घोराही । विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच ओमोडाको नयाँ मोडल ‘ओमोडा ई५ प्रो’ घोराहीमा सार्वजनिक गरिएको छ। दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थित एन.एल. मोटो कर्पले बुधबार विशेष कार्यक्रमका बीच नयाँ विद्युतीय कार बजारमा ल्याएको हो।
कार सार्वजनिक कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी प्रमुख अतिथि रहेका थिए। उनले पछिल्लो समय इभी (विद्युतीय) सवारीसाधन नेपाली उपभोक्ताका लागि भरपर्दो विकल्प बन्दै गएको बताए। बढ्दो पेट्रोलियम मूल्यका कारण आर्थिक भार कम गर्न विद्युतीय सवारी उपयुक्त माध्यम भएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले स्वदेशमै ऊर्जा खपत बढाउन र विदेशी मुद्रा बचत गर्न विद्युतीय सवारीको प्रयोग विस्तार हुनुपर्ने धारणा राखे।
नेपालका लागि ओमोडा तथा जेइको ब्रान्डका गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालि रहेको छ। एन.एल. मोटो कर्पका सञ्चालक सुदर्शन गिरीका अनुसार नयाँ ओमोडा ई५ प्रो अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उन्नत सुरक्षा सुविधासहित नेपाली बजारमा आएको हो।
गाडीमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री ९९ किलोवाटको इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ। यसले एकपटकको चार्जमा ३५० किलोमिटरसम्म (डब्लुएलटीपी मापदण्डअनुसार) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। १९१ एमएम ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली सडक अवस्थाका लागि उपयुक्त मानिएको छ।
सुरक्षातर्फ १९ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) फिचर तथा ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा जडान गरिएको छ।
ओमोडा ई५ प्रोको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीका अनुसार नेपालमा ओमोडा ई५ का १ हजार ५०० भन्दा बढी युनिट सञ्चालनमा रहेका छन्।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत प्रविन चौधरीले गरेका थिए भने सञ्चालन संगीता गिरीले गरेकी थिइन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
