राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ ।
पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गर्नुभएको थियो । तर उहाँले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्नुभएकोले निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो । तथापि, गोपाल घिमिरेले शालिकराम घिमिरेलाई समर्थन जनाउनुभएकोले दोस्रो चरणको निर्वाचन नगरी शालिकराम घिमिरेलाई सभापतिमा निर्वाचित गरिएको घोषणा गरिएको रास्वपा नेता डा. बुद्धिप्रसाद शर्माले बताउनुभयो ।

सभापति पदका लागि भएको निर्वाचनमा रुपन्देहीका शालिकराम घिमिरेले १९९ मत, अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत, रुपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रुपन्देहीकी मञ्जु भुसालले ७१ मत र रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गर्नुभएको थियो ।
मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत खसेको थियो । अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको नेता शर्माले बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
