नेपाली कम्युनिष्ट आन्दोलनको लामो संघर्ष, बलिदान र विचारधारात्मक यात्रामा एउटा नाम विशेष सम्मानका साथ उच्चारण गरिन्छ—भीमकुमारी बुढा मगर। प्रतिनिधिसभा निर्वाचन २०८२ मा समानुपातिक प्रणालीबाट निर्वाचित भई प्रमाणपत्र ग्रहण गरेसँगै उहाँ पाँच वर्षका लागि संघीय संसदको सदस्य बन्नुभएको छ। यो उपलब्धि केवल एउटा राजनीतिक पद प्राप्ति मात्र होइन, दशकौँ लामो संघर्ष, त्याग, पीडा र समर्पणको ऐतिहासिक मान्यता हो।

वि.सं. २०३२ साल कार्तिक १५ गते रोल्पाको कोर्चाबाङ, लाप्चुन, जेप्पाङमा जन्मिनुभएकी भीमकुमारीको बाल्यकाल सामान्य थिएन। चार वर्षकै उमेरमा आमाको निधनले जीवनको प्रारम्भिक चरणमै उहाँलाई पीडासँग जुध्न बाध्य बनायो। बुवा नन्दबहादुर बाँठा र ठूलोबुवा शेरबहादुर बाँठाबीचको पारिवारिक विछोडले झनै कठिन अवस्था सिर्जना गरेको थियो। तर आमाको निधनपछि ठूलोबुवा शेरबहादुरले पुनः परिवारलाई जोड्दै अभिभावकत्व ग्रहण गर्नुभयो। उहाँ प्रधान पञ्चसमेत रहनुभएका सचेत र राजनीतिक अगुवा हुनुहुन्थ्यो, जसले आफ्ना सन्तानसँगै भतिजी भीमकुमारीलाई पनि शिक्षा दिलाउने दायित्व निर्वाह गर्नुभयो।
ठूली आमा र फुपुको माया–ममता तथा दाजुभाइहरूको साथले उहाँको बाल्यकाल अघि बढ्यो। दाइहरूले बोकेर विद्यालय पुर्याउने दृश्यले उहाँको संघर्षपूर्ण बाल्यकालको गहिरो अनुभूति दिन्छ। सिद्धकैलाश निमावि मिसीडाँडाबाट कक्षा ७ उत्तीर्ण गरेपछि २०४४ सालमा अरनिको मावि नुवागाउँमा कक्षा ८ मा भर्ना हुनुभयो। २०५१ सालमा एसएलसी परीक्षा दिनुभयो, तर उत्तीर्ण हुन सक्नुभएन। त्यसपछि २०५२ सालदेखि सुरु भएको जनयुद्धमा सहभागी भएपछि पढाइ अवरुद्ध भयो, जुन शान्ति प्रक्रिया सुरु भएपछि मात्रै पूरा गर्न सक्नुभयो।
सानैदेखि विद्रोही बुढाको मनभित्र विद्रोहको ज्वाला दन्कदै गए पनि त्यसलाई पोख्ने मञ्च थिएन, किनकि पञ्चायतकालीन कालरात्रीमा जनताको अधिकारको कुरा खुलेआम गर्न पाइँदैनथ्यो। २०४६ सालमा बहुदल आएपछि भने भीमकुमारीका लागि विद्रोहका दिनहरू सुरु हुन थाले। त्यतिबेला अरनिको मावि नुवागाउँमा तत्कालीन नेकपा मशाल (पछि एकताकेन्द्र हुँदै माओवादी) संगठन विस्तारका लागि आइपुग्यो। टेकबहादुर बुढा, रेनुका बुढा, पूर्ण घर्ती लगायतका जनकलाकारले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमबाट उहाँ प्रभावित मात्र हुनुभएन, लामो समयदेखि मनभित्रै हुर्कँदै आएको महिलामुक्तिको चाहना र त्यसविरुद्ध विद्रोहको ज्वाला ओकेल्ने अवसरका रूपमा लिन थाल्नुभयो। त्यतिबेला गाइएका ‘फोक्ल्याण्डको टापुबाट, हाम्री चेली विरानो गाउँमा…’ जस्ता गीतहरूले भीमकुमारीको मनभित्र सल्कँदै गएको विद्रोहको ज्वालामा थप ऊर्जा दिने काम गरे।
‘कम्युनिष्टले छोरीलाई छोरासरह समानता दिन्छन्, पढ्नलेख्न दिन्छन्, अंश दिन्छन्…’ जस्ता नेताहरूका भाषणले भीमकुमारीभित्रको जागरणको ज्वाला विस्फोट मात्र गराएन, २०४७ सालको सुरुवातमै राजनीतिक आन्दोलनमा जोडिन प्रेरित गर्यो। ‘सुरुमा महिला नेता कमला श्रेष्ठको भाषणले प्रभावित गर्यो,’ उहाँ राजनीतिक आरम्भका दिनहरू यसरी सम्झनुहुन्छ, ‘त्यसको केही महिनामै भदौ–असोजतिर त म आफैँ पनि भाषण गर्न सक्ने भइसकेकी थिएँ।’
उहाँ सुरुमै महिला संगठनको जिल्ला सम्मेलन तयारी समिति सदस्य बन्नुभयो। सुनकुमारी पुन र उहाँले रोल्पामा पहिलोपटक महिला संगठन बनाउनुभयो। २०४८ मा भएको पहिलो जिल्ला सम्मेलनबाट मनखना घर्ती अध्यक्ष, सुनकुमारी सचिव र उहाँ सदस्यमा निर्वाचित हुनुभयो। सोही वर्ष आम निर्वाचन भयो, रोल्पाबाट कृष्णबहादुर महरा र वर्मन बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उहाँ निर्वाचनमा सांस्कृतिक टिममा रहेर जिल्लाभरि घुम्नुभयो।
संगठन बनाउने, नाच्ने–गाउने र मत माग्ने सबै काम गर्नुभयो। त्यो चुनाव देशका अन्य भागमा चुनाव मात्रै भए पनि रोल्पामा भने वर्गसंघर्षको सुरुवात थियो। चुनावकै क्रममा कांग्रेस कार्यकर्ताहरूसँग ठाउँठाउँमा भिडन्त भयो। त्यस्ता भिडन्तमा भीमकुमारी अग्रपंक्तिमै रहेर लड्नुभयो। सोही क्रममा उहाँ झडपमा परेर घाइते हुनुभयो र टाउकोमा गम्भीर चोटसमेत लाग्यो।
चुनावसँगै सुरु भएको त्यो संघर्ष रोल्पामा ग्रामीण वर्गसंघर्षको प्रारम्भ थियो। कांग्रेस कार्यकर्ताहरूले गैरीगाउँ, भावाङ, दार्बोट, हयाङ लगायतका गाउँमा गएर कम्युनिष्ट समर्थकका घरमा लुटपाट मच्चाउने, उनीहरुकै कुखुरा काटेर रगतमा हात चोपेर कम्युनिष्ट छाड्न लगाउने जस्ता उदण्डता प्रदर्शन गर्न थाले। त्यो बेला कम्युनिष्ट समर्थक पुरुषहरू भूमिगत भएर जंगलमा बस्ने र महिलाहरूले उनीहरूलाई खानपिनको बन्दोबस्त गर्थे। भीमकुमारीहरूले पनि त्यसकै अगुवाइ गर्नुभयो। त्यतिबेला नेकपा मशालको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपाल सक्रिय थियो। सो पार्टीका समर्थकलाई कांग्रेसले भेटेपछि खोलामा चोबली–चोबली कुट्ने गरेका थिए।
२०५१ सालमा मध्यावधि निर्वाचन भयो। त्यतिबेला नेकपा मशाल एकताकेन्द्र हुँदै नेकपा माओवादी बनाएर जनयुद्धमा जाने तयारीमा थियो। पार्टीले चुनाव बहिष्कार गर्ने नीति लियो। सो क्रममा ठाउँठाउँमा पुनः झडप हुन थाल्यो। कोर्चावाङ लगायतका स्थानमा भएका झडपमा भीमकुमारी अग्रपंक्तिमा रहेर लड्नुभयो। एक्लै चुनाव बहिष्कार गरौँ भनेर भित्ते लेखन गरिरहँदा कांग्रेस कार्यकर्ताको कुटाइमा पर्नुभयो। चुनाव बहिष्कारको क्रममा जिनावाङमा भएको बुथ कब्जाको मुद्दा लागेपछि उहाँ २०५१ सालदेखि नै पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत हुनुभयो। २०५२ मा महिला संगठनको जिल्ला सचिव चुनिनुभयो भने पार्टीको प्रस्तावित एरिया समिति सदस्य बनिसक्नुभएको थियो। त्यतिबेला जनयुद्धको तयारीस्वरूप पार्टीले रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पहाडको नामबाट ‘सिज मितेर अभियान’ सञ्चालन गर्यो। रोल्पाका कार्यकर्ता रुकुम र रुकुमका कार्यकर्ता रोल्पा जाने सन्दर्भमा उहाँ अभियानका क्रममा रुकुम जानुभयो।
२०५२ भदौदेखि चलेको अभियानका क्रममा उहाँ दुई महिना रुकुममा रहनुभयो। सोही क्रममा रुकुमको गरायलामा कांग्रेस कार्यकर्ताहरूले भीमकुमारीसहित चार जनालाई नियन्त्रणमा लिएर एउटा घरमा थुने, तर स्थानीय महिलाको प्रतिरोधमा उहाँहरू त्यहाँबाट उम्कनुभयो। रुकुमबाट फर्केपछि रोल्पाको पाछाबाङमा असोजमा भएको जनयुद्धको तयारी प्रशिक्षणमा भाग लिनुभयो, जहाँ पार्टीका महामन्त्री प्रचण्ड सहभागी हुनुहुन्थ्यो। त्यति नै बेला सरकारले तत्कालीन संयुक्त जनमोर्चाविरुद्ध ‘रोमियो अप्रेसन’ चलाइरहेको थियो। यता माओवादी पार्टीले भने युद्धको तयारीस्वरूप लडाकु दल, सुरक्षा दल र स्वयंसेवक दल बनाइसकेको थियो। भीमकुमारी सुरक्षा दलमा हुनुहुन्थ्यो। पाछाबाङको प्रशिक्षणबाट फर्कने क्रममा महिलाहरूले बन्दुक पड्काएर प्रचण्डलाई विदाइ गरेका थिए, सम्भवतः संगठित रूपमा महिलाहरूले बन्दुक पड्काएको यो नेपालकै इतिहासमा पहिलो घटना थियो।
सोही वर्ष कार्तिकमा सयौँ जनताको बीचमा मिसिङडाँडा स्कुलको प्रांगणमा रोल्पा बडाचौरकै विद्यार्थी नेता श्यामकुमार बुढासँग भीमकुमारी बुढाको जनवादी विवाह भयो। श्यामकुमार ग्रामीण वर्गसंघर्षका कारण २०४८ सालमै भूमिगत भइसक्नुभएको थियो। जनताको बीचमा भएको यो पहिलो जनवादी विवाह थियो। विवाहलगत्तै उहाँ जनगीत अभियानका क्रममा श्रीमानको घर रहेको पूर्वी रोल्पातिर जानुभयो। कार्तिकमा विवाह भए पनि उहाँ माघ २५ गते मात्र श्रीमानको घर पुग्नुभयो।
उहाँहरू घर पुग्दा ससुराबुवा सुकलाल बुढा फागुन १ गतेदेखि सुरु हुने जनयुद्धका लागि ठूलो परिमाणमा मकै र भटमास भुटिरहनुभएको थियो। सुकलालले बुहारी भीमकुमारीका लागि खुकुरी पनि बनाइदिनुभएको रहेछ। माघ २७ गते घरमा ताला लगाएर यो परिवार नै जनयुद्धमा होमियो। श्रीमान श्यामकुमार बुढा ‘चिन्तन’ उपनामले भूमिगत हुनुभयो भने भीमकुमारी ‘निशाना’ उपनामले। ससुराबुवाको उपनाम ‘गोञ्जालो’ राखियो। श्रीमान श्यामकुमार होलेरी प्रहरी चौकी आक्रमणमा जानुभयो, जुन जनयुद्ध थालनीको पहिलो आक्रमण थियो। श्रीमती भीमकुमारी अर्को गाउँमा भूमिगत बसेर रातको समयमा डाँडामा पुगेर बन्दुक पड्काउनुभयो, जुन उहाँको जीवनकै पहिलो फायर पनि थियो।
जनयुद्ध सुरु भएपछि सरकारले रोल्पा–रुकुम केन्द्रित कडा दमन सुरु गर्यो। जसको सामना गर्न यौद्धाहरू पनि कडा भूमिगत जीवन बिताउन बाध्य भए। २०५४ सालमा सरकारले ‘किलो सेरा टु’ अभियान चलाएको बेला पार्टीले प्रतिरोधमा सशस्त्र कब्जा (सक) अभियान सञ्चालन गरिरहेको थियो। पार्टीनिकट महिला संगठनको जिल्ला उपाध्यक्ष र पार्टीको वरिष्ठ एसीएमको जिम्मेवारीमा रहँदा उहाँले संगठक, कलाकार र लडाकु—तीनवटै भूमिका निर्वाह गर्नुपर्थ्यो।
२०५३ सालमा लुङ प्रहरी चौकी आक्रमणको तयारीका क्रममा उहाँको पेटमा बच्चा हुर्कँदै थियो, तर दाउरा काट्न जाँदा लडेर बच्चा खेर गयो। त्यसपछि जनध्वनि अभियानका क्रममा आठ महिनामै जन्मिएको बच्चा पनि बच्न सकेन। यो घटना उहाँको जीवनका लागि मात्र होइन, आजको पुस्ताले सुन्दा पनि अत्यन्त मार्मिक र पीडादायी छ।
रोल्पाको नम्जामा सांस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरी आएको खबर आएपछि सबै भाग्नुपर्ने भयो। बन्दुक र झोलासहित एक्लै भाग्दै गर्दा उहाँलाई सुत्केरी व्यथा लागिसकेको थियो। ती डरलाग्दा दिन उहाँ यसरी सम्झनुहुन्छ— ‘व्यथाले च्याप्दै थियो, कोही पनि साथी थिएनन्, साथी थियो त केवल बन्दुक र झोला मात्रै। प्रहरी आयो भनेर भागेँ। त्यहाँ पनि प्रहरी आयो भनेपछि फेरि बन्दुक लिएर भागेँ। व्यथा लागेको दुई दिन भइसकेको थियो, तर बच्चा जन्मेन। अब यति पीडा बढिरहेको थियो कि प्रहरी आए पनि अब गिरफ्तारी दिँदैन, बरु फायर खोल्छु भन्ने सोच आयो। तर केही सञ्चो भएपछि फेरि हिँडेँ। लिस्नेको मुनि एउटा गोठमा बास बस्न पुगेँ। त्यहाँ पनि प्रहरीले निगरानी गरिरहेको थाहा पाएपछि जंगल निस्केँ। बिहान पुनः त्यही गोठमा फर्केँ र नानीको जन्म भयो। सुत्केरी हुने समय बाँकी नै भएकाले आवश्यक सामग्री तेबाङमै छाडेको थिएँ। म सुत्केरी भएको खबर पाएपछि चिन्तन (श्रीमान) पनि आउनुभयो, तर जंगलबीच जन्मिएको बच्चालाई न्यायो दिन नसक्दा चार दिनभन्दा बढी बचाउन सकिएन।’
यो घटनाले उहाँलाई आजसम्म पनि झस्काइरहन्छ।

उहाँको राजनीतिक यात्रा निरन्तर अगाडि बढिरह्यो। २०५६ सालमा इप्रका घर्तीगाउँ आक्रमणलगायतका कारबाहीमा उहाँले व्यवस्थापन कमाण्डरको भूमिका निर्वाह गर्नुभयो। २०५५ सालमा नुवागाउँ गाविसको इञ्चार्ज बन्नुभयो भने २०५७ मा एरिया सेक्रेटरी भएर प्युठान सरुवा हुनुभयो। २०५८ मा एरिया इञ्चार्जका रूपमा सन्धिखर्क आक्रमण र लिस्नेगाम कारबाहीमा व्यवस्थापन प्रमुखको भूमिका निर्वाह गर्नुभयो। श्रीमान पनि प्युठानमा पार्टी नेतृत्वमा सक्रिय रहनुभएको थियो।
२०६० मा छोरा जन्मेपछि उहाँ छोरासहित रोल्पा फर्केर एरिया इञ्चार्जकै जिम्मेवारी सम्हाल्नुभयो। एकातिर पार्टी जिम्मेवारी, अर्कोतिर छोराको पालनपोषण—दुवै दायित्व उहाँले सँगसँगै निर्वाह गर्नुभयो। गाम विवाङ, बाँगेताल लगायतका ठूला सैन्य शिविरको व्यवस्थापन गर्ने जिम्मा पनि उहाँकै काँधमा थियो।
२०६२ सालमा पाथीभरा अप्रेसनका क्रममा दुई वर्षको छोरासहित भीरबाट हाम फालेर ज्यान जोगाउनु उहाँको जीवनको अर्को अविस्मरणीय घटना हो। छोरा माथि ढिकमै अड्कियो भने उहाँ तल पुग्नुभयो। पछि पुनः माथि उक्लिएर छोरालाई बचाउन सफल हुनुभयो। त्यसपछि छोरालाई जनताको घरमा छाडेर उहाँ जनआन्दोलनमा होमिनुभयो। एक वर्षपछि आन्दोलन सफल भएपछि मात्रै उहाँले छोरालाई पुनः साथमा लिनुभयो।
शान्ति प्रक्रियासँगै उहाँले रोल्पाको जिम्मेवारी छाडेर दाङ झर्नुभयो र २०६४ सालदेखि निरन्तर पार्टी आन्दोलनमा सक्रिय रहनुभएको छ।

केसी सिस्ने अनलाइनका सम्पादक हुनुहुन्छ ।
