दाङ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रत्येक जिल्लाबाट महिला र पुरुष टिम सहभागी हुनेछन् । प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचर्याले गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताका विजेताले नगद रु. १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले रु. ६५ हजार, तृतीयले रु. ३५ हजार र सान्त्वनाले रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई रु. १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु. ५ हजार नगदसहित पुरस्कार प्रदान गरिनेछ ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले प्रदेशस्तरमा भलिबल खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
गत बर्ष पुरुष तर्फ गुल्मी र महिला तर्फ पाल्पा प्रथम भएका थिए । यसपाली पुरुष र महिलाको प्रतियोगिता एकैसाथ हुन थालेको हो । अघिल्लो बर्ष पुरुषको अर्घाखाँची सन्धिखर्कमा र महिलाको दाङको घोराहीमा भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
