घोराही । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा नयाँबर्षको दिन नायक पल शाहको प्रस्तुति रहने भएको छ । महोत्सवमा नयाँ बर्षको दिन मंगलवार नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक पल शाहको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङद्वारा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव’ मा मंगलवार नयाँ वर्षको दिन नायक पल शाहको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभयो ।
उहाँले दंगाली दर्शकहरुको माग अनुसार नयाँ बर्षको दिन नायक पल शाहको महोत्सवमा उपस्थिति एवं प्रस्तुति रहने जानकारी दिनुभयो । साथै उहाँले सम्पूर्ण दर्शकहरुमा दंगाली नायक पल शाहसँग रमाउनकालागि सम्पूर्ण दर्शकहरुमा नयाँ वर्षको दिन उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
यस्तै नायक पल शाहले एक भिडियो सन्देशमार्फत सम्पूर्ण दर्शकहरुलाई कार्यक्रममा उपस्थितिकालागि अनुरोध गर्नुभएको छ । उहाँले नयाँ वर्ष २०८३ को सांस्कृतिक कार्यक्रम आफ्नै गृह जिल्लाबाट सुरु गर्न लागेकाले कार्यक्रममा उपस्थित भएर आशीर्वाद दिनुहुन सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ ।
‘नयाँ वर्षको पावन अवसरमा वैशाख १ गते म आफ्नै गृह जिल्ला दाङ आउदै छु, मेरो गृह जिल्लामा तपाईहरुको आशीर्वाद लिन घोराही आउदैछु, सबै जना आउनुहोला रमाईलो गर्नुपर्छ, सँगै नाच्नुपर्छ साथै शुभकामना आदानप्रदान पनि गर्नुपर्छ ।’ नायक शाहले भिडियो मार्फत सम्पूर्ण दर्शकहरुलाई महोत्सवमा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।
महोत्सवमा आईफिल टावर, मौतका कुवा र जलपरी
महोत्सवको आकर्षणको रुपमा विभिन्न स्टलहर रहेका छन् । जसमा पछिल्लो समय आईफिल टावर, मौतका कुवा र जलपरी आकर्षणको रुपमा रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङले जानकारी दिएको छ । लुम्बिनी प्रदेश मै पहिलो पटक महोत्सवमा स्थलमा आईफिल टावर निर्माण गरिएको छ । यस्तै साहशी खेलको रुपमा रहेको मौतका कुवा पनि महोत्सवमा सञ्चालन गरिएको छ । यसैगरि जलपरी पनि दर्शकहरुको आकर्षणको स्टल रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव सीता मल्लले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

