देउखुरी। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
सोमबार गाउँपालिकामा आयोजित सेवा प्रवाह सुधार सम्बन्धी प्रभावकारी व्यवस्थापन तथा सञ्चालन विषयक छलफल कार्यक्रममा अध्यक्ष विष्टले नागरिकको अपेक्षा अनुसार छिटो, सरल र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सेवाग्राहीलाई अनावश्यक झन्झट, ढिलासुस्ती तथा प्रक्रियागत जटिलता नहुने गरी काम गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सेवा प्रवाह सुधारका लागि कर्मचारीबीच समन्वय, अनुशासन र कार्यसम्पादन प्रभावकारी हुनुपर्ने बताउनुभयो। उहाँले प्रत्येक शाखाले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर समयमै सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै सेवाग्राहीको सन्तुष्टि नै स्थानीय तहको सफलता मापनको प्रमुख आधार हुने उल्लेख गर्नुभयो। साथै, सेवा प्रक्रियामा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्दै आवश्यक सुधारका उपाय अवलम्बन गरिने जानकारी दिनुभयो।
छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरी,विभिन्न शाखाका शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो। सो अवसरमा शाखा प्रमुखहरूले आ–आफ्नो शाखाबाट हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराएका थिए।
गाउँपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई अझ सहज, छिटो र नागरिकमैत्री बनाउन नीतिगत तथा व्यवस्थापकीय सुधारका थप कदम चाल्ने जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
