• ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा आजदेखि लुम्बिनी प्रदेशस्तरीय महोत्सव सुरु




घोराही । घोराहीमा आजदेखि लुम्बिनी प्रदेशस्तरीय महोत्सव सुरु हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ देखि चैत १५ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ।

स्थानीय घरेलु तथा साना उद्योग तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। महोत्सव स्थलको भौतिक संरचना निर्माण, प्रचारप्रसार, उद्घाटन ¥यालीको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभयो।

महोत्सवमा आईफिल टावर, युरोपियन स्ट्रिट, लण्डन ब्रिज, बाल उद्यान, जलपरी र सिंहदरबार लगायतका आकर्षक संरचनाहरु राखिएको उहाँले बताउनुभयो। साथै उहाँले महोत्सवको उद्घाटन समारोह तथा महोत्सव अवधिभर उपस्थितिका लागि सबैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको छ। उद्घाटनअघि झाँकीसहितको ¥याली आयोजना गरिनेछ। घोराहीको लखन पार्कबाट सुरु हुने ¥यालीले बजार परिक्रमा गर्दै महोत्सव स्थलमा पुग्नेछ।

महोत्सवमा चर्चित कलाकारको प्रस्तुति

Oplus_16908288

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा बद्रि पंगेनी, राजु परियार, ज्योति मगर, दुर्गेश थापा, कमल गाउँले, एलिना चौहान, टंक तिमल्सिना, शान्ति श्री परियार, अर्जुन सापकोटा, प्रीती आले, चक्र बम, रचना रिमाल, प्रताप दास, शान्ता रानी परियार, भूमिका गिरी, जी–बब, टीका सानु, सञ्जना श्रेष्ठ, प्रीती पासवान, अञ्जु कुश्मी, राज कुश्मी, सोनी कुश्मी, श्याम राना, कमल बी.सी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।

बाल तथा युवाका लागि विभिन्न प्रतियोगिता

स्थानीय कला र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवमा विभिन्न प्रतियोगिताहरू पनि सञ्चालन गरिनेछन्। महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता आयोजना हुने प्रमुख कार्यक्रम संयोजक सरद अधिकारीले जानकारी दिनुभयो।
चैत ७ गते कविता प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुन चाहनेले चैत ४ गतेसम्म आफ्नो कविता महोत्सव सचिवालयमा बुझाउनुपर्ने प्रतियोगिता संयोजक डा. लोकराज पराजुलीले जानकारी दिनुभयो।
यसैगरी ‘स्वदेशी उत्पादन र राष्ट्र निर्माण’ विषयमा चैत १० गते बाल चित्रकला प्रतियोगिता आयोजना गरिनेछ। कक्षा ८ सम्मका बालबालिकाबीच हुने उक्त प्रतियोगिताका लागि फागुन ३० गतेसम्म नाम दर्ता गराउनुपर्ने र प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी मात्र सहभागी हुन पाउने प्रतियोगिता संयोजक आदिम के.सी.ले बताउनुभयो।

त्यसैगरी ‘स्वदेशी उत्पादनको प्रयोग देश समृद्धिको अवसर’ विषयक वक्तृत्वकला प्रतियोगिता चैत ३ गते आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुन फागुन ३० गतेसम्म नाम दर्ता गराउनुपर्नेछ र प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी मात्र सहभागी हुन पाउनेछन्।

यस्तै ‘स्थानीय उत्पादनको प्रयोग राष्ट्र समृद्धिको आधार’ शीर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिनेछ। चैत १० गते हुने उक्त प्रतियोगितामा सहभागी हुन चैत ५ गतेसम्म नाम दर्ता गर्नुपर्ने कार्यक्रम संयोजक बिनोद के.सी.ले जानकारी दिनुभयो। प्रतियोगितामा २५ वर्षमुनिका युवाहरू सहभागी हुन पाउनेछन्।
सम्पूर्ण प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले प्रमाणपत्रसहित क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

टिकटक जोन विशेष आकर्षण

महोत्सवमा विशेष आकर्षणका रूपमा ‘परम्परा र पहिचान टिकटक जोन’ निर्माण गरिएको छ। उक्त जोनमा पुर्खाहरूले प्रयोग गर्ने ढिकी, जाँतो, परम्परागत कृषि औजार तथा घरेलु उद्योगका साधनहरू प्रदर्शन गरिनेछ। यसले पुरानो जीवनशैली, श्रमसंस्कृति र मौलिक पहिचानलाई झल्काउने आयोजकले जनाएको छ। दर्शकहरूले टिकटक तथा फोटो खिच्न मिल्ने गरी परम्परागत शैलीमा विशेष स्थान तयार गरिएको छ।

हरेक दिन विषयगत कार्यक्रम

महोत्सव अवधिभर हरेक दिन विषयगत कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। जसअन्तर्गत रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, कृषि तथा पशुपालन विशेष, स्थानीय कला–संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यमशीलता तथा सूचना प्रविधि विशेष तथा शान्ति र सामाजिक सद्भाव विशेष कार्यक्रम सञ्चालन हुनेछन्।

Facebook Comments