययन नगरेका कतिपय नेतृत्वकर्ताहरूबाट नै सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुको साटो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर विकृत बनाउने काम भइरहेको छ। यस्ता सांस्कृतिक शब्दहरूको अपभ्रंश हुँदै जाँदा कालान्तरमा चाडको मौलिक पहिचान नै मेटिने वा ‘अन्यकरण’ हुने खतरा देखिन्छ।
नोकोबाङ्ग्या नाच: सांस्कृतिक गौरवको जीवन्त अभिव्यक्ति
नाम्क पर्वको अर्को महत्त्वपूर्ण र आकर्षक पक्ष ‘नोकोबाङ्ग्या नाच’ हो। लेकबाट फूल र ‘मुर्ला’ लिएर फर्किएका मुलथाङ्गे र मुलथाङ्गेनीहरू तथा धारधुप हालेर फर्किएका पुजारीहरूले गाउँको सिमानामा आइपुगेपछि ‘न्याहो’ (एक प्रकारको विशेष सांस्कृतिक गायन) गाउँछन्। त्यसपछि भूमिको पूजा गरी मुर्ला गाडिएको खुला चौरमा सबै गाउँले जम्मा हुन्छन्। यस नाचमा भित्री घेरामा पुरुष र बाहिरी घेरामा महिलाहरू बसेर नाच्ने गर्दछन्। यो मेलामा उपस्थित सयौँ-हजारौँ मानिसहरू एकैचोटि गोलबन्द भएर नाच्ने एउटा वृहत् सामुदायिक नाच हो।
Screenshot[/caption]
परम्परागत रूपमा यस नाचका २२ वटा भिन्न ताल र २२ वटा ‘चाला’ (स्टेप/चाल) हरू हुन्थे। तर, आजभोलि कतिपय गाउँमा ९ चाला, कतै ७ चाला त कतै ८ चाला मात्र नाच्ने गरिएको पाइन्छ। ती हराएका २२ चालाहरू रोल्पा र रुकुमका विभिन्न गाउँहरूमा छरिएर रहेका हुन सक्छन्, जसको व्यवस्थित अध्ययन र संकलन हुन सकेमा २२ वटै ताल र चालालाई ब्युँताउन सकिने बलियो आधार छ।
यो नाचलाई ठाउँ अनुसार नोकोबाङ्ग्या, लोकोबाङ्ग्या वा नौबाङ्ग्या पनि भनिन्छ। परम्परागत मगर भेषभूषामा सजिएका युवा, वृद्ध, महिला तथा पुरुषहरू सामूहिक रूपमा गोलबद्ध भई दमाहा, छेलम, ट्याम्की, सहनाई र पैजन जस्ता बाजाहरूको तालमा झुमेर नाच्छन्। यस नृत्यले पुस्तान्तरणका माध्यमबाट सांस्कृतिक ज्ञान र पहिचानलाई जीवित राख्ने काम गरेको छ। यसले आजको बदलिँदो सामाजिक परिवेशमा केवल मनोरञ्जनको साधन मात्र नभई आदिवासी मगर समुदायको सांस्कृतिक अस्तित्वको प्रतीकका रूपमा काम गरिरहेको छ।
संरक्षणको आवश्यकता र वर्तमान चुनौतीहरू
विश्वव्यापीकरण र आधुनिक जीवनशैलीको तीव्र प्रभावका कारण धेरै मौलिक संस्कृतिहरू संकटमा परिरहेका बेला नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्ग्या नाच जस्ता अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण अपरिहार्य बनेको छ। यी परम्पराहरूले केवल मगर समुदायको मात्र प्रतिनिधित्व गर्दैनन्, बरु नेपालको बहुसांस्कृतिक पहिचानलाई समृद्ध बनाउने साझा राष्ट्रिय सम्पत्ति हुन्।

वर्तमान समयमा युवा पुस्ताको घट्दो सहभागिता, वैदेशिक रोजगारीका कारण सिर्जित जनशक्ति अभाव, तीव्र बसाइँसराइ, तीव्र आधुनिकीकरण, मौखिक परम्पराको लोप र पर्याप्त अनुसन्धान एवं दस्तावेजीकरणको अभाव यस संस्कृतिका मुख्य चुनौतीहरू हुन्। यद्यपि, पछिल्ला वर्षहरूमा मगर समुदाय र विभिन्न संस्थाहरूले यसको संरक्षण तथा प्रवर्द्धनमा सक्रियता बढाएका छन्।
आगामी दिशा र संरक्षणका उपायहरू
१. संस्थागत अपनत्व: मगर समुदायको साझा सङ्गठन ‘नेपाल मगर सङ्घ’ ले यसलाई संस्थागत रूपमा अपनत्व ग्रहण गर्दै आफ्ना मातहतका समितिहरू मार्फत यसको मौलिक स्वरूपमै आयोजना गर्नुपर्दछ।
२. राष्ट्रिय मान्यता र बिदा: नेपाल सरकारले यसलाई मगरहरूको मौलिक सांस्कृतिक चाडका रूपमा औपचारिक घोषणा गरी असार १ गते ‘भूम्या पूजा’ का लागि सार्वजनिक बिदा दिन पहल गर्नुपर्दछ।
३. शैक्षणिक पाठ्यक्रम: विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रममा मगर संस्कृति, भाषा र इतिहाससम्बन्धी अध्ययन सामग्रीहरू समावेश गरिनुपर्दछ।
४. डिजिटल दस्तावेजीकरण: लोपोन्मुख अवस्थामा रहेका २२ वटा ताल र चालाहरू तथा मौखिक इतिहासलाई डिजिटल माध्यमबाट अडियो-भिडियो रेकर्ड गरी अभिलेखीकरण गरिनुपर्दछ।
५. युवा परिचालन: सांस्कृतिक कार्यक्रमहरूमा युवा पुस्ताको सक्रिय र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्दछ।
निष्कर्ष
असार १ गते मनाइने नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्ग्या नाच आदिवासी मगर समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध, सहअस्तित्व, सामाजिक सद्भाव र सांस्कृतिक गौरवका जीवन्त प्रतीक हुन्। आधुनिकताको तीव्र लहरका बीच यस्ता अमूल्य सांस्कृतिक सम्पदाको मौलिकता नजोगिने गरी संरक्षण र प्रवर्द्धन गर्नु केवल मगर समुदायको मात्र होइन, नेपालको समग्र सांस्कृतिक विविधता र गौरवलाई बचाइराख्नका लागि राज्य र नागरिक समाज दुवैको साझा दायित्व हो।
(लेखक नेपाल मगर सङ्घ केन्द्रीय समितिको भाषिक उपाध्यक्ष तथा नेपाल खुला विश्वविद्यालयमा स्नातक (बी.ए.) तहमा मगर अध्ययन विषयका अध्यापक हुनुहुन्छ।)

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
