• ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौंः मुख्यमन्त्री आचार्य




बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताउनुभएको छ ।

बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न निरन्तर पहल भइरहेको बताउनुभएको हो ।‘यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचिकृत गर्ने र जीतगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ’उहाँले भन्नुभयो,‘आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट निरन्तर प्रयास रहनेछ ।’

उहाँले जीतगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । रुपन्देही जिल्लालाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।‘कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो,’उहाँले भन्नुभयो । उहाँले जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबै नेपालीको दायित्व भएको बताउनुभयो ।

कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा इतिहासविद् देवेन्द्रराज शाक्य ले जीतगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो भने उपप्रमुख सावित्रा अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जीतगढी विजय उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो । उजिरसिंह थापा को नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको थियो । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए । उक्त युद्धमा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले विजय प्राप्त भएमा भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । विजयपछि पाल्पामा मन्दिर निर्माण गरिएको र हालसम्म भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ । चुरे पर्वतको काख र तिनाउ नदीको पश्चिम किनारमा रहेको जीतगढी किल्ला सेनकालीन समयमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धपछि विजयको प्रतीकका रूपमा यसको नाम ‘जीतगढी’ रहन गएको हो ।

Facebook Comments