घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) दाङ जिल्ला समितिको दोस्रोपूर्ण बैठक सम्पन्न भएको छ । पार्टीको आयोजना आज बिहीबार घोराहीस्थित झिंगौरामा सम्पन्न भएको बैठकले राजनीति, संगठन, संघर्ष, उत्पादन सम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको हो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षता एवं पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले राजनीतितर्फ आगामी जेठ ५ गतेदेखि असार ५ गतेसम्म एक महिने जनभेटघाट अभियान सञ्चालन गर्ने र सोही अभियान अन्तर्गत मतदाताहरु धन्यवाद ज्ञापन गर्ने तथाअ पालिकास्तरमा बहस सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै संगठनतर्फ पालिका र वडा कमिटीलाई सम्मेलन आयोजक कमिटीमा बदल्ने, संगठन अधिवेशनका लागि पार्टी सदस्यता नवीकरण गर्ने, भान्द्र १४ गतेसम्म वडका भेला/सम्मेलन गर्ने र भाद्र मसान्तसम्म पालिका भेला/सम्मेलन गर्ने निर्णय भएको छ । जसमा १५ गते बबई , १६ गते शान्तिनगर, १७ गते दंगीशरण, १८ गते तुलसीपुर, २० गते घोराही, २२ गते लमही, २३ गते राजपुर, २४ गते गढवा र २५ गते राप्ती गाउँपालिकामा भेला/ सम्मेलन गर्ने बैठकले निर्णय लिएको हो ।
बैठकले सुकुम्बासी संघर्ष समितिका संयोजकमा विकास सीलाई जिम्मेवार तोकेको छ । त्यसैगरी जिल्लामा संघर्षतर्फ धानखोला- लमही ४ लेन सडकखण्डको राष्ट्रिय सहमति बिना अगाडि बढे त्यसको विरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय भएको पार्टीले जानकारी दिएको छ ।
उत्पादनमा सामूहिक उत्पादनलाई विशेष जोड दिने, हरेक पालिकाले अनुकूल हेरेर आयस्रोत मूलक उत्पादनलाई जोड दिने र उत्पादनलाई नाफामुखी बनाउने निर्णय भएको समेतले पार्टीले जनाएको छ ।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीले नेपाल नेपाली विशेषताको समाजवाद ल्याउने पार्टी लक्ष्य कायमै रहेकोे बताउनुभयो । उहाँले पार्टी एकीकृत जनक्रान्तिकै लाइनमा रहेको कुरामा जोड दिँदै पार्टीले चुनावलाई क्रान्तिको संघर्षको रुपमा उपयोग गरेको बताउनुभयो । चुनाव उपयोगमा परिणाम राम्रो नआएकै कारण पार्टीका नेताकार्यकर्ताहरु निराश नहुन उहाँले आग्रह गर्नुभयो ।
बैठकका प्रमुख वक्ता समेत रहनुभएको सन्तोषले पार्टीको मुद्दा र एजेन्डा जनस्तरसम्म पुर्याउन र जनसम्बन्ध विस्तारलाई मजबुत बनाउने गरी पार्टीले निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले निर्वाचन उपयोग गर्ने बहुआयामिक पक्ष भएको कुरामा एकीकृत जनक्रान्तिकै विभिन्न आधारलाई मध्यनजर गर्दै चुनावलाई एउटा संघर्षको रुपमा उपयोग गरेको समेत स्पष्ट पार्नुभयो । पार्टीले चुनाव गएर लिएको परिणाम राम्रो भएको र त्यसले पार्टी वास्तविक धरातलको पहिचान झल्किएको हुँदा अब पार्टी / संगठनलाई थप सुदृढीकरण गर्न समेत बाटो खुलेको उहाँको भनाइ छ । विज्ञान र प्रविधिको युगमा खेल्न नसक्दा पनि निर्वाचनको मत परिणाम फरक आएको भन्दै उहाँले प्रविधिको पनि प्रयोगलाई ध्यान दिन सुझाब दिनुभएको थियो ।
उहाँले केन्द्रीय निर्णयअनुसार अब एक महिनाभित्रसम्म जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्न र त्यो अभियानमा आम मतदाताहरु धन्यवाद ज्ञापन गर्दै राजनीति र संगठन सुदृढीकरणलाई व्यवस्थित बनाउन नेताकार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै पार्टीका सम्मेलन आयोजक समितिका सदस्य शीतल सीले पार्टीले चुनावलाई उपयोग गर्ने भएपछि संघर्षको रुपमा निर्वाचनलाई प्रयोग गरेको बताउनुभयो । उहाँले देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम राम्रो नआएपनि हजारौं हार, आरोह/अवरोहलाई छिचोलेर अगाडि बढ्न सक्ने क्षमता कम्युनिस्ट विचार भएको समेत बताउनुभयो । पार्टीको वैचारिक रुपमा रुपान्तरण समस्या देखिएको हुँदा त्यसका लागि नेताकार्यकर्ताहरु पार्टीको नीति विधि र प्रक्रियाअनुसार नै रुपान्तरण हुनुपर्नेमा उहाँको थियो ।
नेताकार्यकर्ताहरुमा वैचारिक प्रतिवद्द्ता नहुँदा अनेकौं समस्या आउने भन्दै उहाँले वैचारिक रुपान्तरण र सांगठनिक शुद्धीकरण ठोस- ठोस ठाउँमा गर्नुपर्ने बताउनुभयो । बैठकमा पार्टीको प्रस्ताव र निर्णयमा मौनता देखिनु समर्थन भएको भएतापनि कम्युनिस्ट पार्टीमा विचार र विमर्शको बारेमा गम्भीर छलफल हुनुपर्ने उहाँको भनाइ छ । साथै, उहाँले पछिल्लोपटक पार्टी एकताको भ्रम फैलिएको कुरामा जोड दिँदै वैज्ञानिक समाजवादलाई छोडेर पार्टी एकता नहुने बताउनुभयो ।
पार्टीका जिल्ला इञ्चार्ज सविन सीले निर्वाचनका उम्मेदवार र पार्टी योजनाअनुसार खट्ने सबै नेताकार्यकर्ताहरु जिल्ला समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले समाजको यथार्थ र पार्टीबीचको ग्यापले गर्दा चुनावमा सचेजस्तो मत परिणाम नआएको बताउनुभयो । चुनावको परिणामलाई मध्यनजर गर्दै आत्मालोचनासहित समाजको आकांक्षा र आवश्यकअनुसार पार्टीका नेताकार्यकर्ता अगाडि बढ्न सक्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनपछि नेपालमा कम्युनिस्ट आन्दोलन फर्किन्छ कि फर्किदैन् भन्ने चासो र चिन्ता भएको हुँदा कम्युनिस्ट आन्दोलन पुनर्स्थापित हुने र त्यो माओवादी पार्टीले गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका सम्मेलन आयोजक समितिका सदस्यहरु सम्झना सी, विक्रम सी, प्रदीप सी, पाटन सी लगायत जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पार्टीका सेक्रेटरी तिलक सीले बैठकमा पार्टीको नवौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकले लिएको राजनीति प्रस्ताव र सर्कुलर प्रतुत गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
