श्रवण कुमार यादव
दाङ। दाङ क्षेत्र नं १ को समग्र विकासका लागि रूपान्तरणको एजेन्डा अघि सार्दै प्रकाश शाही र माननीय सांसद देवराज पाठकबीच भेटवार्ता तथा महत्वपूर्ण छलफल भएको छ।
दाङ क्षेत्र नम्बर १ को समग्र विकासलाई केन्द्रमा राख्दै देशभक्त युवा अभियान तथा धानखोला–लमही चार लेन सडक संघर्ष समितिका संयोजक प्रकाश शाही नेतृत्वको टोलीले प्रतिनिधिसभा सदस्य माननीय सांसद देवराज पाठकसँग महत्वपूर्ण भेटवार्ता गरेको हुन्।
उक्त भेटघाटमा क्षेत्रको दीर्घकालीन विकास, आधारभूत सेवा सुधार तथा जनताले भोगिरहेका विविध समस्याहरूको समाधानका विषयमा गहन छलफल भएको थियो। टोलीले हालका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा लुम्बिनी प्रदेशका सांसदहरूसँग समेत समन्वय गरी यी विषयहरू अघि बढाउन पहल गर्न सांसद पाठकलाई आग्रह गरेको जनाएको छ।
छलफलका क्रममा देउखुरी क्षेत्रलाई लुम्बिनी प्रदेशको राजधानीको रूपमा अझ व्यवस्थित बनाउन चार/छ लेन फराकिलो सडक निर्माणको आवश्यकता औंल्याइएको थियो।
धानखोला – लमही ४ लेन सडक , कालाकाटे – नेपालगन्ज जोड्ने हुलाकी राज्मर्ग निर्माण विषय बारे जोडदार माग गरिएकाे थियाे।
त्यस्तै, दाङ, देउखुरी, प्युठान, अर्घाखाँची, बाँके र रोल्पा लगायतका जिल्लालाई सेवा दिने गरी अत्याधुनिक सार्वजनिक अस्पताल (ट्रमा सेन्टर) स्थापना गर्नुपर्ने विषय पनि जोडदार रूपमा उठाइएको थियो।
त्यसैगरी, सुकुम्बासी तथा भूमिहीन समस्या समाधान, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण, तथा समाजमा देखिएका विकृति न्यूनीकरणका उपायहरूबारे समेत गम्भीर छलफल भएको थियो।
त्यसैगरी दाङका नाका तथा खोला आसपासका क्षेत्रहरूमा अझै पनि विद्युत् र सञ्चार सेवाको पहुँच कमजोर रहेको विषय विशेष रूपमा उठाइएको थियो। ती क्षेत्रका जनताले आधारभूत सेवा नपाउँदा दैनिक जीवन कष्टकर बनेको उल्लेख गर्दै विद्युत् विस्तार, नेटवर्क सुदृढीकरण तथा सञ्चार सेवा प्रभावकारी बनाउनेतर्फ तत्काल पहल गर्न आग्रह गरिएको छ।
खानेपानी, सञ्चार पहुँच, सीमा नाकामा जनताले भोगिरहेका समस्या समाधान, सुशासन प्रवर्द्धन, तथा सार्वजनिक निकायलाई थप चुस्त बनाउने विषय पनि प्राथमिकतामा राखिएको थियो। साथै, सडक, बिजुली, सिँचाइ, पुल लगायत पूर्वाधार विकासलाई आधुनिक र दिगो बनाउँदै कृषि क्षेत्रको व्यवसायीकरण र युवालाई रोजगारीमुखी बनाउने पहलमा जोड दिइएको छ।
शाही लामो समयदेखि सडक विस्तार, पूर्वाधार विकास र जनअधिकारका सवालमा निरन्तर आवाज उठाउँदै आउनभएको छ। विशेषगरी धानखोला-लमही चार लेन सडक संघर्ष समितिका संयोजकसमेत रहनुभएका शाहीले सो सडकखण्डलाई दुई लेनमा मात्र सीमित राख्ने तयारीको कडा विरोध गर्दै आउनुभएको छ। उहाँले यो क्षेत्र लुम्बिनी प्रदेशको राजधानी भएकाले यहाँको सडक ४ देखि ६ लेनको हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रमहरू समेत घोषणा गर्नुभएको थियो। शाही विद्यार्थी राजनीतिदेखि नै सामाजिक न्याय र विकासका मुद्दामा सक्रिय रहँदै आउनुभएको छ।
भेटवार्ता अन्त्यमा सहभागीहरूले दाङ क्षेत्र नम्बर १ को सन्तुलित र दिगो विकासका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा एकमत व्यक्त गरेका थिए। उक्त भेटवार्तामा धानखोला–लमही चार लेन सडक संघर्ष समितिका संयोजक प्रकाश शाही, माननीय सांसद देवराज पाठक, युवा नेता कल्याण अधिकारी, लोकेश जोशी, जगदिश गिरी लगायतको सहभागिता रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
