घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ निर्वाचन क्षेत्र नं. २ का समानुपातिक उम्मेदवारी अशोका कुमारी भण्डारीले घरदैलो अभियानलाई तीब्र बनाउनु भएको छ । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनाव प्रचारप्रसार अभियान अन्तर्गत मतदाताहरुसँगको भेटघाटलाई तीब्रता दिँदै आइरहनुभएको छ । अभियानकै क्रममा उहाँले बुधबार घोराही उपमहानगरपालिका -१८ ढोडेनी आसपासका मतदाताहरुसँग भेट गर्नुभएको हो ।
अभियानको क्रममा ढोडेनीका मतदाताहरुसँग भेट गर्दै उम्मेदवार भण्डारीले जनताका आधारभूत अधिकार र न्यायको पक्षमा सधै आवाज उठाउने प्रतिवद्धता जनाउनुभएको छ । पार्टीले विगतदेखि नै भ्रष्टाचार विरुद्ध, राष्ट्रिय स्वाधीनता र जनजीवनको पक्ष आवाज उठाउँदै आएको हुँदा अब सदनबाटै जनताको पक्षमा काम गर्न र आवाज उठाउनका लागि यसपटक माओवादीका उम्मेदवारहरुलाई मतदान गरी विजय बनाउन समेत उहाँले मतदाता समक्ष अग्राह गर्नुभएको छ ।
भेटघाटकै क्रममा मतदाताहरुले माओवादीकै कारणले देशमा जातीय छुवाछूत र भेदभावको अन्त्य भएको भन्दै निर्वाचनमा माओवादीका उम्मेदवारलाई नै मतदान गर्ने बताएका थिए ।
पार्टी पहिलोपटक निर्वाचनमा होमिएसँगै माओवादीका उम्मेदवारहरु घरदैलो अभियानमा जनता समक्ष पुग्दा मतदाताहरुमा उत्साह थपिँदै गएको छ । सधै निर्वाचन बहिष्कार गर्ने पार्टी अहिले निर्वाचनमा भाग लिएर उम्मेदवारहरुले घरदैलो अभियान सञ्चालन गरेसँगै मतदाताहरु उत्साहित देखिने गरेका छन् ।
क्षेत्र नं.२ का मूल निर्वाचन समितिका संयोजक पार्टी सीको नेतृत्वमा फागुन ४ गतेदेखि सञ्चालन भइरहेको चुनाव प्रचारप्रसार अभियान फागुन १८ गतेसम्म सञ्चालन हुने भएको छ । भोलि घोराही -४ का मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
