• १३ बैशाख २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा मेलमिलापसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न




कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा मेलमिलापसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा आज आइतबार  पालिकाभित्र भएका न्यायीक समिति सदस्य र मेलमिलापकर्ताहरुको लागि मेलमिलापसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक भक्तबहादुर जिसीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुनले स्थानीयस्तरको विवाद वडाबाटै निरुपण गर्न मेलमिलाप केन्द्र गठन गर्ने उद्देश्य लिएको बताउनुभयो । उहाँले गाउँपालिकाले जनतालाई  छिटो, छरितो र निष्पक्ष न्यान प्रदान गर्नका लागि वडामा मेलमिलाप केन्द्र अवधारणालाई अगाडि बढाइएको समेत बताउनुभयो । वडामा गठन हुने मेलमिलाप  केन्द्रले वडामा आउने विवादहरु वडाबाटै निरुपण गर्न सकिने र त्यसले जनतालाई सहजता मिल्ने उहाँले भनाइ थियो । मेलमिलापसमन्धीका कामहरु गर्दा कानुन परिधिभित्र रही निष्पक्ष सेवा प्रवाह गर्न न्यायीक समिति र मेलमिलापकर्ताहरुलाई उहाँले आग्रह गर्नुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक भक्तबहादुर जिसीले गाउँपालिकाभित्र आउने विभिन्न मुद्दाहरु मेलमिलापको माध्यमबाट समस्या समाधान गरेको बताउनुभएको थियो । उहाँले जनताका विवादहरुलाई समाधान गर्नका लागि वडामा मेलमिलाप केन्द्र गठन हुने समेत बताउनुभयो । विवादहरुमा मेलमिलाप गर्दा व्यबहारि पाटोलाई मात्र नहेरेर कानुनलाई मध्यनजर गरी काम गर्न मेलमिलापकर्तालाई उहाँले सुझाव दिनुभएको  थियो ।

कार्यक्रममा अधिवक्ता अर्जुन कुमार अधिकारीले न्यायीक समितिले मेलमिलाप गराउने सक्ने विवादहरुको बारेमा जानकारी दिँदै  गाउँघरमा हुने विवाद समाधानको उत्कृष्ट विधि भनेकै मेलमिलाप भएको बताउनुभयो । उहाँले हरेक समाजमा विभिन्न खालका विवाद उत्पन्न हुने भएको हुँदा अबदेखि वडा तहबाटै मेलमिलापकर्ताहरुको माध्यमबाट विवाद समाधान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।  गाउँघरमा हुने थुप्रै प्रकारका विवादहरु वडासम्म आउने र वडाले नै ती विवाद समाधानका लागि वडाबाटै मेलमिलापको माध्यमबाट छिटो र छरितो विवाद निरुपण गर्नुपर्ने उहाँको भनाइ थियो । वडाबाटै मेलमिलापकर्ताबाट समाजमा हुने विवाद र झगडा समाधान गर्न सकियो भने आगामी दिनमा गाउँघरमा हुने विवादहरुमा कमी आउने उहाँले बताउनुभएको थियो ।

उहाँका अनुसार स्थानीय सरकार सञ्चालन ऎन २०७४ अनुसार न्यायीक समितिले विवादका मुद्दाहरु सहजीकरणका लागि वडामा मेलमिलाप केन्द्र खोल्न सक्ने र न्यायीक समितिले गरेको निर्णय सम्बन्धित पक्षलाई चित्त नबुझेको खण्डमा ३५ दिनभित्र जिल्ला अदालतमा पुनरावेदन दिन सक्ने छन् ।

स्थानीयस्तरमा न्याय निरुपणको ऎतिहासिक पृष्ठभूमिको बारेमा जानकारी दिँदै अधिवक्ता  किरण पौडेलले  विवाद नहुने समाज हामीले परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले परापूर्व कालदेखि अहिले २१ औं शताब्दीसम्म पनि  हरेक व्यक्ति, गाउँ, समाज र राष्ट्रिहरुबीचमा विवाद  कायमै रहने बताउनुभयो । स्थानीयस्तरमा कुलो, पानी, जग्गा साँची लगायतका विवाद वर्षौदेखि रहिआएको र  ती विवादहरु निरुपण गर्नका लागि मेलमिलापकर्ताहरुले विभिन्न प्रकारका मेलमिलापका तालिमहरु लिएर सहजीकरण गरिरहेको समेत उहाँले जोड दिनुभयो ।

गाउँघरमा हुने विवादहरु सम्बन्धित वडाबाटै मेलमिलापको माध्यमबाट विवाद समाधान गर्नुपर्ने र त्यसका लागि स्थानीय सरकार सञ्चालन ऎन २०४७ को दफा १ र २ कानुन परिधिभित्र रहेरमात्र मेलमिलापको काम गर्नुपर्ने उहाँको भनाइ थियो ।  यस सिकाइले विवाद समाधानका परम्परागत, औपचारिक तथा अनौपचारिक निकाय पहिचान गर्न, परम्परागत, औपचारिक न्याय प्रणालीका समस्याबारे वर्णन गर्न र विवाद समाधानको अनौपचारिक पद्धतिबारे बताउनु सक्ने क्षमता र ज्ञान प्राप्त हुने उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं. ४ का वडाध्यक्ष डाँसबहादुर डाँगी, वडा नं. ५ का वडाध्यक्ष लिलबहादुर घर्ती,  वडा नं. ७ का वडाध्यक्ष गिरबहादुर थापा, वडा नं. ८ का वडाध्यक्ष झबिन्द्र गाहा मगर, कार्यपालिका सदस्य गणेश विश्वकर्मा, न्यायीक समितिका सदस्य, गाउँपालिकाभित्रका रहेका मेलमिलापकर्ताहरु लगायतको  सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायीक समितिका फोकल पर्सन कल्पना केसीले गर्नुभएको थियो ।

Facebook Comments