घोराही । घोराहीस्थि एशिएन वर्ल्ड स्कूलको शिक्षक -अभिभावक संघको अध्यक्षमा पिबी बुढाथोकी चयन हुनुभएको छ । आइतबार स्कूलमा सम्पन्न भएको प्रमथ अभिभावक भेलाले बुढाथोकीलाई नयाँ नेतृत्वमा चयन गरेको हो ।
विद्यालयकी प्रिन्सिपल शान्तिदेवी हमालको अध्यक्षतामा भएको भेलाले दुई वर्षको कार्यकाल लागि बुढाथोकीको नेतृत्वमा सात सदस्यीय शिक्षक-अभिभावक समिति चयन गरेको थियो । जसको उपाध्यक्षमा पवित्रा सुनार रहनुभएको छ ।
विद्यालयको शिक्षक -अभिभावक संघको कार्यविधि २०८३ को आचारसंहितामा रहि जिम्मेवारी पूरा गर्ने उद्देश्यले गठन भएको संघको सदस्य सचिवमा विद्यालयकी प्रिन्सिपल शान्तिदेवी हमाल, कोषाध्यक्ष लेखा शाखा प्रमुख निशा चौधरी, सदस्यहरु ध्रुव बस्नेत, सिर्जना रिजाल र तिला कुमारी बिसी रहनुभएको छ ।
निवर्तमान शिक्षक-अभिभावक संघका अध्यक्ष जानुका बस्नेतले भेलामा पुरानो कार्यसमिति भंग भएको जानकारी दिँदै आगामी दुई वर्षका काम गर्ने नयाँ नेतृत्व घोषणा गर्नुभएको थियो ।
भेलामा उठेको जिज्ञासा तथा गुनासोलाई सम्बोधन गर्दै विद्यालयेकी प्रिन्सिपल शान्तिदेवी हमालले विद्यालयको शैक्षिकसत्रको सुरुवातमै नजिता खोज्न नहुने बताउनुभयो । उहाँले लामो समय विद्यालय बन्द हुँदा बालबालिकाहरुमा पढाइप्रतिको रुचि र इच्छा घट्दै गएको र त्यसलाई पहिलेकै अवस्था फर्काउन केही समय लाग्ने समेत बताउनुभयो । विद्यालयमा बालबालिकालाई पठाएर मात्र नहुने हुँदा घरमा पनि अभिभावकले आफ्ना बालबालिकाहरुको गृहकार्यमा विशेष हेरचाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रिन्सिपल हमालले विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तरसँगै व्यवहारिक शिक्षाका लागि शिक्षण क्रियाकलापलाई थप व्यवस्थित र सिर्जनात्मक बनाएको बताउनुभयो । उहाँले बालबालिकाहरुको पढाइलाई सिर्जनात्मक बनाउनको लागि दैनिक शिक्षण विधिलाई प्रयोगात्मक बढाइएको र बालबालिकाहरुको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिएको समेत स्पष्ट पार्नुभएको थियो ।
विद्यालयका निर्देशक वसन्त रिजालले शैक्षिकसत्र २०८३/०८४ को शैक्षिक योजनाको बारेमा जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा समग्र शैक्षिक उन्नयन हासिल गर्नका लागि विद्यालयको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन शैक्षिक कार्ययोजनाको विषय वस्तुमाथि प्रकाश पार्नुभएको थियो । विद्यालयले शैक्षिक वातावरणलाई मध्यनजर गर्दै विद्यालयको भौतिक पुनर्संरचनामा व्यवस्थित बनाउदै अगाडि बढएको उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुले विद्यालयको पठनपाठन सुरु भएदेखि हालसम्म गरेका शैक्षिक गतिविधिहरुको रिपोर्ट कार्ड प्रस्तुत गरेका थिए । भेलामा विद्यालयका सञ्चालक समिति, शेयर सदस्य, शिक्षक/ शिक्षिका, कर्मचारी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालयका शिक्षक ओमबहादुर रेउले स्वागतबाट सुरुभएको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सिर्जना अधिकारीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
