श्रवण कुमार यादव
देउखुरी। दाङ जिल्लाको राजपुर गाउँपालिकामा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय राजपुर द्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
राजपुर शाखाकी शाखा प्रवन्धक ठकुरी यादवको अध्यक्षता, राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथि तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था दाङ जिल्लाका क्रेडिट अफिसर सोगतबिर चौधरीकाे विशिष्ट अतिथिमा एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम राजपुर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रशिक्षक निर्मल चौधरीले सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गराएका थिए। उनले बचत के हो, बचत किन गर्नुपर्छ, जीवनचक्र (Life Cycle Need) अनुसारको आर्थिक आवश्यकता, बैंक तथा वित्तीय संस्थामा नै किन बचत गर्ने, बचत गर्ने प्रभावकारी तरिकाहरू, ऋण किन लिइन्छ, ऋण लिनुअघि ध्यान दिनुपर्ने कुराहरू तथा समयमा ऋण तिर्न नसक्नुका कारणहरूबारे स्पष्ट जानकारी दिएका थिए। साथै बीमाको महत्वबारे पनि सहभागीहरूलाई स्पष्ट पारेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले आत्मनिर्भर लघुवित्त संस्थाले महिलालाई आत्मनिर्भर, उद्यमशील र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै गाउँपालिकाले पनि शिक्षा, उद्यम र आर्थिक पहुँच विस्तारका लागि छात्रवृत्ति, सहुलियत ऋण तथा विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको बताए। उनले पछाडि परेका वर्गलाई शिक्षामा पहुँच सुनिश्चित गर्न निःशुल्क अध्ययनको व्यवस्था गरिएको जानकारी दिँदै, गाउँपालिकाले सहकार्य र बजेट व्यवस्थापनमार्फत व्यवसाय र रोजगारीमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, सबै पक्षको सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था दाङ जिल्लाका क्रेडिट अफिसर सोगतबिर चौधरीले विगत ५० वर्षदेखि महिलालाई आत्मनिर्भर, स्वावलम्बी र उद्यमशील बनाउने उद्देश्यले लघुवित्त अभियान अघि बढाइएको उल्लेख गर्दै समूह निर्माणमार्फत गाउँ–गाउँमा महिला सशक्तीकरणको आधार तयार गरिएको बताए। उनले पहिले महिलाहरू सानो रकमका लागि समेत समस्या भोग्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले लघुवित्तको पहुँचले उनीहरूलाई आफ्नै खुट्टामा उभिन, व्यवसाय गर्न र परिवारको आर्थिक अवस्था सुधार गर्न सक्षम बनाएको धारणा व्यक्त गरे। साथै, सहुलियतपूर्ण ब्याजदर, सरल प्रक्रियाबाट ऋण प्रवाह र वित्तीय सचेतनाले महिलाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै ऋणलाई सही ढंगले सदुपयोग गर्न आग्रह गरे।
वित्तीय साक्षरता कार्यक्रममा राजपुर शाखाकी प्रबन्धक ठकुरी यादवले शाखाको वर्तमान अवस्था र उपलब्धिबारे जानकारी गराएकी छन्। उनका अनुसार शाखाअन्तर्गत हाल १७ वटा केन्द्रमा करिब १,१०० भन्दा बढी सदस्य आबद्ध रहेका छन्। तीमध्ये करिब ३०० भन्दा बढी सदस्यहरूले ऋण लिएर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन्।
उनले शाखामा सदस्यहरूको कुल बचत करिब १.५ करोड रुपैयाँ पुगेको र लगानी (ऋण प्रवाह) करिब ४ देखि ५ करोड रुपैयाँसम्म रहेको जानकारी दिँदै यसले संस्थाप्रतिको विश्वास र सदस्यहरूको सक्रिय सहभागिता झल्काएको बताइन्। कार्यक्रममा बोल्दै प्रबन्धक यादवले पैसा जीवनको अपरिहार्य आधार भएको उल्लेख गर्दै जन्मदेखि मृत्युसम्म प्रत्येक चरणमा आर्थिक स्रोतको आवश्यकता पर्ने बताइन्।
साथै, अझै पनि धेरै महिलाहरूको नाममा सम्पत्ति कम रहेको अवस्थाले आर्थिक पहुँचमा चुनौती सिर्जना गरेको भन्दै महिलाहरू आर्थिक रूपमा सबल बन्न आवश्यक रहेको धारणा व्यक्त गरिन्। उनले वित्तीय साक्षरताको महत्व औंल्याउँदै पैसा कमाउने, बचत गर्ने र सही ठाउँमा लगानी गर्ने ज्ञानले मात्र जीवनस्तर सुधार गर्न सकिने बताइन्। सानो–सानो बचतले ठूलो रकममा रूपान्तरण हुने उदाहरण राजपुर शाखामै देखिएको उनको भनाइ थियो।
कार्यक्रममा उत्कृष्ट केन्द्र, उत्कृष्ट उद्यमी सदस्य, उत्कृष्ट बचकर्ता सदस्य, अनुशासन उत्कृष्ट देखिएको र सक्रिय सहभागिता जनाएका सदस्यहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो। त्यस्तै, विद्यार्थीहरूलाई शिक्षामा पहुँच बढाउने उद्देश्यले छात्रवृत्ति र सहभागी सदस्यहरूलाई सेनिटरी प्याड वितरण गरी महिला स्वास्थ्य तथा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको जानकारी आयोजकले दिएको छ।
वित्तीय संस्थाकी सारला चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन सो संस्थाका कालिदास चौधरी गरेका थिए भने निर्मल चौधरी, नेप चौधरी, प्रतिनिधि, सदस्य एवं सफल व्यवसायीहरु लगायतको उपस्थिती रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
