दाङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) लुम्बिनी प्रदेश कार्यसमितिले युवा तथा विद्यार्थीमैत्री नीति तथा कार्यक्रम निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ। नेविसंघ लुम्बिनी प्रदेशका अध्यक्ष कुलराज पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा, युवा तथा सीप विकाससँग सम्बन्धित नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
ज्ञापनपत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरिएको छ। साथै गुणस्तरीय, सर्वसुलभ र समावेशी शिक्षा सुनिश्चित गर्न विशेष बजेट व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि प्रत्येक जिल्लामा पारिश्रमिकसहितको इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्न, सरकारी कार्यालय तथा सार्वजनिक संस्थानमा कार्यानुभव हासिल गर्ने अवसर सिर्जना गर्नुपर्ने माग गरिएको छ।
नेविसंघले सूचना प्रविधि, नवप्रवर्तन, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी युवा तथा विद्यार्थीका लागि सीप विकास, स्वरोजगार र नवप्रवर्तनका अवसर विस्तार गर्नुपर्ने सुझाव दिएको छ। विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई आधारभूत तहसम्म विस्तार गरी गुणस्तर सुधार गर्न, दिवा खाजा रकम वृद्धि गर्न तथा नियमित अनुगमनको व्यवस्था गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
यस्तै सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत भाडा छुटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ। मनसुनजन्य बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने र विपद्का कारण विद्यार्थीको शिक्षामा पर्ने असर कम गर्न विशेष व्यवस्था गर्नुपर्ने सुझाव पनि नेविसंघले दिएको छ।
नेविसंघले विद्यार्थी तथा युवा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयहरू आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गरी प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
